+
+
Shares

भारतमा नेपाली छात्रा मृत्यु प्रकरण : होस्टल फर्किन नेपाली विद्यार्थीले राखे ८ बुँदे शर्त

घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दा भारतीय पक्षबाट कुटपिट र दुर्व्यवहार भोग्नु परेकाले पुनः होस्टल फर्किएर पढाइ जारी राख्नका लागि विद्यार्थीले आठ बुँदे शर्तहरु अघि सारेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ६ गते ९:५९
घटनाबारे गम्भीरतापूर्वक छानबिनको माग गर्दै प्रदर्शनरत् विद्यार्थी । इन्सेटमा मृतक प्रकृति लम्साल ।

६ फागुन, काठमाडौं । भारतको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत बुटवल स्थायी घर भएकी छात्रा प्रकृति लम्सालको मृत्यु भएपछि नेपाली विद्यार्थीले भारतीय पक्षबाट असुरक्षित महसुस भएको बताएका छन् ।

घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दा भारतीय पक्षबाट कुटपिट र दुर्व्यवहार भोग्नु परेकाले उनीहरुले पुनः होस्टल फर्किएर पढाइ जारी राख्नका लागि आठ बुँदे शर्तहरु अघि सारेका छन् । ती यस प्रकार छन् –

१. न्याय सुनिश्चित गरिनुपर्छ । घटनामा संलग्न दोषीहरूलाई कानुनअनुसार कारबाही गरिनुपर्छ ।

२. प्रहरी अनुसन्धान गरिनुपर्छ । होस्टल वार्डेन र विश्वविद्यालयका अधिकारीहरूले प्रहरी आउनुअघि नै पीडितको शव आफ्नो नियन्त्रणमा लिई उचित प्रक्रिया उल्लंघन गरेकाले उनीहरूमाथि अनुसन्धान हुनुपर्छ ।

३. पीडितको गुनासो बेवास्ता गर्नेहरूमाथि कारबाही हुनुपर्छ । अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयमा पीडितले पटक–पटक पेश गरेका कागजातहरूको विस्तृत अनुसन्धान हुनुपर्छ । ती गुनासोहरू बेवास्ता गर्ने वा नजरअन्दाज गर्ने व्यक्तिहरूलाई जिम्मेवार ठहराई जागिरबाट हटाइनुपर्छ ।

४. नेपालको राष्ट्रिय छविमा हमला गर्ने शिक्षकहरूलाई निलम्बन गर्नुपर्छ । छात्रावासभित्र केही महिला शिक्षकहरूले नेपालको राष्ट्रिय बजेटलाई कलेजको खर्चसँग तुलना गर्दै उपहास गरेको व्यवहार पूर्णरूपमा अस्वीकार्य छ । यस्तो गैरजिम्मेवार रवैया देखाउने व्यक्ति कुनै शैक्षिक संस्थामा कार्यरत रहन नपाउने व्यवस्था गर्नुपर्छ ।

५. विद्यार्थीहरूमाथि आक्रमणको आदेश दिने उच्च अधिकारीले सार्वजनिक रूपमा माफी माग्नुपर्छ । साथै, उनीहरूले आफ्नो जिम्मेवारी स्वीकार्नुपर्छ र कानुनी कारबाहीको सामना गर्नुपर्छ ।

६. सीसीटीभी फुटेज सार्वजनिक गरिनुपर्छ । फेब्रुअरी १७ तारिख बिहान ८ बजेपछि भएको घटनाको सीसीटीभी फुटेज प्रहरीले प्राप्त गर्नुपर्नेछ । फुटेजमा विद्यार्थीहरूलाई आक्रमण गरिरहेका देखिएका व्यक्तिहरूलाई कानुनअनुसार कारबाही गरिनुका साथै तिनलाई तत्काल जागिरबाट हटाइनुपर्छ ।

७. विद्यार्थीहरूको यातायात खर्च क्षतिपूर्ति गरिनुपर्छ । होस्टलबाट विद्यार्थीहरूलाई अज्ञात स्थानमा लगेर छोडिएको हुँदा उनीहरूले घर फर्किनका लागि गरेको खर्च कलेजले बेहोर्नुपर्छ ।

८. कलेज प्रशासनले आफ्नो गल्ती स्वीकार गर्नुपर्छ । साथै, कलेजले जारी गरेको प्रेस विज्ञप्ति (विद्यार्थीहरू स्वेच्छाले होस्टल छोडेको दाबी गरिएको) झूटो भएको स्वीकार गर्दै वास्तविकता (विद्यार्थीहरूलाई जबरजस्ती कुटपिट गर्दै बाहिर निकालिएको)लाई सार्वजनिक रूपमा स्वीकार गर्नुपर्छ ।

नेपाली छात्रा प्रकृति लम्सालको मृत्युपछि विरोध प्रदर्शन गरेका नेपाली विद्यार्थीहरुलाई छानीछानी आक्रमण गरिएको उनीहरुको गुनासो छ । आज बिहान पनि होस्टेलमा बसिरहेका केही नेपाली विद्यार्थीहरुलाई बाउन्सर जस्ता देखिने भारतीय व्यक्तिहरुले कुटपिट गरेको उनीहरुले बताएका छन् ।

