६ फागुन, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) क्लब पोखरा थन्डर्सले समिर तामाङलाई मार्की खेलाडी घोषणा गरेको छ । थन्डर्सले मंगलबार सामाजिक सञ्जालमा समिरलाई मार्कीको रूपमा सार्वजनिक गरेको हो ।
पोखरा थन्डर्सका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले समिरलाई मार्कीको जिम्मेवारी प्रदान गरेको क्लबले जनाएको छ ।
पहिलो पटक एनएसएलको मार्की खेलाडी घोषित भएपछि समिरले खुसी र उत्साहित रहेको बताए ।
समिर पहिलोपटक एनएसएल खेल्न लागेका हुन् र पहिलो पटकमै उनले मार्की खेलाडीको महत्वपूर्ण जिम्मेवारी पाएका छन् ।
एनएसएलको दोस्रो स्टार पोखराको मार्की खेलाडी रहेका युवा स्टार आयुष घलानलाई पोखराले नयाँ सिजनको लागि कप्तानको जिम्मेवारी दिएको छ । अघिल्लो सिजन पोखराका लागि उत्कृष्ट प्रदर्शन गरेका आयुषले यो सिजन पोखराको कप्तानी गर्ने भएका हुन् ।
आयुष एनएसएलको पहिलो सिजनमा ट्यालेन्ट हन्टबाट पोखरामा अनुबन्ध भएका थिए । दोस्रो सिजनमा उनी पोखराको मार्की खेलाडी रहेका थिए ।
पोखराले यसअघि नै प्रशिक्षकमा सुमन श्रेष्ठलाई नियुक्त गरेको थियो । गत संस्करणमा उत्कृष्ट प्रदर्शन गर्दै प्लेअफमा पुगेको पोखराले उपाधि भने जित्न सकेन ।
एनएसएलको तेस्रो सिजन चैत १६ गतेदेखि सुरु हुँदैछ । त्यसका लागि खेलाडीको अक्सन यही फागुन १० गते हुनेछ । तेस्रो सिजनमा ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया 4