
७ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी बैठकमा ‘न्यायको प्रस्ताव’ राखेका छन् ।
बुधबार बसेको स्थायी कमिटी बैठकमा पूर्वप्रधानमन्त्री खनालले अनेरास्ववियू र युवा संघ नेपालबारे पार्टीले लिएको निर्णय सच्याउन माग गरेका हुन् ।
‘कसैमाथि पनि अन्यायपूर्ण निर्णय गरिनु हुन्न, गल्ती भएको छ भने सच्याएर जानुपर्छ । अनेरास्ववियू र युवा संघमा भएको अन्यायबारे समाधान खोजौं’, खनालको प्रस्ताव थियो ।
बैठकमा एक सहभागीका अनुसार पार्टीलाई एकताबद्ध बनाएर लैजान पनि अनेरास्ववियू र युवा संघको निर्णय सच्चिनुपर्ने खनालको प्रस्ताव छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालले गत १४ माघमा जारी गरेको अन्तरपार्टी निर्देशन–४ बाट अनेरास्ववियूका अध्यक्ष आरती लामा र युवा संघ नेपालका अध्यक्ष कृष्णकुमार विश्वकर्मा पदमुक्त गरिएका छन् ।
अपानिबाट गुमेकोप्रति लामा र विश्वकर्माले सार्वजनिक रुपमै असन्तुष्टि जनाएका छन् । अनेरास्ववियूमा समानान्तर कमिटी घोषणाकै तयारी थियो । तर पूर्वप्रधानमन्त्री खनालले समानान्तर कमिटी बन्ने दुर्घटना आफूले रोकेका बताएका थिए ।
अनेरास्ववियूमा समानान्तर कमिटी बनाउन ५ फागुनमा लामा पक्षधर विद्यार्थीहरूको भेला भएको थियो । त्यो भेलामा पूर्वप्रधानमन्त्री खनाल आफैं प्रमुख अतिथि थिए ।
तर पार्टी बैठकमा कुरा राख्ने विश्वास दिलाउँदै तत्काल समानान्तर कमिटी नबनाउन खनालले निर्देशन दिएका थिए ।
समानान्तर भेलामा विद्यार्थी नेताहरूलाई दिएको विश्वास बमोजिम सम्माति नेता खनालले पार्टी बैठकमा फरक प्रस्ताव नै प्रस्तुत गरेका छन् । भोलि, बिहीबारदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकमा आफ्नो प्रस्तावमाथि छलफल गरिनुपर्ने खनालको माग छ ।
६ पृष्ठको फरक प्रस्तावमा खनालले युवा संघ र अनेरास्ववियूमा देखिएको समस्यालाई पार्टी नेतृत्वकै कमजारीसँग तुलना गरेका छन् । सबै केन्द्रीय सदस्यलाई बाँडिएको प्रस्तावमा पार्टी सञ्चालन प्रक्रियाको त्रुटि सम्झाउन खोजिएको छ ।
विशेषगरी दशौं राष्ट्रिय महाधिवेशन पश्चात पार्टी टिके प्रथा हाबी भएको खनालको निष्कर्ष छ ।
‘यो अवस्थामा फेरि टिके प्रथा, ठाडो बर्खास्ती, ठाडो नियुक्ति गर्ने, मन नपर्नेलाई हटाउने, मन परेकालाई ठाडो नियुक्ति गर्ने, छदाँ खाँदाका कमिटीहरू विघटन गर्ने, उनीहरूका सम्मेलन र अधिवेशन गर्न नदिने …. ,’ खनालको प्रस्तावमा भनिएको छ, ‘संगठनका साथीहरूमा विभाजन ल्याउने तरिका भनेको गुटबन्दीपूर्ण, विभाजनकारी र विघटनकारी तरिका हो । हाम्रो पार्टीले यस्ता तरिकाको दृढतापूर्वक विरोध र अस्वीकार गर्नुपर्छ । यो निरकुंश तरिका हो, यो नोकरशाही तरिका हो ।’
नेता खनालले पार्टीमा देखिएको यस्तो शैलीलाई जनवाद विरोधी संस्कृति भनेका छन् ।
