
७ फागुन, काठमाडौं । पोखरामा वरपिपललगायत रुखविरुवा काटिएको विषयमा डिभिजन वन कार्यालय, कास्कीले चासो देखाएको छ । रुखविरुवा कटान गरेको विषयमा आफ्नो क्षेत्राधिकार ठहर भए कानुनअनुसार कारबाही गर्नेसमेत कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी हरिप्रसाद गौतमले मंगलबार एक विज्ञप्ति जारी गरी कारबाही गर्नेबारे आफूहरुको क्षेत्राधिकार एवं अनुसन्धान तहकिकातका भए/नभएको जानकारी लिइरहेको बताएका छन् । उनले पर्यावरणमा अपूरणीय क्षति पुग्ने गरी रुखविरुवा कटान गर्नेहरुलाई कडाभन्दा कडा कारबाही गर्ने पक्षमा आफूहरु पनि रहेको विज्ञप्तिमार्फत जनाएका छन् ।
‘संघीयता कार्यान्वयनमा आएपश्चात आएका संघ, प्रदेश र स्थानीय तहका कानुनका आधारमा कानुनी कारबाहीको क्षेत्राधिकार र अनुसन्धान तहकिकात डिभिजन वन कार्यायलय, कास्कीकै भए नभएको सम्बन्धमा कानुनी निर्देशन/निकासाका लागि सम्बन्धित तथा तालुक निकायमा पठाइसकिएको छ’, उनले भनेका छन्, ‘साथै सोको जानकारी तथा विवरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखरामा समेत पठाइसकिएको छ ।’
पोखरामा मानव सेवा फाउन्डेसन नामक संस्थाले कोटीहोम सञ्चालन गर्ने भन्दै सडक तथा चौताराका ऐतिहासिक रुखविरुवा ठुटो बनाएपछि कारबाही गर्नुपर्ने माग उठिरहेको छ । पोखरामा कोटीहोम सञ्चालन गर्ने विषयमा महानगर र फाउन्डेसनबीच नोकझोंक चलिरहेको छ । बैशाख १७ गतेदेखि ४५ दिनसम्म पोखरा लेकसाइडमा सञ्चालन हुने भनिएको उक्त कोटीहोम विवाद अहिले अदालतसम्म पुगेको छ।
प्रतिक्रिया 4