+
+
Shares

दल बनिनसक्दै नेकपा एसमा गुट झगडा

आमचुनावमा थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको हैसियत पाउन समेत नसकेको पीडादायी पृष्ठभूमि बिर्सिएर एकीकृत समाजवादीभित्र एकअर्काे गुटलाई कमजोर पार्ने संघर्ष चर्को छ ।

सइन्द्र राई सइन्द्र राई
२०८१ फागुन ६ गते २३:०२

६ फागुन, काठमाडौं । पर्सि, ८–९ फागुनमा बोलाइएको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा दशौं राष्ट्रिय महाधिवेशनको समीक्षा पनि छलफलको एजेण्डा बन्दैछ ।

सोमबार बसेको स्थायी कमिटी बैठकमा छलफल भएर अगाडि बढेको यो एजेण्डा पोलिटब्यूरोबाट अनुमोदन गरेर केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिनेछ ।

प्रचार विभाग प्रमुख प्रकाश ज्वालाका अनुसार पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, महासचिव घनश्याम भूसालको ‘आन्दोलनबाट पार्टी निर्माणको कार्यदिशा’ सँगै महाधिवेशनको समीक्षा पनि छलफलको एजेण्डा बनाइन लागेको हो । ‘अलिक ढिलो त भयो, तर महाधिवेशनको समीक्षा गर्नै पर्यो नि’, उनी भन्छन् ।

अर्थात् दशौं महाधिवेशन भएको ८ महिनापछि एकीकृत समाजवादीले त्यसको समीक्षा गर्दैछ । गत असार तेस्रो साता काठमाडौंमा दशौं महाधिवेशन सम्पन्न भएको थियो । तर त्यो महाधिवेशनको समीक्षा अहिले बैठकको एजेण्डा बन्नुले एकीकृत समाजवादीभित्र कुन तहको अलमल छ भन्ने अनुमान लगाउन सकिन्छ ।

र, यो अलमलको मुख्य कारण नेताहरूबीच रहेको अन्तरसंघर्ष नै हो । यदि पार्टी नेतृत्व र संगठनात्मक पकड हत्याउने स्वार्थमा नेताहरू हुन्थेनन् भने एकीकृत समाजवादीको निर्णय प्रक्रिया धेरै अघि बढिसक्ने थियो ।

तर एकीकृत समाजवादीका नेताहरू भर्खर विभागीय जिम्मेवारी पाउने अवस्थासम्म पुगेका छन् । गत १४ माघमा अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशन–४ जारी गरेर नेताहरुको जिम्मेवारी बाँडफाँट गरेका छन् ।

पार्टी काम बाँडफाँट गर्न पठाएको यद्यपि त्यही अपानिले पार्टीभित्र अरू समस्या निम्त्याएको छ । पार्टीका प्रमुख जनसंगठन युवा संघ नेपाल र अनरोस्ववियूको विवाद अपानिकै कारण छताछुल्ल भएको छ ।

आइतबार, ५ फागुनमा अनेरास्ववियूमा समानान्तर कमिटी घोषणा गर्ने तयारी थियो । त्यो भेलाका प्रमुख अतिथि थिए, पूर्वप्रधानमन्त्री झलनाथ खनाल । तर उनै खनालले छुट्टै ब्यानर प्रयोग र समानान्तर कमिटी घोषणा गर्न रोके ।

सम्मानित नेता खनालले समानान्तर नेतृत्व बनाउनुपर्ने अवस्था आउन नदिन पार्टीको केन्द्रीय कमिटी बैठकमा कुरा राख्ने बताएका छन् । यो समस्या अपानिकै कारण सतहमा आएको हो ।

अपानि जारी गर्दा पार्टी अध्यक्ष माधवकुमार नेपालले युवा संघ नेपाल र अनेरास्ववियूको नेतृत्वलाई हटाएका थिए । युवा संघ नेपालका अध्यक्ष कृष्ण विश्वकर्मा र अनेरास्ववियूका अध्यक्ष आरती लामालाई पदमुक्त गरिएपछि यी दुवै संगठनभित्र विवाद चर्केको छ ।

विद्यार्थी इन्चार्ज बनेकी रामकुमारी झाँक्रीले महेश श्रेष्ठको अध्यक्षतामा अनेरास्ववियूको पदाधिकारी घोषणा गरेकी छन्् । तर अपानिबाटै हटाइएकी आरती लामा पक्षधर विद्यार्थीहरू श्रेष्ठलाई अध्यक्ष मानेर पदाधिकारी स्वीकारेका छैनन् । उनीहरू समानान्तर संगठनको तयारीमै छन् ।

‘झलनाथ कमरेडले भन्नुभएर हामीले समान्तर कमिटी घोषणा रोकेका हौं । पार्टीले निर्णय सच्याएन भने १२ गते घोषणा हुन्छ’, लामा भन्छिन् । अनेरास्ववियूमा जस्तै युवा संघ नेपालमा पनि असन्तुष्टि छ ।
अपानिबाटै अध्यक्ष पद गुमेपछि विश्वकर्मा र लामाले सार्वजनिक रूपमै असन्तुष्टि जनाइरहेका छन् । तर युवा संघ इन्चार्जको जिम्मेवारी पाएका लक्ष्मण केसीले कुनैपनि औपचारिक निर्णय लिएका छैनन् ।

