+

परिवार नियोजनबारे ६ कुरा

२०८१ फागुन  ६ गते २०:११ २०८१ फागुन ६ गते २०:११
परिवार नियोजनबारे ६ कुरा

परिवार नियोजन भनेको गर्भनिरोध गर्न प्रयोग गर्ने साधन वा औषधि हो। यो मुलत दुई किसिमका हुन्छन् । परिवार नियोजन स्थायी र अर्को अस्थायी हुन्छ। अस्थायी परिवार नियोजनका साधनहरू पनि छोटो समय र लामो समय काम गर्ने हुन्छन् ।

लामो समयसम्म काम गर्नेमा एउटा पाखुरामा राख्ने ‘इम्प्लान्ट’ र पाठेघरमा राख्ने ‘कपर टी’ हो जसलाई मेडिकल भाषामा ‘लङ एक्टिरिर्भसिभल कन्ट्रासेप्सन’ भन्ने गरिन्छ ।

१. परिवार नियोजनका साधनहरू के–के हुन् ?

परिवार नियोजनका अस्थायी साधनहरू मध्ये कपर–टी जुन पाठेघरमा राखिन्छ, जसले १२ वर्षसम्म गर्भ रोक्ने काम गर्छ । इम्प्लान्ट पाखुरामा राख्ने गरिन्छ । जसले ५ वर्षसम्म काम गर्ने गर्दछ। गर्भको इच्छा हुँदा जतिबेला पनि निकाल्न सकिन्छ ।

त्यसैगरी अस्थायी परिवार नियोजनका साधनहरूमा छोटो समयका लागि काम गर्ने डिपो प्रोभेरा अर्थात् तीन महिने सुई, पिल्स, कन्डम र ७२ घन्टे चक्की हुन् ।

स्थायी परिवार नियोजनका लागि पुरुषको भ्यासेक्टोमी गर्न सकिन्छ । महिलाका लागि मिनी–ल्याप्रोटोमी वा ल्याप्रस्कोपी सर्जरी गरी स्थायी बन्ध्याकरण गर्न सकिन्छ ।

२. कस्ता साधन प्रयोग गर्न सुझाव दिइने गरिन्छ  ? 

नेपालमा प्राय महिलाहरूले प्रयोग गर्ने परिवार नियोजनका हर्मोनयुक्त साधनहरूमा  पिल्स चक्की, डिपो, इम्प्लान्ट र आयूसी८ी हुन् । आजभोलि प्रायः परिवार नियोजनको साधनमा स्थायी परिवार नियोजनका साधनहरू प्रयोग गर्ने निकै कम भएको पाइन्छ ।

त्यसैले महिलाहरूको आवश्यकतानुसार हामी परिवार नियोजनको साधन प्रयोग गर्न सुझाव दिने गर्दछौँ । सबै परिवार नियोजनका आफ्नै फाइदा र बेफाइदाहरू हुने गर्दछन् । सबै अस्थायी साधनका बारेमा महिलाहरू राम्रोसँग जानकार भइसकेपछि बल्ल हामीले प्रयोगका लागि छनोट गर्न भन्छौँ ।

उहाँहरूलाई कुन गर्भनिरोधक साधन सही हुन्छ, त्यही अनुसार साधन प्रयोग गर्न मद्दत गर्ने गर्दछौँ । हामीले प्रायः नवविवाहिता अथवा कम उमेरका युवतीहरूलाई ओरल कन्ट्रासेप्सन अर्थात पिल्स प्रयोग गर्न सुझाव दिन्छौँ।

किनभने यसका फाइदाहरू धेरै छन् । पहिलो कुरा त यसले गर्भनिरोधकको रुपमा काम गर्छ। त्यो सँगै यसले शरीरको हर्मोनलाई सन्तुलनमा राख्ने काम गर्दछ । पाठेघरभित्र डिम्बाशयमा पानीका फोकाहरू छन् भने त्यसलाई सुकाउने काम पनि गर्छ।

महिनावारीलाई नियमित गराउने, चाहेका बेला यसको प्रयोग बन्द गरेमा छिट्टै बच्चा बस्ने जस्ता फाइदा यसको छ । विभिन्न अध्ययनका अनुसार नियमित मात्रामा ५ वर्षसम्म पिल्सको प्रयोग गरेमा डिम्बाशयको क्यान्सर हुनबाट बचाउने गर्दछ।

यसका बेफाइदाहरू पनि छन् । बेफाइदा के छ भो, मान्छेले यसलाई नियमित प्रयोग गर्न बिर्सिने गर्दछन् अनि यसको पूरा कोर्स नखानाले कहिलेकाहीँ अन्य असरहरू पनि देखिने गर्दछन् ।

पिल्सका अन्य असरहरूमा सामान्य वाकवाकी लाग्ने, कमजोरी महसुस हुने, कहिलेकाहीँ तौल बढ्ने हुनसक्छ ।

पिल्सकै समूह अन्तर्गत हामी ७२ घन्टे इमर्जेन्सी कन्ट्रासेप्सनलाई पनि लिन सक्छौँ । पछिल्लो समय ७२ घन्टे इमर्जेन्सी कन्ट्रासेप्सन प्रयोग बढ्दो छ । हामीले यसको बढ्दो प्रयोगलाई निरुत्साहित गर्न अति नै आवश्यक छ । किनभने यसको नियमित प्रयोगले इक्टोपिक प्रेग्नेन्सीको जोखिमका साथै महिनावारीमा धेरै मात्रामा गडबडी ल्याउने गर्दछ ।

३. पिल्सको विकल्प के हुनसक्छ ?

