
७ फागुन, काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ खोरियास्थित एक घरमा मृत भेटिएका किशोरको अनुसन्धानका लागि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता ढुण्डिराज नेउपानेका अनुसार २१ वर्षीय बादल तामाङलाई नियन्त्रणमा लिइएको हो । बादलकै घरमा उनका साथी १९ वर्षीय निरोज लामा मंगलबार मृत भेटिएका थिए ।
प्रहरीका अनुसार निरोज गएराति बादलको घरमा गएका थिए । उनीहरू छुट्टाछुट्टै कोठामा सुतेको प्रहरीको भनाइ छ ।
मंगलबार दिउँसो ३ बजेसम्म पनि नउठेपछि बादल उनलाई बोलाउन जाँदा अचेत अवस्थामा भेटिएको प्रहरीको भनाइ छ ।
प्रहरीको टोली घटनास्थलमा पुग्दा निरोज मृत भेटिएका थिए । यस घटनाबारे अनुसन्धान भइरहेको छ ।
मृतक किशोरका परिवारले बादलविरुद्ध भने जाहेरी दिन लागेका छन् । बुधबार सार्वजनिक बिदा भएकाले प्रहरी नियन्त्रणमा रहेका बादलविरुद्ध भोलि बिहीबार मात्रै म्याद थप हुने डीएसपी नेउपानेले बताए ।
प्रतिक्रिया 4