७ फागुन, काठमाडौं । आयोजक नखिपोट युवा क्लबले खुला बास्केटबल प्रतियोगिताको पहिलो दिन बुधबार पुरुषमा विजयी सुरुवात गरेको छ ।
क्लबसँगै नेपाल लोकतान्त्रिक खेलकुद संघ, ललितपुरको संयुक्त आयोजनामा भएको नखिपोटमा भइरहेको प्रतियोगितामा नखिपोटले आईएसए नेपाललाई ७६–७१ ले पराजित गर्यो । विजयी टिमका लागि सुविन श्रेष्ठले २१ अंक जोडे ।
पुरुषकै अर्को खेलमा टाइम्सले बौद्धलाई ८६–६४ ले हरायो । टाइम्सका लागि श्रेयसबहादुर सानले २९ अंक जोडे । महिलामा कीर्तिपुरले आईएस नेपाललाई ५२–४९ ले पाखा लगायो । विजेताकी झर्ना वज्राचार्यले १९ स्कोर गरिन् ।
पुरुषतर्फ १५ र महिलामा ३ टिम सहभागी छन् । पुरुषको खेल नकआउट आधारमा हुनेछ । महिलामा सहभागी टिमबीच पहिले राउन्ड रोविन लिग र त्यसपछि शीर्ष २ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक विनोद श्रेष्ठले जनाएका छन् ।
पुरुषमा पहिलो हुनेले १ लाख र दोस्रोले ५० हजार नगद पुरस्कार पाउने छन् । महिलाको उपाधि विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
दुवै समूहको ‘मोस्ट भेलुएबल प्लेयर’ लाई समान २०–२० हजार तथा उदीयमान खेलाडीलाई समान १०–१० हजार नगदसहित गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।
फाइनल आइतबार हुनेछ ।
प्रतिक्रिया 4