+
+
Shares

काठमाडौंका भित्तामा इतिहास कोरिरहेकाहरू

‘लिच्छविकालीन अवस्थादेखिका अक्षरमा भएका इतिहासलाई हामी चित्रमा देखाइरहेका छौं । एउटा कलाकारलाई योभन्दा गौरवको क्षण अर्को के हुन सक्छ ?’

विकास रोकामगर विकास रोकामगर
२०८१ फागुन ७ गते २३:००

७ फागुन, काठमाडौं । इतिहासकारहरु लिच्छविकालीन राजा मानदेव प्रथमलाई नेपालको पहिलो प्रामाणिक राजा मान्छन् । अनि, पाँचौं शताब्दीताका उनै मानदेवले ल्याएको मुद्रा ‘मानाङ्‌क’ नेपालको पहिलो मुद्रा ।

लमजुङ, भोटेओडारबाट काठमाडौं आएर चित्रकलामा भविष्य खोजिरहेका ऋद्धिसागर सुवर्णकारले मानाङ्‌कबारे धेरथोर सुनेकै थिए । तर, यसको ऐतिहासिकताबारे ज्ञानको लामो दूरी छिचोलेका थिएनन् ।

अहिले तिनै सुवर्णकार काठमाडौंको मालीगाउँको एक भित्तामा मानाङ्‌क कोरिरहेका छन् । भित्तामा चित्र कोर्नुअघि उनले लिच्छविकालीन मानाङ्‌कबारे बुझे, बनोट हेरे र कुची चलाउन थाले । अब उनी ढुक्क छन्, ‘मैले कोर्दै सिकें । अब यो चित्र हेर्दै अरुले पनि नेपालको पहिलो मुद्राबारे थाहा पाउनेछन् ।’

काठमाडौं महानगरपालिकाले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा अहिले काठमाडौंका विभिन्न ठाउँका भित्ता यहाँको संस्कृति, इतिहास र सभ्यता झल्किने ‘म्युरल आर्ट’ कोरिरहेको छ । यही भित्ते चित्र कोर्ने ‘प्रोजेक्ट’मा करिब एकहप्ता अघिमात्रै जोडिन आइपुगेका सुवर्णकार निकै खुसी छन् ।

सुवर्णकारकै भाषामा भन्ने हो यो उनका लागि पनि ‘सुवर्ण अवसर’ हो । जहाँ उनले आफ्नो कला त देखाउन पाएका छन् नै सँगसँगै काठमाडौंलाई चिनाउन योगदान दिने मौका पनि पाएका छन् ।

‘चित्र पहिले पनि बनाउँथें । बीचमा छोडेर ग्राफिक्स डिजाइनतिर लागेको थिएँ । तर, त्यसमा मजा आएन’, सुवर्णकार भन्छन्, ‘मेरा कामहरु फेसबुकतिर राखिराथें । मन पराएर सहकार्य गरौं न भन्नुभयो । म एकदमै उत्साहित छु ।’

आफैंले रोजेको र खोजेको काम महानगरकै सहकार्यमा गर्न पाउँदा सुवर्णकार पुलकित देखिन्थे ।

छेउमा स्पिकरमा मधुरो गीत सुन्दै उनी थिए, काममा मस्तमगन ! ‘रङ छुँदा, ब्रस छुँदा रमाइलो लाग्छ । छुट्टै खाल्को इनर्जी आउँछ । जति नै तनाव भए पनि, चित्र बनाउँदा रिलिफ फिल हुन्छ’, अनलाइनखबरसँगको भेटमा उनले भने, ‘हुन्छ नि ध्यान बसेजस्तो क्या !’