युवा संघको नेतृत्व चयन गर्ने सहितको जिम्मेवारी पाएका केसीले औपचारिक निर्णय लिनासाथ यहाँ पनि विवाद बढ्ने देखिन्छ ।

किनकि युवा र विद्यार्थीको समस्या पार्टीभित्रकै अन्तरसंघर्षसँग जोडिएको छ । अपानिबाट हटाइएका विश्वकर्मा र लामा संस्थापन इतर पक्षका हुन् । उनीहरू पहिले झलनाथ खनालसँग नजिक थिए भने दशौं महाधिवेशनमा महासचिव घनश्याम भूसालको पक्षमा उभिएका थिए ।

यद्यपि दशौं महाधिवेशनमा सर्वसहमतिबाट पुरानै नेतृत्व दोहोर्‍याउने निर्णय भयो । माधव नेपाल अध्यक्ष, झलनाथ खनाल सम्मानित नेता र घनश्याम भूसाल महासचिव चयन गरेर २० असारमा महाधिवेशनमा सहभागी १८ सय प्रतिनिधिहरू विदा गरियो ।

महाधिवेशन प्रतिनिधिका विवेक र मतबाट नभएर तीन नेता (माधव, झलनाथ र घनश्याम) आफैं सर्वसहमत हुने र उनीहरूबाटै केन्द्रीय कमिटी बनाउने निर्णय गरिनु नै एकीकृत समाजवादीमा अलमलको कारण बनेको थियो ।

किनकि आफू बलियो हुन तदनुकुलको निर्णय गराउन तीनै नेता सक्रिय भए । विशेषगरी अध्यक्ष नेपाल र महासचिव भूसालबीच शक्ति संघर्ष तीव्र चल्यो । आफू बलियो हुने स्वार्थमा केन्द्रीय सदस्यहरू टुंग्याउनै एक महिना लाग्यो । महाधिवेशन अगाडि पोलिटब्यूरोमा ९३ जनालाई केन्द्रीय सदस्य बनाएर सुरु भएको कमिटी १६ साउनमा पुग्दा ३४४ पुग्यो ।

केन्द्रीय कमिटी टुंगिएपछि पदाधिकारी चयनमा अर्को उल्झन देखियो । सर्वसम्मतीले केन्द्रीय कमिटी बनेकाले पदाधिकारीमा चुनाव गराउन नहुने महासचिव भूसालले अडान लिएका थिए । तर केन्द्रीय कमिटीमा बहुमत रहेको विश्वासका साथ अध्यक्ष नेपालले चुनावबाटै पदाधिकारी चयन गर्ने निर्णय लिए । माधव नेपाल र घनश्याम भूसाल पक्षधरले प्यानल बनाएर पदाधिकारीको चुनाव लडे ।

पदाधिकारीमा चुनाव गराउने निर्णयले पार्टीभित्रको अन्तरसंघर्ष झनै बढ्यो । गत २१ भदौमा पदाधिकारीमा चुनाव गराएको एकीकृत समाजवादीमा नेताहरुको जिम्मेवारी टुंग्याउन १४ माघ कुनुपर्ने अवस्थाले पनि पार्टीभित्रको गुटगत संघर्ष बुझ्न सकिन्छ ।

अनेरास्ववियू र युवा संघको नेतृत्व अपानिबाटै हटाइनु त्यही गुटगतको लडाइँकै उदाहरण हो । यी दुवै संगठनमा अध्यक्ष नेपालले आफू निकट नेताहरू ल्याउन चाहेको नेताहरू छन् ।

गुटको संघर्षले संगठनात्मक गतिविधि र निर्णय प्रक्रियामा मात्र नभएर एकीकृत समाजवादी राष्ट्रिय राजनीतिक एजेण्डाहरूमा पनि प्रष्ट हुन सकेको छैन । पछिल्लो राष्ट्रिय राजनीतिकै प्रशंगमा पनि नेताहरू एकस्वर छैनन् ।

माओवादी केन्द्र सहितको समाजवादी मोर्चाप्रति माधव नेपालको बढी रूझान देखिन्छ । व्यक्तिगत रुपमा पुष्पकमल दाहाल प्रचण्डप्रति माधव नेपालले विश्वास गरिरहेको देखिन्छ । तर घनश्याम भूसाल समाजवादी मोर्चा नभएर आफ्नै शक्ति निर्माणको वकालत गर्दै आएका छन् । भूसालले सार्वजनिक भाषणाहरुमा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जतिकै भत्र्सना प्रचण्डलाई पनि गरिरहेका छन् ।

आफ्नै खुट्टामा उभिनुपर्ने तर्क सहित भूसालले ‘आन्दोलनबाट पार्टी निर्माणको कार्यदिशा’ भन्ने दस्तावेज नै बैठकमा राखेका छन् ।

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?