७ फागुन, जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका १४ पिडारीचोकमा दर्ताबिना सञ्चालित मुस्कान अस्पतालमा पित्तथैलीको शल्यक्रिया गराएकी २५ वर्षीया बबिताकुमारी यादवको एक महिना बितिसक्दासमेत होस आएको छैन ।
गत माघ ३ गते मुस्कान अस्पतालमा सर्जन डा. ज्ञानकुमार साह नेतृत्वको टोलीले बबिताको शल्यक्रिया गरेको थियो । अहिले उनको काठमाडौं मेडिकल कलेज (केएमसी)मा उपचार भइरहेको छ । ‘चिकित्सकले थोरै सुधार आएको भनिरहेका छन् । तर होस आएको छैन,’ बबिताका श्रीमान अंगेशकुमार यादवले भने ।
सर्लाहीको हरिपुर्वा नगरपालिका ५ का अंगेशकी श्रीमती बबितालाई शल्यक्रियापछि होस नआएकाले मुस्कान अस्पतालका डाक्टरहरुले अन्यत्र लैजान भनेका थिए । त्यसपछि परिवारका सदस्यहरुले ६ माघमा जनकपुरको जानकी हेल्थकेयरमा भर्ना गरेका थिए ।
जानकी हेल्थकेयरमा २९ माघसम्म उपचार हुँदा पनि होस नआएपछि काठमाडौंको वीर अस्पतालमा ल्याइयो । तर बीरमा भेन्टिलेटर खाली नभएको भनेपछि केएमसीमा ३० माघमा भर्ना गरिएको हो ।
दर्ताविना सञ्चालित अस्पतालमा शल्यक्रिया भएको २० दिनसम्म पनि बबिताको होस नआएको समाचार अनलाइनखबरले सार्वजनिक गरेको थियो । त्यसपछि मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले छड्के अनुगमन गरी अस्पताल बन्द गराएका थिए ।
मुख्यमन्त्री सिंहले बबिताको राम्रो अस्पतालमा लगेर उपचार गराउने प्रबन्ध मिलाउन मुस्कान अस्पताल सञ्चालकलाई निर्देशन पनि दिएका थिए । तर, अस्पताल सञ्चालकले अटेर गरेपछि परिवारका सदस्यहरुले जसोतसो ऋण काढेर माघ २९ गते काठमाडौं ल्याएका थिए ।

‘ऋण सापटी खोजेर जसोतसो अहिलेसम्म उपचार गराएँ । अब उपचारको पैसा छैन । साँझबिहान हामी कुरुवालाई खान पनि पैसा पुगिरहेको छैन । उपचार कसरी गराउने ?’ अंगेशले भने, ‘मुस्कान अस्पताललाई उपचार गराउन मुख्यमन्त्रीजीले निर्देशन दिनुभयो । तर उसले अहिलेसम्म कुनै मतलब गरेको छैन ।’
उनका अनुसार अहिलेसम्म बबिताको उपचारमा ११ लाखभन्दा बढी रकम खर्च भइसकेको छ । मुस्कान अस्पतालमा शल्यक्रियापछि होस नआएकाले जानकी हेल्थकेयरमा २६ दिनसम्म भेन्टिलेटरमा राखिएको र त्यहाँ ६ लाखभन्दा बढी खर्च भएको उनले बताए ।
३ लाख रुपैयाँ बुझाएको र थप पछि दिने शर्तमा त्यहाँबाट बबितालाई काठमाडौंमा उपचार गर्न ल्याएको उनले बताए । काठमाडौंमा पनि करिब ३ लाख रुपैयाँ खर्च भइसकेको उनको भनाइ छ ।
बबिताको घरको आर्थिक स्थिति कमजोर छ । उनका श्रीमान अंगेश भारतको हैदरावादस्थित बोरा सिउने कम्पनीमा मजदुरी गरिरहेका थिए । बबिताको स्वास्थ्य बिग्रिएको खबरपछि उनी नेपाल फर्किएर अस्पतालमा कुरुवा बस्दै आएका छन् ।