     ***

काठमाडौंको सहरी सौन्दर्य बढाउन महानगरले करिब एक वर्षदेखि विभिन्न सार्वजनिक स्थानका भित्तामा रंगीन चित्र बनाइरहेको छ । चित्र बनाउन महानगरले ललितकला प्रज्ञा प्रतिष्ठानसँग २०८० फागुन १७ गते सहकार्य गर्ने सम्झौता गरेको थियो ।

सोहीअनुसार हाँडीगाउँको ऐतिहासिकता झल्काउने गरी कलाकारहरुले अंशुबर्माकालीन कैलाशकुट दरबार, मानदेवको पालाको मानगृह, मानाङ्‌क मुद्रा तथा हाँडीगाउँ जात्राका रंगीन चित्र कोरिरहेका छन् ।

सार्वजनिक ठाउँका भित्तामा चित्र कोर्ने अगुवाइ नेपालगञ्जका कलाकार डीबी भण्डारीले गरिरहेका छन् । कलाकारितामै करिब तीन दशक गुजारिसकेको बताउने उनी सरकारी तवरबाटै सुरु भएको यो कदमलाई ‘क्रान्ति’को उपमा दिन्छन् ।

‘हामीले सारा जीवन कलामै बितायौं । अहिले आएर लिडरसिप भनेको कस्तो हुनुपर्छ भन्ने बुझ्दैछौं । अहिले काठमाडौंले यो कदम सुरुआत गरेपछि अन्य पालिकाहरुले पनि बजेट छुट्याउन थालेका छन्, योजना बनाउन थालेका छन्,’ भण्डारी भन्छन्, ‘कला क्षेत्रमा त यो क्रान्ति नै हो ।’

यो टिमले हाँडीगाउँ र मालीगाउँमा मात्रै होइन, यसअघि काठमाडौंका सुन्धारा, वाल्मिकी कलेज, सभागृह, छकुबकु पार्क (बानेश्वर), कोटेश्वर, दशरथ रंगशाला, बबरमहललगायत ठाउँका भित्तामा पनि चित्र कोरेको छ ।

काठमाडौंका सार्वजनिक स्थलका भित्तामा आफूहरुले पुरातात्त्विक सम्पदा, नेवाः संस्कृति, प्राचीन सभ्यता, सांस्कृतिक पक्ष झल्किने गरी चित्र बनाइरहेको भण्डारी सुनाउँछन् । ‘यो यहाँको संस्कृति र सभ्यतासँग जोडिएकाले खेलाँची गर्नुहुँदैन भन्नेमा हामी गम्भीर छौं, त्यही अनुसार हामीले पनि मिहिनेत गरिरहेका छौं । विज्ञहरुसँग भेटेर सल्लाह लिइरहेका छौं, कुनै गल्ती नगर्ने गरी काम गरिरहेका छौं’, उनी भन्छन् ।

मंगलबार अनलाइनखबर टोली मालीगाउँ पुग्दा कलाकार रसिक राज कैलाशकुट भवन सिंगारिरहेका थिए । हातमा ब्रस र रङ बोकेर उनी भवनको शिर सजाइरहेका थिए ।

कुनै समय नेपालगञ्जदेखि संगीत पढ्न काठमाडौं आएका रसिक राज अहिले ललितकलामा भविष्य खोजिरहेका छन् । काठमाडौंको यो ‘ऐतिहासिक कदम’मा हातेमालो गर्न पाउँदा उनी पनि दंग देखिन्थे ।

बन्द कोठामा बसेर गीत, गजल, कविता र चित्र कोरिरहेका रसिक खुला आकासमुनि आफ्नो क्षमता देखाउन पाउँदा निकै गर्व लागेको बताउँछन् । ‘बन्द कोठामा चित्र बनाउँदा केवल चित्रकारमात्रै भइँदो रहेछ, खुला ठाउँमा आफूलाई एउटा समाजकै रुपमा पाएको छु’, केहीबेरको विश्रामपछि उनले अनलाइनखबरसँग भने, ‘यसले आम मान्छे र उनीहरुको जनजीवनसँग प्रत्यक्ष जोडिरहेको महसुस भइरहेको छ ।’

रसिक काठमाडौंमा कोरिएका ती चित्रलाई ‘खुला संग्रहालय’ बताउँछन् । ‘यो खुला संग्रहालय हो, जो खुला प्रदर्शनी भइरहेको छ । चासो राख्नेले हेर्न आउनेमात्रै होइन, यहाँको कला, संस्कृति, सभ्यता र इतिहासबारे पनि थाहा पाउँछन्’, उनी भन्छन् ।

‘म्युरल आर्ट’ टिमको अगुवाइ गरिरहेका डीबी भण्डारीका अनुसार यो काममा सुरुआतदेखि करिब ३० जना कलाकार जोडिएका छन् । महानगरको यो ऐतिहासिक काममा सबैको समान योगदान दिने गरी उनीहरुलाई सहभागी गराइएको उनी बताउँछन् ।

