+
+
Shares

सत्ताका सामु घुँडा टेक्नेहरू, सत्यका लागि लड्नेहरू

हामी को हौं? सत्ता अघि घुँडा टेक्नेहरू? कि सत्यका लागि लड्नेहरू? शक्तिको मोहमा हराउँदै गएका चेतनाहरू हाम्रो निरीह सहमतिको उपज हुन्। झूटो जालोमा कैद भएका विचारहरू हाम्रो सामूहिक मौनताको नतिजा हुन्।   

क्रान्तिशिखा क्रान्तिशिखा
२०८१ फागुन ८ गते २०:१९

राजनीति होस् या समाज, सत्तामा रहेका व्यक्तिहरूसँग नजिक हुन चाहने प्रवृत्ति हामी धेरैमा देखिन्छ। यो प्रवृत्ति हाम्रो स्वभावको एक अंश बनिसकेको छ।

एउटा प्रसिद्ध भनाइ नै छ– “पावर स्पीक्स लाउडर देन सेल्फ-रिस्पेक्ट, स्पेसियली व्हेन इट्स ईजियर टु सेल योर डिग्निटी फर अ टेस्ट अफ कन्ट्रोल।” अर्थात् शक्ति आत्मसम्मान भन्दा चर्को स्वरमा बोल्छ, विशेषगरी जब आत्म-नियन्त्रणको परीक्षणको लागि आफ्नो मर्यादा बेच्न सजिलो भइरहेको हुन्छ। आफूलाई जसरी व्यवहार गरिएको होस्– हेपिएको, थचारिइएको, मिचिएको ! केही फरक पर्दैन !

शक्ति जसको हातमा, भक्ति त्यसको चरणमा ! अगाडि को जाने प्रतिस्पर्धा सुरु हुन थालिहाल्छ। तर, यो के अवसरको लागि मात्रै हो? कि यसको पछाडि कुनै गहिरो मानसिक प्रवृत्ति छ?

राजनीतिक र सामाजिक परिप्रेक्ष्यमा सत्तामा रहेका व्यक्तिहरूसँग सहकार्य गर्ने मानिसहरूमा एक गहिरो मनोवैज्ञानिक प्रवृत्तिको छाया हुन्छ। यो व्यक्तिगत स्वार्थ र लाभमा मात्रै आधारित छैन, यसमा मानसिक र सामाजिक  तत्त्व दुवै  हुन्छन्। सामाजिक लगभग छरपस्ट नै हुन्छ। मानसिक त्यति सहजै देखिंदैन।

तर फेरि यसैले मानिसहरूको सोच र क्रियाकलापलाई मार्गदर्शन गरिरहेको हुन्छ। बुझ्नुपर्ने कुरा यस्तो मानसिकता के कारण उत्पन्न हुन्छ? किन मानिसहरू सत्तामा रहेका व्यक्तिहरूसँग जोडिन चाहन्छन्, किन सत्ता र शक्तिमा हुँदा व्यक्तिहरू आत्मसम्मानलाई झोलामा कैद गर्न पछि पर्दैनन् ? यसको जवाफहरू हाम्रो समाजको संरचना र हाम्रो सोचका कन्दरामा लुकेका हुन्छन्।

नेपालमा सिस्टम जस्टिफिकेशन : सत्ता, अस्थिरता र इतिहासको पुनरावृत्ति

नेपालमा सत्ता जोगाउने खेल, अनिश्चितता र अनैतिक राजनीतिक व्यवहारले नागरिकहरूमा लर्न्ड हेल्पलेसनेस (आर्जित असहायता) विकसित गराइरहेको छ। जसले गर्दा नागरिकहरूलाई परिवर्तन असम्भव जस्तो लाग्न थालेको छ।

बारम्बार अन्याय र निष्क्रिय प्रतिरोध देख्दा निराश भएर मौन बसिरहेका छन्। राजनीति र मूल्यमान्यता बीचको अन्तरले कग्निटिभ डिजोनेन्स अर्थात् संज्ञानात्मक असमञ्जस्य सिर्जना गर्छ। जसले मानसिक तनाव उत्पन्न गराउँछ। अन्ततः सम्झौता गर्न बाध्य पार्छ।

नेपालमा अन्याय, भ्रष्टाचार र दमन विरुद्ध समाज मौन छ। वर्षौंदेखि राजनीतिक अस्थिरता, सत्ताको दुरुपयोग र कमजोर शासनका कारण नागरिकका अधिकार कुण्ठित भइरहेका छन्। जनता किन मौन छन्,?

