
६ फागुन, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) अध्यक्ष गणेश कार्कीले सरकारले जलविद्युत् उत्पादकको हात बाँधेर राखिदिएका कारण १५ खर्ब रुपैयाँ बराबरको जलविद्युत् क्षेत्र अन्योलको अवस्थामा रहेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको अन्तर्क्रियामा कार्कीले १५ खर्ब लगानी भएको क्षेत्र सरकारकै कारण अन्योलको अवस्थामा रहेको बताएका हुन् ।
सरकारले २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने र १५ हजार ५ सय मेगावाट निर्यात गर्ने लक्ष्य राखेको छ । यसका लागि ६२ खर्ब रुपैयाँ लाग्ने अनुमान छ ।
नेपालमा ऊर्जा उत्पादकहरूले १ मेगावाट सुरु गरेकोमा अहिले क्षमता बढाएर १ सयदेखि २ सय परियोजना निर्माण गर्न सक्षम रहेको कार्कीले बताए । उनले ठूला आयोजनाका लागि मात्रै वैदेशिक लगानीकर्ता ल्याउनुपर्ने बताए ।
संसदीय समिति र धितोपत्र बोर्डका कारण सर्वसाधारणलाई जारी गर्न लागिएको आईपीओ पनि उनले बताए ।
‘सरकारले १० प्रतिशत सेयर स्थानीय तहलाई दिनुपर्छ भन्ने कानुनी व्यवस्था छ’, अध्यक्ष कार्कीले भने, ‘स्थानीयले सेयर किन नदिएको भनी उत्पादकको गाडी फुटाएका छन् । धितोपत्र बोर्डले आईपीओ स्वीकृत नदिएसम्म उत्पादकले दिन सक्दैनौं ।’
संसदको सार्वजनिक लेखा समितिको निर्देशनले आईपीओ निष्कासन रोकिएको भन्दै उनले त्यसलाई सच्याउनुपर्ने बताए । ‘लेखा समिति र अर्थ समितिबीच मत बाझिएको छ,’ उनले भने, ‘हामी व्यवसायी आयोजनामा ध्यान दिनुपर्नेमा विभिन्न निकायमा धाउँदै जानुपरेको छ ।’
प्रतिक्रिया 4