अंगेशका अनुसार चिकित्सकले बबिताको बोनम्यारोमा संक्रमण फैलिएकाले ६ वटा सुई लगाउनु पर्ने भएकाले पैसा जम्मा गर्न भनेका छन् । ‘एउटा सुईको डेढ लाख रुपैयाँ पर्छ । त्यति महँगो सुई ल्याउन पैसा कहाँबाट ल्याउने ?’ अंगेशले भने, ‘अहिलेसम्म ऋणकर्जा लिएरै उपचार गराएँ । पैसा जुटाउन गाउँमा फोन गरिरहेको छु, तर अब सापटी पनि पाइरहेको छैन । विनापैसा उपचार गराउन गाह्रो छ ।’
उनी थप उपचारका लागि सुरुमा शल्यक्रिया गरिएको मुस्कान अस्पतालले वा सरकारले सहयोगको आशमा छन् ।
बुबा ब्रह्मदेवका अनुसार पेट दुखेपछि बबिता सुरुमा जनकपुरको सूर्या अल्ट्रासाउन्डमा चेकजाँच गराउन गएकी थिइन् । रिपोर्टमा पित्त थैलीमा पत्थरी देखिएको भन्दै त्यहाँका एकजना कर्मचारीले उनलाई मुस्कान अस्पतालमा शल्यक्रिया गराउन जान सल्लाह दिएका थिए ।
त्यसपछि बबिताको शल्यक्रिया मुस्कान अस्पतालमा माघ ३ गते भएको थियो । तर चिकित्सकको लापरबाहीले बबिता गम्भीर अवस्थामा पुगेको पति परिवारका सदस्यहरु बताउँछन् ।
पति अंगेशका अनुसार आफूले भारतबाटै फोन गर्दा चिकित्सकले अप्रेसन भएको दुई घण्टामै होस खुल्ने बताएका थिए । तर तीन दिनसम्म होस नआएपछि अस्पतालले न्यूरो सम्बन्धी समस्या हुन सक्ने भन्दै सिटीस्क्यान गराउन भनेका थिए । सिटीस्क्यान रिपोर्टमा न्युरो सम्बन्धी समस्या देखिएको र त्यससम्बन्धी डाक्टर यहाँ नभएको भन्दै मुस्कान अस्पतालका चिकित्सकले अन्यत्र लैजान भनेका थिए । सोही अनुसार माघ ६ गते बबितालाई जनकपुरको जानकी हेल्थकेयरमा लगेर भेन्टिलेटरमा राखिएको थियो ।
मुस्कान अस्पतालमा शल्यक्रियामा चरम लापरबाही गरेको भन्दै बबिताकी बुबा ब्रह्मदेव यादवले माघ तेस्रो साता जिल्ला प्रहरी कार्यालय धनुषा र नेपाल मेडिकल काउन्सिलमा उजुरी समेत दिएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले बबिताका परिवार र अस्पताल प्रतिनिधिहरुलाई राखेर दुईपटक छलफल पनि गराएको थियो ।
तर हालसम्म अस्पताल सञ्चालक र चिकित्सकलाई कुनै कारबाही नभएको पीडित परिवारका सदस्यहरुको भनाइ छ ।
मधेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकृत एवं अनुगमन समितिका सदस्य सन्तोष ठाकुरले मुस्कान अस्पताल सञ्चालकले उपचारमा सहयोग नगरेको र कारबाही नभएको भन्ने जानकारी आफूलाई नभएको बताए ।
‘सरकारको निर्देशन पश्चात पनि मुस्कान अस्पताल सञ्चालकले उपचारमा सहयोग गरेन भन्ने कुरा जानकारीमा छैन । अब यस विषयमा मुख्यमन्त्रीजीसित आवश्यक निर्देशन लिएर अघि बढ्छौं’ अधिकृत ठाकुरले भने ।
बबिताको उपचारमा भएको लापरबाही घटनापछि मधेश सरकारले जनकपुरका निजी अस्पतालमा छड्के अनुगमन जारी राखेको छ । हालसम्म ४० वटा निजी अस्पतालको अनुगमन गरेका मुख्यमन्त्री सिंहले दर्ताविना सञ्चालित अस्पताललाई बन्द गराएका छन् ।
हालसम्म मुस्कान हस्पिटल प्रालि, बिएन हस्पिटल एन्ड रिसर्च सेन्टर, जनकपुर सीता हस्पिटल, अरमान हस्पिटल, जनकपुर मोडर्न हस्पिटल, जनकपुर मोडेल हस्पिटल, जनकपुर गोदावरी हस्पिटल, कृष्णा हस्पिटल प्रालि र जनक मेमोरियल हस्पिटल बन्द भइसकेका छन् ।
प्रतिक्रिया 4