सिस्टम जस्टिफिकेशन थ्यौरी अनुसार, नागरिकहरू अन्यायपूर्ण प्रणालीलाई नै स्वाभाविक मान्न थाल्छन्, जसले योग्य, सक्षम र इमानदार व्यक्तिहरूलाई राजनीतिबाट टाढा राख्छ। जब स्वतन्त्र सोच्नेहरू दबिन्छन्, अवसरवादी मौलाउँछन्, भ्रष्टाचार संस्थागत बन्छ र लोकतन्त्रको आत्मा कमजोर पर्छ। नेपालमा भइरहेको ठ्याक्कै यही हो।

यो चक्र तोड्न निष्पक्ष संस्थाहरू शक्तिशाली, लोकतान्त्रिक मूल्यहरूको पुनर्स्थापना र सशक्त नेतृत्व आवश्यक हुन्छ। परिणामस्वरूप, नागरिकहरूमा राजनीतिक उदासीनता बढ्छ। यसैले उनीहरूलाई राजनीतिक प्रक्रियाबाट विमुख बनाउँछ, असल नेतृत्व उब्जने सम्भावना घट्छ र दीर्घकालीन रूपमा लोकतन्त्रप्रति अविश्वास बढ्दै जान्छ।

अन्याय, भ्रष्टाचार र मौनताको मनोवैज्ञानिक प्रभाव

अझ अर्को डरलाग्दो यथार्थ हेरौं!

नेपालमा अन्याय, भ्रष्टाचार र दमन विरुद्ध समाज मौन छ। वर्षौंदेखि राजनीतिक अस्थिरता, सत्ताको दुरुपयोग र कमजोर शासनका कारण नागरिकका अधिकार कुण्ठित भइरहेका छन्। जनता किन मौन छन्,?

जब अख्तियार दुरुपयोग अनुसन्धान आयोग भ्रष्टाचार विरुद्ध कारबाही गर्न असफल हुन्छ, जब न्यायालयभित्रै घुसपैठ हुन्छ, जब विकासका नाममा अरबौं रुपैयाँ ठेकेदार र नेताको खल्तीमा जान्छ, जब मिडियाले तथ्य तोडमोड गर्छ, जब कानुनको पालना गर्ने संस्थाहरू सत्तासामु झुक्न बाध्य हुन्छन्, तब नागरिकहरू असन्तुष्ट भए पनि निर्णायक दबाब सिर्जना हुँदैन। सडकमा आक्रोश देखिन्छ, तर परिवर्तनका लागि सङ्गठित प्रतिरोध खडा हुँदैन। बेरोजगारी, गरिबी र अवसरको अभावले जनता दैनिक सङ्घर्षमै अल्झिन बाध्य छन्, जसले उनीहरूलाई मौन बस्न विवश बनाइरहेको छ।

मनोवैज्ञानिक रूपमा, यो बाइस्ट्यान्डर इफेक्ट हो, जहाँ अन्याय देखेर पनि प्रतिरोध हुँदैन। नागरिकहरू सत्ताको गलत क्रियाकलाप देखिरहेका हुन्छन्, तर “म एक्लै के नै गर्न सक्छु?” भन्ने सोचले जनतालाई निष्क्रिय राख्छ। सामाजिक सञ्जालमा आक्रोश पोखिए पनि, वास्तविक जीवनमा प्रतिरोध नगर्ने प्रवृत्ति नेपालमा मौलाउँदै गएको छ।

यसको जरा त्रासद मानसिकतामा गाडिएको हुन्छ। जब फरक विचार राख्नेमाथि राज्यले दमन गर्छ, जब असहमतिको स्वर दबाइन्छ, जब प्रतिस्पर्धीलाई झुटा मुद्दा लगाएर राजनीतिक वा सामाजिक रूपले हराइन्छ, तब नागरिकहरू स्वतः मौन बस्न बाध्य हुन्छन्। यसले क्रमशः सामूहिक निष्क्रियताको रूप लिन्छ, जसले परिवर्तनको सम्भावनालाई कमजोर बनाउँछ।

जब सत्ता कमजोर हुन्छ, तर आफ्नो अस्तित्व जोगाउन जुनसुकै हत्कण्डा अपनाउन पछि पर्दैन, त्यसको सबैभन्दा ठूलो हतियार भनेकै जनताको मौनता हो। जब नागरिकहरू मौन रहन्छन्, जब अन्याय सामान्य बन्छ, तब सत्ताले आफ्नो मनपरी गर्छ। अहिले नेपालमा बाइस्ट्यान्डर इफेक्ट गहिरो रूपमा काम गरिरहेको छ, जहाँ अन्याय देखेर पनि नागरिकहरू हस्तक्षेप गर्न सक्दैनन्।

तर, के यो मौनता सधैं रहन्छ? इतिहासले देखाएको छ, जब मौनता चर्को चीत्कारमा परिणत हुन्छ, तब व्यवस्था हल्लिन्छ। जनता जब एकजुट भएर उठ्छन्, तब शक्तिसँग डराउन बाहेक अर्को विकल्प रहँदैन!