इमर्जेन्सी अस्थायी साधनका लागि यो ७२ घन्टे कन्ट्रासेप्सन मात्र नभएर हामीले कपर टी प्रयोग गर्न सक्छौं। त्यसले असुरक्षित सम्पर्क भएको ५ दिनमा बनेको गर्भ पनि बस्न दिदैन ।

यो ७२ घन्टे इमर्जेन्सी पिल्सको विकल्पका रुपमा पनि रहेको छ । तर, हामीले प्राय सबै महिला दिदीबहिनीहरूलाई लामो समयसम्म काम गर्ने परिवार नियोजनका साधनहरू प्रयोग गर्न बढी प्रोत्साहन गर्नुपर्छ ।

जसमध्ये कपर टी र इम्पलान्ट यसका लागि महत्वपूर्ण रहेका छन् । किनकी यो आर्थिक हिसाबले पनि सस्तो र सुलभ छ । लामो समयसम्म काम गर्छ एउटा बच्चा जन्मेपछिको ३ देखि ५ वर्षको जन्मान्तरलाई कायम गर्नका लागि यो एकदमै उपयुक्त हुन्छ । यसका असरहरू पनि एकदमै कम छ ।

४. सबैभन्दा राम्रो कुन रु कतिबेला प्रयोग गर्ने  ?

एउटा बच्चापछि जन्मातर राख्न चाहने महिलाहरूका लागि उपयुक्त अस्थायी साधनमध्ये पाठेघरमा राखिने कपर–टी सबैभन्दा राम्रो मानिन्छ । किनकि यसमा कुनै हर्मोन मिसाएको हुँदैन। यसकारण हर्मोनसँग सम्बन्धित असरहरू हुँदैन । जस्तो– मोटो बनाउने, चायाँपोतो आउने हुँदैन ।

यो जति बेला मन लाग्यो उति बेला निकाल्न पनि सकिन्छ । तर, यसलाई पाठेघरको सही ठाउँमा सही तरिकाले राखिएन भने कहिलेकाहीँ पाठेघरको पत्र पातलो भएको खण्डमा पाठेघरमा प्वाल पार्ने सम्भावना चाहिँ हुनसक्छ ।

इमप्लान्ट र आयूसीडी दुवै गर्भपतन र सुत्केरी भइसकेपछि राख्न सकिन्छ। त्यसैगरी अन्य सामान्य महिलाहरूमा इन्टरभल पद्धतिमा महिनावारी भएको ५ देखि ७ दिनमा राख्दा उपयुक्त हुन्छ।

यो कुनैपनि अस्थायी साधनका लागि उपयुक्त समय मानिन्छ । त्यसैगरी गर्भवती महिलाहरूले अप्रसेन गरेको अथवा सामान्य बच्चा जन्मेको ४८ घन्टाभित्र कपर टी पाठेघरमा राख्न सकिन्छ अथवा त्यतिबेला राख्न सकिएन भने बच्चा जन्मेको डेढ महिना अथवा ६ महिनामा पनि राख्न सकिन्छ।

५. परिवार नियोजनबारे भम्रहरू

हाम्रो समाजमा प्रायजसो सजिलै पाइने अनि लगाउन सजिलो भएकाले डिपो–प्रोभेरा अर्थात ३ महिने सुई धेरै महिलाहरूले प्रयोग गरेको पाइन्छ। यसका धेरै नै नकारात्मक असरहरू छन्।

जस्तै महिनावारी समयमा नभइदिने, भए पनि वर्षौंपछि हुने हुनसक्छ। यदि महिनावारी भएमा अत्याधिक रगत बग्ने, लगाउन छाडेमा आवश्यकता अनुसार तुरुन्तै अर्को गर्भ नरहने, हड्डी कमजोर बनाउने आदि यसका साइडइफेक्ट हुन्।

तर, यो सधैँलाई रहने असर चाहिँ होइन। यसको प्रयोग गर्न छाडेपछि सबैकुरा सामान्य नै हुने गर्दछ। प्रायजसो महिला दिदीबहिनीहरू ३ महिने सुईका असर लिएर अस्पतालमा आउने गर्नुहुन्छ।

६. परिवार नियोजन सम्बन्धी सुझावहरू

अहिले नेपाल सरकारले स्थानीय तहमै स्वास्थ्य स्वयंसेविका, स्वास्थकर्मी तथा जनस्तरमै परिवार नियोजनबारे राम्रो जानकारी दिइरहेको छ।

परिवार नियोजन गर्नुपूर्व एकपटक नजिकैका महिला रोग विशेषज्ञ वा तालिम प्राप्त स्वास्थकर्मीसँग परामर्श लिएर सकारात्मक र नकारात्मक असरबारे बुझ्नु पर्दछ।

परिवार नियोजनका अस्थायी साधनहरू प्रयोग गर्दैमा गर्भ चाहेको बेला रहन गाह्रो हुने होइन । यो एउटा समाजमा फैलिएको अपवाह हो । त्यसैगरी गर्भ निरोधक साधन महिलाहरूले आफ्नो आवश्यकता अनुसार प्रयोग गर्नुपर्दछ । हामी सबैले सुरक्षित आमा र जन्मान्तरलाई ख्याल गर्दै आफ्नो शारीरिक अवस्थाअनुसार राम्रोसँग जानीबुझी मात्रै परिवार नियोजनका बारेमा उपयुक्त निर्णय लिनुपर्दछ।

(डा. दुर्गा बि.सी. रावत नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा स्त्रीरोग विभागमा एसोसिएट प्रोफेसरको रुपमा कार्यरत हुनुहुन्छ ।)

परिवार नियोजन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय