+
+
Shares

देशभरका चिकित्सक कालोपट्टी बाँधेर धर्नामा उत्रिने

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ६ गते १९:५७
फाइल तस्वीर

६ फागुन, काठमाडौं । नेपाल चिकित्सक संघले आफ्ना माग पूरा नभएको भन्दै आन्दोलन गर्ने भएको छ । संघले सरकारलाई दिएको ४८ घण्टाको समयभित्र माग पूरा नभएपछि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

संघद्वारा जारी विज्ञप्ति अनुसार बुधबार र बिहीबार देशभरका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले आफ्नो संस्था अगाडि कालोपट्टी बाँधेर कार्यालय समयको पहिलो एक घण्टा धर्ना दिने कार्यक्रम रहेको छ ।

सरकारले निकासका लागि सम्बोधन नगरेमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने कार्यक्रम गर्न संघ बाध्य हुने चेतावनी समेत दिएको छ ।

संघले आइतबार विभिन्न ९ बुँदे माग राखेर सरकारलाई ४८ घण्टाको अल्टिमेटम दिएको थियो । जसमध्ये सरकारले १ र २ नम्बर बुँदाको माग पूरा गरेको तर अन्य विषयमा चासो नदिएको भन्दै संघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको महासचिव डा.सञ्जिव तिवारीले जानकारी दिए ।

यी हुन् संघले राखेका ९ बुँदे माग:

१. चिकित्सा शिक्षा आयोगको १७औँ बैठकमा नेपाल सरकारका शैक्षिक संस्थाहरुमा एमडी/एमएस/ एमडीएस को सिट संख्या २३१ ले थप गर्ने भनी गरिएको निर्णय अविलम्ब अक्षरसः कार्यान्वयन हुनुपर्ने र थप भएको सिट संख्याको लिष्ट अविलम्ब सार्वजनिक गरिनुपर्ने ।

२. चिकित्सा शिक्षा आयोगको १६ औं बैठकमा निर्णय भएको र कार्यान्वयनको लागि परिपत्र गरिए अनुसार नेपालका आवासीय चिकित्सक (एमडी/एमएस/एमडीएस) हरूको निर्वाह भत्तालाई नेपाल सरकारको आठौं तह सरह रु ४८,७३७/- अविलम्ब उपलब्ध गराउनुपर्ने ।

३. स्वास्थ्य सेवामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको थप दरबन्दी अविलम्ब सिर्जना गरी यथाशीघ्र विज्ञापन गरिनुपर्ने ।

४. अस्पताल विकास समिति अन्तर्गत कार्यरत सम्पूर्ण चिकित्सकहरूलाई स्थाई नियुक्ति प्रदान गरिनुपर्ने |

५. अस्पताल विकास समिति अन्तर्गत नयाँ नियुक्ति प्रदान गर्दा चिकित्सकको शैक्षिक योग्यता अनुसार एमडी/एमएस/एमडीएस उत्तीर्ण गरेका चिकित्सकहरूलाई नवौं तह सरह् एवं DM/ MCh उत्तीर्ण गरेका चिकित्सकहरूलाई दश तह सरह नियुक्ति प्रदान गरिनुपर्ने ।

६. Intern चिकित्सकहरुको भत्ता एवं पिजी अध्ययनरत चिकित्सकहरूको ड्युटी समय, बिदा लगायतका विषयहरु वैज्ञानिक तथा श्रम ऐन अनुसार हुनुपर्ने ।

७. चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको नियुक्ति तथा तलब भत्तामा एकरूपता कायम गरी जोखिम भत्ता लगायत थप भत्ता उपलब्ध गराउनुपर्ने ।

८. चिकित्सकहरूको पढाइको अवधि लामो हुने भएकोले दक्षिण पूर्व एशियामा स्थापित मान्यता अनुसार चिकित्सकीय सेवामा प्रवेश गर्दा सिधै नवौं तहमा नियुक्ति प्रदान गर्ने व्यवस्था हुनुपर्ने ।

९. चिकित्सा सेवा आयोगको स्थापना गर्नुका साथै चिकित्सा सेवा ऐनको व्यवस्था गरिनुपर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?