अधिकार र शक्ति: कन्फर्मिटी र समाजमा अन्यायको स्वीकृतिसँगको सम्बन्ध

सामाजिक संरचनामा यो प्रकारको भय र दबाबले गर्दा मानिसहरूको स्वतन्त्र सोच र निर्णयको शक्ति समाप्त हुन्छ र उनीहरू सत्ताको पक्षमा उभिन बाध्य हुन्छन्। यसैले, “कन्फर्मिटी” वा “सामाजिक सहमति” भनेको सम्भवतः डर र अन्यायको स्वीकृतिको परिणाम हो, जसले मानिसहरूको वास्तविक इच्छा र मानसिकता प्रकट गर्न जटिल बनाउँछ।

नेपालमा राजनीतिक दल र नेताहरूको हालको व्यवहार नियाल्दा स्पष्ट देखिन्छ उनीहरू नीतिभन्दा सत्तामा टिकिरहने रणनीतिमा केन्द्रित छन्। सत्तामा रहन गठबन्धनहरू बनाउने र भत्काउने क्रम निरन्तर जारी छ, जसमा  विचारधारा वा सिद्धान्तको भूमिका कम देखिन्छ। यसले राजनीतिलाई जनसेवा र सुशासनको लक्ष्यबाट विचलित गरी केवल अस्तित्वको खेल बनाइदिएको छ।

धेरैजसो नेताहरूको प्राथमिकता नीति बनाउनुमा भन्दा बढ्ता सत्ता जोगाउनुमा रहेको छ। उनीहरू जनताको पक्षमा निर्णय गर्नुभन्दा सत्तासीन शक्तिहरूसँग सौदाबाजी गर्न व्यस्त देखिन्छन्। जसले प्रभावशाली शक्ति केन्द्रहरूसँग मिलेर अघि बढ्छ, उही सुरक्षित रहन्छ। यसै कारण दलभित्र असहमति राख्नेहरूलाई निष्क्रिय पारिन्छ, बदनाम गरिन्छ, या त पार्टीबाटै बाहिरिन बाध्य पारिन्छ। विचार स्वतन्त्रताको सट्टा सत्ता जोगाउने रणनीतिले नेपालको लोकतान्त्रिक मूल्यहरूलाई कमजोर बनाइरहेको छ।

दलभित्र सुधारको प्रयास गर्नेहरूलाई हतोत्साहित गरिन्छ। प्रतिपक्षमा हुँदा जे आलोचना गरिन्छ, सत्तामा पुगेपछि उही व्यवहार अपनाइने दोहोरो चरित्रले राजनीतिप्रतिको जनताको विश्वास कम हुँदै गएको छ।

सत्यको परिभाषा पनि सत्ता अनुसार बदलिन्छ। सत्ता कसको हातमा छ भन्ने आधारमा सही-गलत परिभाषित गरिन्छ। जब सत्ताले आफूलाई चुनौती दिनेहरूलाई दण्डित गर्छ, आलोचनालाई असहिष्णु रूपमा लिन्छ र विचार स्वतन्त्रतालाई सीमित बनाउँछ, तब नैतिकता विलासिता बन्छ, इमानदारी जोखिम बन्छ र स्वतन्त्र सोच्नेहरू मौन बस्न बाध्य हुन्छन्।

अब प्रश्न एकदमै स्पष्ट छ, हामी को हौं? सत्ता अघि घुँडा टेक्नेहरू? कि सत्यका लागि लड्नेहरू?

