७ फागुन, काठमाडौं । आयोजक गौरीगंगा ११ लाई पराजित गर्दै कर्णाली प्रदेश फुटबल एसोसिएसनले जय पृथ्वीबहादुर सिंह गौरीगंगा फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
कैलालीको धनगढीस्थित गौरीगंगा ११ स्पोर्ट्स क्लबमा बुधबार सम्पन्न खेलमा कर्णालीले ३–१ को जित निकालेको हो। कर्णालीको जितमा विवेक बिसी, नवीन ओली र गणेश पुलामीले १-१ गोल गरे। गौरीगंगाका सुदीप सुनारले गरेको गोल सान्त्वना रह्यो।
खेलमा सुरुआती अग्रता भने गौरीगंगाले लिएको थियो। सुदीपले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। तर, उक्त अग्रता कायम राख्न सकेन।
दोस्रो हाफमा कर्णालीले सुधारिएको प्रदर्शन गर्दै खेलमा पुनरागमन गर्न सफल भयो। ६३औं मिनेटमा विवेकले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। त्यसपछि भने गौरीगंगा खेलमा सम्हालिन सकेन।
नवीनले ७७औं मिनेटमा गोल गर्दै कर्णालीलाई २–१ को अग्रता दिलाए। दोस्रो हाफको इन्जुरीको समयको दोस्रो मिनेटमा गणेशले अर्को गोल थप्दै कर्णालीलाई अन्तिम चारमा पुर्याए।
योसँगै कर्णाली सेमिफाइनलमा प्रवेश गरेको छ। गौरीगंगा भने पहिलो खेलबाटै बाहिरिएको छ। कर्णालीले फाइनल प्रवेश गर्न अब मधेश प्रदेशको नव जागृती युवा क्लब र सुदूरपश्चिम फुटबल एसोसिएसनबीचको विजेतासँग खेल्नेछ। यी दुईबीचको खेल बिहीबार हुनेछ।
प्रतिक्रिया 4