तिनैमध्येका एक हुन्, संखुवासभाका सागर निरौला (३०) ।

मालीगाउँको भित्तामा लिच्छवीकालीन ढुंगे आकृतिलाई ‘फिनिसिङ टच’ दिँदै निरौलाले आफ्नो अनुभव बाँडे । एमबीए गरेर बैंकमा ५ वर्ष जागिर गरे । तर, त्यहाँ उनको मन अडिएन । उनी बैंकमा जागिर गर्दागर्दै चित्रकलातिर मोडिए ।

अवसर बन्यो, कोरोना महामारीको लकडाउन ।

‘बच्चामा अलिअलि कोर्थें तर यसरी लागेको थिइनँ । लकडाउनको बेला अफिस थिएन, त्योबेला वाइल्ड प्राक्टिस गरें नि !’ निरौलाले भने, ‘पछि त यसमै मन रमायो अनि त्यो छोडेर यतातिर फुलटाइमर बनें । लास्टै फ्रिडम फिल भइराख्या छ ।’ उनले २ वर्षअघि बैंकको जागिर छोडेका थिए ।

आफूले बनाएका चित्रहरु सामाजिक सञ्जालमा राख्दै आएका उनी त्यसकै माध्यमबाट काठमाडौंका भित्तामा ‘म्युरल आर्ट’ गर्ने टिमसँग जोडिएको निरौला बताउँछन् । ‘यो हामीले गरेको काम एक/दुई जनाले होइन, लाखौंले हेर्ने हो । यो इच्छा पनि हो, रहर पनि हो । त्यही भएर पनि आफ्नो शतप्रतिशत दिएर काम गरिराखेको छु’, उनी भन्छन्, ‘यहाँ काम गर्दा त काम गरेको जस्तै लागेको छैन, जति ब्रस र रङ खेलायो त्यति मजा आइरहेको छ ।’

काठमाडौंलाई झल्काउने गरी भइरहेको काममा आफू पनि जोडिन पाउँदा खुसी लागेको निरौला सुनाउँछन् । ‘यहाँ मैले काममात्रै गरिराखेको छैन । काठमाडौंै पनि चिन्ने मौका पाइराखेको छु, यो त मेरा लागि ठूलो अवसर हो नि !’ उनले भने ।

टिममा जीवन तामाङ, विक्रम तामाङ, विक्कु थापा , सिके चौधरी, प्रतीक्षा तिवारी, सुजिता चौधरी, सर्मिला तामाङ, भरत भण्डारी लगायत कलाकारहरूले काम गर्दै छन् । यो टिमले हाँडीगाउँ र मालीगाउँमा मात्रै होइन, यसअघि काठमाडौंका सुन्धारा, वाल्मिकी कलेज, सभागृह, छकुबकु पार्क (बानेश्वर), कोटेश्वर, दशरथ रंगशाला, बबरमहललगायत ठाउँका भित्तामा पनि चित्र कोरेको छ ।

ठाउँ अनुसार संस्कृति झल्किने गरी आफूहरुले चित्र बनाएको कलाकार डीबी भण्डारी बताउँछन् । उनका अनुसार मालीगाउँको भित्तामा चित्र कोरेसँगै पहिलो चरणको जिम्मेवारी सकिँदैछ । त्यसपछि दोस्रो चरणका लागि अर्को सम्झौता गर्ने तयारी छ ।

काठमाडौंका भित्तामा कोरिएका यी चित्र आकर्षणका रुपमा मात्रै नभएर ऐतिहासिक पहिचानको उत्खनन् पनि भएको भण्डारी बताउँछन् । यसले पर्यटकलाई मोहित तुल्याउने छ नै, काठमाडौं चिनाउन पनि महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ ।

भण्डारी भन्छन्, ‘लिच्छविकालीन अवस्थादेखिका अक्षरमा भएका इतिहासलाई हामी चित्रमा देखाइरहेका छौं । एउटा कलाकारलाई योभन्दा गौरवको क्षण अर्को के हुन सक्छ र ?’

थप तस्वीरहरु :

तस्वीरहरु : चन्द्रबहादुर आलेमगर/अनलाइनखबर

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?