यस्तो अवस्थामा, समाजमा बाँच्नकै लागि सम्झौता गर्ने प्रवृत्ति हाबी हुन्छ। योग्य, सक्षम र परिवर्तन चाहने मानिसहरू राजनीति वा सार्वजनिक सेवामा आउन हिचकिचाउँछन्। किनभने सत्ताको समीकरणमा नपरेसम्म, इमानदार व्यक्तिहरूलाई लाचार बनाइन्छ र जसले सत्ता पक्षको समर्थन गर्छ, उही टिक्छ। यसरी, पुराना दलहरू र नेताहरूको व्यवहारले नेपालमा राजनीति नीतिमूलकभन्दा पनि शक्ति, प्रभाव र अस्तित्वको खेलमा सीमित हुँदै गएको देखिन्छ।

सोलोमन आस्चको कन्फर्मिटी प्रयोग (१९५१) ले देखाएको छ कि मानिसहरू समूहको दबाबमा आएर गलत भए पनि अनुसरण गर्छन्। यस प्रयोगमा, सहभागीहरूलाई विभिन्न लम्बाइका रेखाहरू देखाइयो र सही मिल्ने रेखा छान्न लगाइयो।

जब उनीहरू एक्लै थिए, उनीहरूले सहजै सही उत्तर दिए। तर जब समूहका अन्य सदस्य (जो वास्तवमा अनुसन्धानकर्ताका सहयोगी थिए) जानाजान गलत उत्तर दिन थाले, तब ७५ प्रतिशत सहभागीहरूले कम्तीमा एक पटक समूहकै गलत उत्तर स्वीकारे। यसले के देखाउँछ भने मानिसहरू अरूले के गरिरहेका छन् भन्ने आधारमा आफ्नो निर्णय परिवर्तन गर्न बाध्य हुन्छन्, चाहे त्यो गलत नै किन नहोस्।

यही सिद्धान्त राजनीति र सत्ता व्यवस्थापनमा पनि लागू हुन्छ। यदि सत्तामा रहेका व्यक्तिहरूसँग सहकार्य गर्दा व्यक्तिगत अस्तित्व सुरक्षित रहन्छ र सहज जीवनको प्रत्याभूति हुन्छ भने नागरिकहरूले क्रूरतालाई समेत स्वीकार्न सक्छन्।

नेतृत्वको वरिपरि हुँदा के फाइदा हुन्छ भन्ने सङ्केत पाएपछि मानिसहरू त्यसप्रति लालायित हुन्छन्। मानव स्वभाव नै अरूसँग सामूहिक रूपमा संलग्न हुन प्रेरित गर्ने भएकाले “सामाजिक प्रमाण” को सिद्धान्त अनुसार, मानिसहरू अरूसँग मिलेर काम गर्दा आफूलाई सुरक्षित र सही महसुस गर्छन्। यदि निर्णय गलत भए पनि, समूहको दबाबले उनीहरूलाई त्यसलाई सही ठान्न बाध्य पार्छ।

आस्चको प्रयोगमा देखिएको जस्तै, जब समाजमा धेरैले कुनै विचारलाई समर्थन गर्छन्, मानिसहरू स्वतः त्यसैलाई सही मान्न थाल्छन्। यही कारण, सत्तामा रहेका व्यक्तिहरूको समर्थन गर्दा धेरैलाई लाग्छ कि उनीहरूका निर्णयहरू सही छन्, जसले गर्दा अन्यायपूर्ण नीति र अमानवीय क्रियाकलापहरू समेत समाजमा स्वीकृत हुँदै जान्छन्।

सत्ताको मनोविज्ञान: स्वार्थ, सत्ता र नैतिकताको द्वन्द्व

राजनीतिक संसारमा केही व्यक्तिहरूले सत्तामा रहेकाहरूको मानसिक र व्यावहारिक प्रवृत्तिहरूसँग परिचित भएर, आफ्ना स्वार्थहरू पूरा गर्न तिनको पक्षमा उभिन्छन्। यसमा “मनोरोग” (साइकोप्याथी) को अवधारणा महत्त्वपूर्ण हुन्छ, जसले व्यक्तिहरूलाई स्वार्थी र निर्दयी रूपमा आफ्ना फाइदाको खोजीमा लाग्न उत्प्रेरित गर्छ। यस्तो प्रवृत्ति प्रायः सत्तामा रहेका व्यक्तिहरूमा देखिन्छ, जसले आफ्ना व्यक्तिगत लाभको लागि प्रभाव र शक्ति प्रयोग गर्छन्। आफूलाई समाज र अरूसँगको सम्बन्ध भन्दा माथि राखेर केवल आफ्ना व्यक्तिगत स्वार्थका लागि उपयोग गर्छन्।

इतिहासमा, धेरैले आफ्ना स्वार्थहरू पूरा गर्नको लागि निरङ्कुश शासनको पक्षमा उभिनुपर्ने बाध्यता महसुस गरेका थिए, जसले तिनीहरूलाई सत्ता र प्रभुत्वको लागि कुनै पनि मूल्य चुकाउन तयार गरायो, यस्ता स्थितिहरूमा, उनीहरूको नैतिकता र आत्मसम्मान दोस्रो प्राथमिकतामा परेको थियो।