एक नेपाली विद्यार्थीले भनेका छन्, ‘आज बिहान करिब ८ बजे १०–१२ जना गुण्डा जस्तो देखिने बाउन्सरहरू केपी ८ ए, केपी ८ बी/सी र केपी २६ मा रहेका नेपाली विद्यार्थीहरूको कोठामा जबरजस्ती प्रवेश गरे । उनीहरूले नेपाली हो ? भनेर सोधे र नेपाली भएको पुष्टि भएपछि निर्ममतापूर्वक कुटपिट गरे ।’

‘ती आक्रमणकारीले नेपाली विद्यार्थीहरूलाई दुई–तीन मिनेटमै सामान प्याक गर्न आदेश दिंदै ढिलाइ गरे थप आक्रमण गर्ने धम्की दिए’ उनले भने, ‘फोनमा कुरा गरिरहेका विद्यार्थीहरूको मोबाइल खोसेर इन्स्टाग्राम, ह्वाट्सएपका फोटो तथा म्यासेजहरू चेक गरे । जसले फोन दिन अस्वीकार गरे, उनीहरूलाई कुटपिट गरे ।’

लम्सालको मृत्यु भएको विषय सार्वजनिक भएलगत्तै गम्भीर छानबिन माग गर्दै विद्यार्थीहरुले विरोध प्रदर्शन थालेका थिए । त्यसपछि नेपाली विद्यार्थीहरु दुर्व्यवहार र आक्रमणको निशानामा परेका हुन् ।

यसअघि सेक्युरिटी गार्ड जस्ता देखिने केही व्यक्तिहरुले एकजना विद्यार्थीलाई कुटपिट गरेको भिडियो समेत सार्वजनिक भएको थियो ।

यी घटनाका प्रमाणहरू सुरक्षित राख्न र सत्य उजागर गर्न नेपाली विद्यार्थीहरुले १७ फेब्रुअरी २०२५ को बिहान ७ बजेदेखि १२ बजेसम्मको अवधिका केपी ८ ए, केपी ८ ब्लक सी र बी तथा केपी २६को सीसीटीभी फुटेज हेर्न दिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरुलाई अनुरोध समेत गरेका छन् ।

भारतीय पक्षले आक्रमण गर्दै भुवनेश्वर, कटक, खुर्दा र मञ्चेश्वर लगायतका रेलवे स्टेसनतर्फ लखेटेको गुनासो नेपाली विद्यार्थीको छ ।

‘हामीसँग न त पैसा थियो, न टिकट, न खाना,’ ती विद्यार्थीले भनेका छन्, ‘केही नेपाली छात्राहरूलाई समेत जबरजस्ती हस्ताक्षर गराएर झूटो प्रमाण बनाइएको छ, जसमा उनीहरू आफूखुसी स्वदेश फर्कन लागेको व्यहोरा उल्लेख छ ।’

केआईआईटी कलेजमा नेपाली विद्यार्थी पठाउने काठमाडौंस्थित एड्मिज एजुकेशन नेपालकी सञ्चालक रिता थापाका अनुसार, त्यहाँ अहिले कम्तीमा १४ सय नेपाली विद्यार्थी अध्ययनरत छन् ।

भारतमा नेपाली विद्यार्थीको मृत्यु र आक्रमणका घटनापछि नेपालमा समेत विरोधका आवाज उठेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले घटनामा चासो व्यक्त गर्दै दिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरुलाई घटनास्थलमा पठाइएको र नेपाली विद्यार्थीहरुलाई आफ्नो इच्छा अनुसार होस्टलमै बस्न वा घर फर्किन मिल्ने व्यवस्था मिलाइएको बताएका छन् ।

काठमाडौंस्थित भारतीय दूतावासले पनि नेपाली विद्यार्थीहरुको सुरक्षाको प्रत्याभूति दिलाउने भन्दै कलेज फर्किन र कक्षा सुरु गर्न भनेको थियो ।

त्यसैकारण कलेज प्रशासनले १२ घण्टा नबित्दै दोस्रो सूचना जारी गरी नेपाली विद्यार्थीहरूलाई फर्किन अनुरोध गरेको थियो । जबकी सोमबार दिउँसो केआईआईटी प्रशासनले नेपाली विद्यार्थीलाई कलेज र होस्टल छाडेर जान उर्दी जारी गरेको थियो । त्यसपछि नेपाली विद्यार्थीहरुमाथि आक्रमण तीव्र भएको थियो ।

नेपाली विद्यार्थीहरुलाई कलेज फर्काउन पहल भइरहे पनि उनीहरु त्रसित छन् ।

‘भारतीय मिडियाहरुले पनि यो घटनाको रिपोर्टिङ गर्न थालेपछि रेलवे स्टेसनहरूमा प्रहरीहरु खटाएर नेपाली विद्यार्थीहरूलाई कलेजमा फर्काउने प्रयास गरिरहेको छ’ एक नेपाली विद्यार्थीले भने, ‘ओडिसाका मुख्यमन्त्री र शिक्षामन्त्री कलेज निरीक्षण गर्न आउने अनुमान समेत भएकाले कलेज प्रशासन नरम जस्तो देखिएको छ, तर हामी अझै पनि त्रासमा छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?