
६ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्लेले राजदूतहरूबारे गम्भीर टिप्पणी गरेका छन् ।
मन्त्रिपरिषद्ले सिफारिस गरेर त्यसउपर संसदीय सुनुवाइ भएर अनुमोदन भएको खण्डमा राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । यो प्रक्रिया अन्तर्गत राजदूत भएकाहरूलाई उनले ‘बोलकबोल र गोजीबाट बनाएका राजदूतहरू’ भनेका हुन् ।
मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद वाग्लेले भारतको ओडिसा राज्यस्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययरत छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्युको विषय उठाए । यो विषयमा नेपाल सरकारले निरन्तर कूटनीतिक पहल गर्नुपर्ने सुझाए ।
यस्ता चुनौतीहरू थपिँदै जाने भनेर पनि उनले सरकारको ध्यानाकर्षण गरे । चुनौतीको सामना गर्न राजदूतहरू कति सक्षम छन् भन्ने प्रश्न रहेको बताए । यसक्रममा उनले राजदूतहरूबारे टिप्पणी गरेका हुन् ।
‘अब यस्ता चुनौतीहरू थपिँदै जानेछन् । ५०, ६०, ७० लाख नेपालीहरू विद्यार्थीका रूपमा वा श्रमिका रूपमा बाहिर छन् । जगजाहेर छ । यस्ता चुनौतीहरू पेचिलो हुँदै जानेछन् । त्यसैले अहिले हामीले बोलकबोल र गोजीबाट बनाएका राजदूतहरूमा सामर्थ्य होलान्, नयाँ चुनौतीहरू थेग्नका लागि ?’ सांसद वाग्लेले प्रश्न गरे ।
इजरायल र हमासको द्वन्द्व हुँदा कब्जामा परेका विपिन जोशी अझैसम्म रिहा नभएको बताए । यसमा नेपाल सरकारको परराष्ट्र संयन्त्रकै क्षमतामाथि प्रश्न उठाए ।
राज्य संयन्त्र र राजदूतमाथि प्रश्न उठाउँदा उनले उनीहरू कसरी राजदूत भएका हुन् भन्नेतर्फ संकेत गर्दै ‘बोलकबोल र गाजी गोजीबाट बनाएका राजदूतहरू’ भनेका हुन् । तर कसको गोजीबाट बनाइएको हो भनेर थप व्याख्या गरेनन् ।
राजदूत नियुक्ति प्रक्रिया मन्त्रिपरिषद्बाट सिफारिस भएर अगाडि बढ्छ ।
त्यसउपर संसदीय सुनुवाइ भएको हुन्छ । संसदीय सुनुवाइ समितिमा रास्वपाका सांसदको प्रतिनिधित्व छ । सुनुवाइ समितिमा रास्वपाबाट सांसद डोलप्रसाद अर्याल सदस्य छन् ।
तर, सांसद वाग्लेले संवैधानिक प्रक्रिया अनुसार राजदूतको जिम्मेवारीमा पुगेकाहरूलाई ‘बोलकबोल र गोजीबाट बनाएका राजदूतहरू’ भनिदिएका हुन् ।
*यसअघि समाचारमा मन्त्रिपरिषद् हुनुपर्नेमा संवैधानिक परिषद् भएकाले सच्याइएको छ -सं
प्रतिक्रिया 4