केही विशेष कालखण्डहरूमा नेपालमा सत्तामा रहेकाहरूले आफ्ना राजनीतिक विरोधीहरूको सिकार गर्ने नीति अपनाएका छन्। लाखौं व्यक्तिहरूलाई अफवाह र झुटको आधारमा दोषी ठहर्‍याएर दमन गरिएको छ। यसमा, धेरैले आफ्नो पद र शक्ति बचाउनको लागि सत्ताधारीहरूको समर्थन गरे, जुन केवल स्वार्थमा आधारित थियो, जहाँ व्यक्तिगत नैतिकता र मानवीयता लगभग महत्त्वपूर्ण थिएन।

समय समयमा केही सत्ताधारी व्यक्तिहरूले आफ्ना राजनीतिक अस्तित्व र शक्ति बचाउनको लागि क्रूर र अमानवीय निर्णयहरू गरे। सत्ताधारीहरूले स्वार्थका लागि जनताको अपमान गरे, नागरिकहरूलाई दबाउनका लागि मनोवैज्ञानिक हमला गरे। यस्ता मानसिकता र स्वार्थका उदाहरणहरू नेपालमा प्रचुर मात्रामा देखिएका छन्, जसमा सत्ता कायम राख्नका लागि जनताको पीडालाई बेवास्ता गरिएको छ।

इतिहासले हामीलाई बारम्बार सिकाइरहेको छ, अन्यायको सामना गर्दै पनि हामी मौन बस्छौं, हामी आफैं त्यस अन्यायको भाग बनिरहेका हुन्छौं। सत्ता र शक्तिको मोहमा आत्मसम्मान गुमाउनेहरूलाई इतिहासले बिर्सिन्छ, तर सत्यको पक्षमा उभिनेहरूलाई समयले अमर बनाउँछ।

कतिपयका लागि सत्ता सुरक्षा हो, अवसर हो, सिधा बाटो हो। तर, यही सत्ता कहिलेकाहीं आत्मसम्मानको सौदाबाजीमा बदलिन्छ ! सत्ताको चरणमा लम्पसार पर्नेहरूमध्ये कति जना साँच्चै गर्व गर्न सक्छन् आफूलाई? आत्मसम्मान नै सम्झौतामा परिणत हुँदा के त्यसलाई उपलब्धि भन्न मिल्छ?

नेपथ्यमा थिचिएका आवाजहरू, आत्मसम्मानलाई जेलभित्र कैद गर्दै बुनेका सपना, शक्तिको झूटो चकचकमा हराउँदै गएका विचारहरू यी सबै हाम्रो सामूहिक मौनताको परिणाम हुन्। जब सत्ताले अन्याय गर्छ, तर हामी मौन बस्छौं, तब त्यो अन्याय मात्र बलियो बन्दैन, हामी आफैं त्यस अन्यायको हिस्सेदार बनिदिन्छौं।

अब प्रश्न एकदमै स्पष्ट छ, हामी को हौं? सत्ता अघि घुँडा टेक्नेहरू? कि सत्यका लागि लड्नेहरू?

शक्तिको मोहमा हराउँदै गएका चेतनाहरू हाम्रो निरीह सहमतिको उपज हुन्। झूटो जालोमा कैद भएका विचारहरू हाम्रो सामूहिक मौनताको नतिजा हुन्। शक्तिको मृगतृष्णामा हराएका सोचहरू हाम्रो निष्क्रियताको गहिरो छायाँ हुन्। उज्यालोमा मेटिएका सत्यहरू, दमनको नतिजा मात्र हुन्।

सत्ता कहिल्यै स्थायी हुँदैन, तर आत्मसम्मान यदि भ्रष्ट आस्थाको प्रतिबिम्ब जस्तो बन्यो भने, त्यसको पुनः प्राप्ति सम्भव हुँदैन। अब पनि हामी मौन बस्ने कि आत्मसम्मानको पक्षमा उभिने? निर्णय हाम्रो हातमा छ। शक्तिको माया र भ्रममा हराएका विचारहरू हाम्रो सामूहिक मौनताको नतिजा मात्र हुन्, जुन हामीले समेट्नुपर्छ।

(लेखक क्रान्तिशिखा मनोसामाजिक परामर्शदाता तथा रास्वपा केन्द्रीय समिति सदस्य हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?