
काठमाडौं । शिवरात्री छेकोमा शुक्रबारदेखि फिल्म ‘ताण्डवम्’ देशब्यापी रिलिज हुँदैछ । जुनिम गहतराज निर्देशित फिल्मले एक नवविवाहित जोडीको कथा पेश गर्छ ।
पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा जीवनमा आइलाग्ने अकल्पनीय घटनाले उनीहरूको खुुसीलाई छिन्नभिन्न तुल्याउँछ । ‘फेमिली एक्सन थ्रीलर’ बताइएको फिल्मको ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे धेरै कुरा खुलाउँछ ।
ट्रेलर हेर्दा अभिनेता अंकित खड्का खलपात्र जस्तो देखिन्छन् । ‘घामपानी’बाट नेपाली फिल्म करिअर थालेका खड्काको ‘ताण्डवम्’ नवौं फिल्म हो । चरित्रमा प्राण भर्न सक्ने अभिनेताको रुपमा उनको चर्चा हुनेगर्छ । उनले जति फिल्ममा अभिनय गरे, ती सबैमा उनले छाप छाडेका छन् ।
यस्तोमा, आगामी फिल्म ‘ताण्डवम्’लाई लिएर उनी उत्साहित सुनिए । यो फिल्म सबै दर्शकलाई मनपर्ने उनको बुझाइ छ । कथा र चरित्र मनपरेर आफू काम गर्न राजी भएको उनको भनाइ छ । यसमा उनले घैटे नामक एक पात्रको भूमिका निर्वाह गरेका छन् जसले आमाको माया पाएको हुँदैन ।
तब त उसको पात्र भन्छ- आमाजस्तो लाग्ने आइमाइदेखि मलाई रिस उठ्छ ।’ निर्माताले यो संवादलाई ट्रेलरमा पनि समेटेका छन् । आमाको माया नपाएको मान्छे कस्तो हुन्छ ? व्यवहार कस्तो हुन्छ ? कस्ता कुरा बोकेर हिँड्छ ? आमाजस्तो देखिने आइमाइसँग किन समस्या छ ? आमाको महत्वमाथि फिल्म बनेको छ’ उनले भने ।
चरित्र चित्रण गर्दा कठिन भएको अनुभव उनले सुनाए । सुटिङकै बेला आमाको निधन भएकाले पनि आमा शब्दलाई गाली गर्ने क्यारेक्टरमा भिज्न निकै संघर्ष गर्नुपरेको उनको अनुभव छ ।
‘मलाई धरै नै गाह्रो भयो । सुटिङकै बेला मेरो आमा पनि बित्नुभएको थियो । आमालाई गाली गर्नुपर्ने छ, आमा शब्दलाई निकालेर कसरी गाली गर्ने ? आमा शब्दलाई गाली गर्नै मन थिएन’ उनले सुटिङको अनुभव सम्झिए, ‘आमा भन्ने शब्द एउटा पृथ्वी हो, पृथ्वीलाई कसरी गाली गर्ने ? क्यारेक्टर नै आमालाई गाली गर्ने थियो, यसमा अलि मलाई असहज त लागेको थियो ।’
सबै पात्रमा काम गर्नुपर्ने धर्म कलाकारको रहेको उनले बताए । ‘कलाकारले यो क्यारेक्टर गर्छु, त्यो गर्छु भनेर भन्न मिल्दैन’ उनी सुनिए । नयाँ टिमसँग काम गर्न पाउँदा नयाँ जोस चल्नुका साथै नयाँ कुरा सिक्न र नजिक हुन पाइने भएकाले त्यो नै आफ्नो लागि राम्रो पक्ष हुने बताए ।
‘प्रत्येक फिल्ममा केही न केही नयाँ हुन्छ । यो फिल्ममा पनि दर्शकले स्मरण गर्ने धेरै चिज छन् । नयाँ टिमसँग काम गर्न पाउँदा धेरै त्यस्ता सम्झिने पल हुन्छन्’ उनी भन्छन् । डेब्यु फिल्म ‘घामपानी’पछि अंकितले हुर्रे, डमरुको डन्डिबियोँ, चंगा, गोपी, नांगो गाउँ, बसेनजी र दुखी आत्मामा समेत अभिनय गरेका छन् ।
प्रतिक्रिया 4