‘आजको युगमा यस्ता तरिका चल्दैनन्, यो स्वीकार्य हुँदैन र त्यस्ता तरिकाले पार्टी पनि चल्दैन र जनसंगठन अरु पनि चल्दैन । पार्टीले यो कार्यशैली र निर्णय गर्ने तरिका सच्याउनुपर्छ’, प्रस्तावमा लेखिएको छ ।
पार्टी सञ्चालनको प्रणाली बदलिएको समाज बमोजिम हुनुपर्ने तर्क खनालले गरेका छन् । थालनि अनेरास्ववियूमा भएको गल्ती सच्याएर थाल्नुपर्ने प्रस्तावमा नेता खनालले लामै विवरण प्रस्तुत गरेका छन् ।
फरक प्रस्तावमा अनेरास्ववियू र युवा संघमा न्यायको कुरा उठाएका खनालले मंगलबारको स्थायी कमिटी बैठकमा भने आफैंलाई न्याय मागेका थिए । खनालले विधान प्रतिवेदन सच्याउनुपर्ने माग राखेर एकप्रकारले विद्रोह गरे ।
नेताहरूका अनुसार विधान प्रतिवेदनको व्यवस्थामा असन्तुष्टि जनाएर उनले पदाधिकारीहरू बसेको लहरमै नजाने अडान लिए ।
तर अरू नेताले सहमत गराएर खनालाई अध्यक्ष माधवकुमार नेपालसँगै राखे । सम्मानित नेताको पदबारे विधानमा उल्लेख गरिएको व्यवस्थाप्रति खनालको असहमति थियो ।
‘महाधिवेशनले पारित गरेको भन्दा फरक व्यवस्था राखेर विधान प्रकाशन भयो, म महाधिवेशनबाट आएको हो कि होइन ?’, खनालको तर्क थियो ।
वरिष्ठ नेता वेदुराम भुसालको नेतृत्वमा तयार विधान प्रतिवेदन मस्यौदामा सम्मानित नेता र वरिष्ठ नेता पनि महाधिवेशनबाटै आउने व्यवस्था राखिएको खनालले बताएका थिए ।
यद्यपि वरिष्ठ नेता भुसालले भने महाधिवेशनबाट पारित विधानमा कुनै परिवर्तन नगरिएको प्रष्टोक्ति दिएका थिए । ‘तपाईंले बिर्सिनुभयो कमरेड, सम्मानित नेता र वरिष्ठ नेता पदमा त चुनाव हुँदैन, त्यसैले केन्द्रीय कमिटीबाट चयन गर्ने भन्ने प्रस्ताव राखिएको हो’, भुसालले भनेका थिए ।
बरू खनालले राखेका प्रस्ताव चाहिँ विधानमा उल्लेख गरिएको पनि भुसालले बताएका थिए । ‘विधानको प्रस्तावनाबाट जनताको बहुदलीय जनवाद हटाऔं भन्नुभयो, त्यो हटेको छ । अनि निर्वाचन क्षेत्रीय कमिटीलाई कार्यकारी बनाउनुपर्छ भन्ने प्रस्ताव ल्याउनुभएको थियो, त्यो थपिएको छ’, भुसालले भनेका थिए ।
भुसालका अनुसार महाधिवेशनका बेला विधान प्रतिवेदन टुंग्याउन शीर्ष सात नेता बसेका थिए । ती सात जनामा सम्मानित नेता खनाल पनि एक थिए । अरु नेताहरुमा माधव नेपाल, घनेन्द्र बस्नेत, प्रमेश हमाल, वेदुराम भुसाल, राजेन्द्र पाण्डे र घनश्याम भूसाल थिए ।
तर खनालले भने विधान लेख्दाखेरी कसैको पनि अपमान र अन्याय हुनेगरी लेखिन नहुने बताएका छन् । यदि त्यस्तो अवस्था आउनु भनेको विद्रोहको उद्देश्य बिपरीत रहेको खनालको निष्कर्ष छ । ‘… हामीले किन एमालेबाट विद्रोह गरेका थियौं, यहाँनेर नेतृत्वले मुटु छामेर सम्झना गर्नुपर्छ’, फरक प्रस्तावमा खनालले भनेका छन् ।
प्रतिक्रिया 4