+
+
Shares
मन्त्रिपरिषद बैठकमा ओडिसा घटनाबारे छलफल :

नेपाल सरकारले भारतमा रहेका नेपाली विद्यार्थीको सुरक्षाका लागि कूटनीतिक पहल बढाउने

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ७ गते ६:५१

७ फागुन, काठमाडौं । नेपाल सरकारले भारतमा अध्ययनरत  नेपाली विद्यार्थीको सुरक्षाका लागि कूटनीतिक पहल बढाउने भएको छ ।

मंगलबार बेलुका बसेको मन्त्रिपरिषद बैठकमा बुटवलकी प्रकृति लम्सालको ओडिसामा मृत्यु भएपछि सिर्जित परिस्थितिलाई सूक्ष्म निगरानी गर्दै नेपाली विद्यार्थीको सुरक्षाको ग्यारेन्टीका लागि कूटनीतिक पहल बढाउनेबारे छलफल भएको हो ।

गएराति अबेरसम्म चलेको मन्त्रिपरिषद बैठकमा ओडिसा घटनाबारे लामो समय छलफल भएको थियोे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतका अधिकारीहरुले आपसी समन्वयमा समस्या समाधानको पहल गरिरहेको जानकारी गराएका थिए । र, समस्या समाधानउन्मुख भएको बताएका थिए ।

‘हिजोको क्याबिनेटमा ओडिसाको घटनाबारे लामो छलफल भयो, प्रधानमन्त्रीले चासोपूर्वक लिनुभयो र परराष्ट्रमन्त्रीले पनि यसबारे  भएको पहलबारे जानकारी दिनुभयो,’ एक मन्त्रीले भने ।

ती मन्त्रीका अनुसार बैठकमा ओडिसा घटनाबारे ठोस निर्णय त भएको छैन तर नेपाली विद्यार्थीको सुरक्षाका लागि कूटनीतिक पहल बढाउने निष्कर्ष निकालिएको थियो ।

बैठकमा प्रधानमन्त्रीले प्रकृति लम्सालको मृत्युका सम्बन्धमा अनुसन्धान रिपोर्ट सार्वजनिक भएपछि आवश्यक कदम चाल्न ठीक हुने बताएका थिए ।

ओडिसाको भुवनेश्वरस्थित कलेजमा बी-टेक तेस्रो वर्षमा अध्ययन गर्ने रूपन्देही स्थायी घर भएकी लम्साल आइतबार होस्टेलको कोठाभित्र झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

सो घटना छानबिनको माग गर्दै आन्दोलनमा उत्रिएका नेपाली विद्यार्थीहरुमाथि कुटपिट गर्दै कलेज प्रशासनले निस्कासन गरेपछि स्थिति तनावपूर्ण भएको थियो ।

नेपाल सरकारको पहलपछि कलेज प्रशासनले माफी माग्दै नेपाली विद्यार्थीलाई कलेज फर्किन आह्वान गरेको थियो ।

एक मन्त्रीका अनुसार लम्सालको मृत्युपछि सिर्जित परिस्थितिबारे छानबिन गर्न ओडिसा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको जानकारी परराष्ट्रमन्त्री आरजु राणा देउवाले दिएकी थिइन् ।

उनले दिल्लीस्थित दूतावासबाट दुई जनाको टोलीलाई घटनाबारे यथार्थ जानकारी लिन ओडिसा पठाएको र राजदूत शंकर शर्माले कलेजका सञ्चालक लगायतसँग बुझ्ने काम गरिरहेको बताइन् । त्यसैले उनले अनुसन्धान प्रतिवेदन आएपछि थप कदम बढाउन ठीक हुने भन्दै तत्कालका लागि नेपाली विद्यार्थीको सुरक्षा र पढाइको वातावरण बनाउन प्रयास भइरहेको जानकारी गराएकी थिइन् ।

यसैगरी शिक्षा मन्त्री विद्या भट्टराईले ओडिसाको घटनाबाट प्रभावित विद्यार्थी तथा अभिभावकलाई आकस्मिक सहजीकरण गर्न सहायता कक्ष बनाइएको जानकारी गराएकी थिइन् ।

आइतबार बुटवल स्थायी घर भइ केआईआईटी कलेजमा अध्ययनरत् २० वर्षीय प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् ।

उनले आफूलाई सोही कलेजमा अध्ययनरत् अड्विक श्रीवास्तवले पटकपटक दुर्व्यवहार गरेको भन्दै उजुरी दिँदा समेत कलेज प्रशासनले गम्भीरता देखाएको थिएन । बरु घटना ढानछोप गर्न खोजेको थियो ।

त्यहीबीच प्रकृति मृत अवस्थामा भेटिएपछि विद्यार्थीहरुले गम्भीरतापूर्वक छानबिन गर्न माग गर्दै प्रदर्शन गरेका थिए । प्रदर्शनलाई कलेज प्रशासनले दमन गर्न खोजेको थियो, त्यसक्रममा विद्यार्थीहरुलाई सुरक्षागार्ड र प्रशासनका व्यक्तिहरुले कुटपिट र दुर्व्यवहार गरेका थिए । कतिपयलाई कुटपिट गर्दै रेलवे स्टेसनतर्फ लखेटिएको गुनासो विद्यार्थीले गरेका छन् ।

कुटपिटमा संलग्न दुई सुरक्षागार्डलाई प्रहरीले पक्राउ गरिसकेको छ भने कलेजका कर्मचारीहरु पनि बर्खास्तीमा परेका छन् । विद्यार्थीले अपशब्द प्रयोग गरेर गालीगलौज गर्ने प्राध्यापकहरुले अहिले माफी माग्दै भिडिओ राखिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?