+

के उच्च रक्तचाप र मधुमेह भएका व्यक्तिले रक्तदान गर्न सक्छन् ?

२०८१ फागुन  ८ गते १८:५४ २०८१ फागुन ८ गते १८:५४
Shares
के उच्च रक्तचाप र मधुमेह भएका व्यक्तिले रक्तदान गर्न सक्छन् ?

उच्च रक्तचाप र मधुमेह भएकाले रक्तदान गर्न मिल्छ ? यी दुई समस्याले रक्तदान गर्दा स्वास्थ्यमा असर त पार्दैन ? रक्तदान गर्न चाहने यी समस्या भएका अधिकांशले प्राय सोध्ने प्रश्न हो यो।

नेपाल रेडक्रस सोसाइटीका अनुसार नेपालमा हरेक वर्ष करिब ५ लाख युनिट रगत आवश्यक पर्छ। जसको परिपूर्तिका लागि सहयोग पुर्‍याउन स्वस्थ व्यक्तिहरूले स्वेच्छिक रक्तदान गर्छन्।

तर, उच्च रक्तचाप र मधुमेह भएकाले गर्न सक्छन् वा सक्दैनन् भन्ने कुरा उनीहरुको स्वास्थ्य अवस्थामा भरपर्छ । तर, नेपालको मापदण्डमा यी दुवै अवस्थामा रक्तदान वर्जित गरिएको छ ।

के वास्तवमै उच्च रक्तचाप भएमा रक्तदान गर्न मिल्दैन ?

उच्च रक्तचाप भनेको रक्तचाप सामान्य भन्दा उच्च हुनु हो, जसले मुटु र रक्तनलीमा असर पुर्‍याउन सक्छ । तर, सन्तुलित रक्तचाप भएका व्यक्तिले रक्तदान गर्न सक्छन्।

नेपालको रक्तसञ्चार सेवा व्यवस्थापन सम्बन्धी राष्ट्रिय निर्देशिका अनुसार रक्तचाप माथिल्लोमा १००/60 भन्दामुनि छ भने रक्तदान गर्न मिल्दैन।

तर, अन्तर्राष्ट्रिय मापदण्डले भने रक्तचाप भए पनि औषधि खाइरहेको र नियन्त्रणमा छ भने रक्तदान गर्न मिल्ने उल्लेख छ । र, त्यहाँ नियन्त्रण भएको अवस्थामा रक्तदान गर्न दिइन्छ।

नेपालमा पनि चिकित्सक भएको स्थानमा सो अवस्थामा अन्तर्राष्ट्रिय अभ्यास नै गरेको देखिन्छ । बाहिर यो अभ्यास भइरहेको र उच्च रक्तचाप नियन्त्रणमा रहँदा खासै जोखिम पनि नपर्ने हुँदा नेपालको पनि मापदण्डमा थोरै फेरबदल आवश्यक छ।

कुन अवस्थामा गर्नै मिल्दैन ?

यदि रक्तचाप १6०/१०० भन्दा माथि छ, रक्तचाप नियन्त्रण गर्न नसकिएको अवस्थामा र सोही कारणले मुटुमा समस्या देखिएको अवस्थामा रक्तदान गर्न हुँदैन ।

त्यस्तै, बिटा ब्लकर भन्ने उच्च रक्तचापको औषधि खाइरहेको अवस्थामा पनि रक्तदान गर्न प्रतिबन्ध लगाइएको छ ।

अनियन्त्रित हुँदा गर्न नमिल्ने कारण

रक्तचाप अनियन्त्रित भइरहेको अवस्थामा रक्तदान गरेमा रगत आवश्यकभन्दा बढी श्राव भइरहने जोखिम हुन्छ । टाउको झमभमाएर रिँगटा लाग्ने, गाह्रो अनुभव हुने र बेहोस हुने हुनसक्छ।

मधुमेह भएकोले रक्तदान गर्न सक्छन् ?

उच्च रक्तचाप जस्तै मधुमेह भएको अवस्थामा पनि सो कुरा लागू हुन्छ । मधुमेह एक दीर्घकालीन स्वास्थ्य समस्या हो, जसमा शरीरले रगतमा ग्लुकोजको मात्रा सन्तुलित राख्न सक्दैन।

मधुमेहका बिरामीलाई रक्तदान गर्न हुन्छ कि हुँदैन भन्ने कुरा उनीहरूको स्वास्थ्य अवस्था र मधुमेह नियन्त्रणमा छ कि छैन भन्नेमा निर्भर रहने अन्तर्राष्ट्रिय मापदण्डले भन्छ।

कुनै जटिलता (जस्तैः आँखा, मिर्गौला वा नसामा समस्या) देखा परेको छैन, औषधि खाएको र नियन्त्रणमा छ भने रक्तदान गर्न मिल्ने उल्लेख छ।

तर, नेपालको सन्दर्भमा भने मधुमेह भइसकेको व्यक्तिलाई रक्तदान गर्न दिइँदैन । किनभने रक्तदान एक विशेष अस्पतालमा मात्र हुँदैन। दुर्गमदेखि सुगम ठाँउ, स्वास्थ्य वा जहाँ पनि हुने गर्छ । यस्तोमा ब्लड सुगर लेभल एकैपटक न्यून हुनसक्छ । जसले सो व्यक्तिलाई नै सुगर लेभल थाहा नहुनसक्छ । सन्तुलनमा नरहन सक्छ । जसकारण मधुमेह भएकोले रक्तदान नगर्नु नै उचित हुन्छ।

कुन अवस्थामा रक्तदान गर्न मिल्दैन ?

यदि मधुमेह प्रभावित व्यक्ति इन्सुलिनमा निर्भर छ । टाइप १ मधुमेह, जटिल खालको टाइप २ मधुमेह छ, आँखा, मिर्गौला वा नसासम्बन्धी समस्या देखापरेको वा हाइपोग्लाइसेमिया (रगतमा चिनीको स्तर असामान्य रूपमा घटेर जाने) समस्या छ भने यस्तो अवस्थामा रक्तदान गर्न मिल्दैन ।

अमेरिकन रेडक्रस सोसाइटीले पनि मुखबाट खाने औषधिमार्फत् मधुमेह नियन्त्रण गरिरहेका व्यक्तिले रक्तदान गर्न सक्ने, तर, इन्सुलिनमा निर्भर मधुमेहका बिरामीलाई रक्तदान गर्न नमिल्ने उल्लेख गरेको छ।

अनियन्त्रित मधुमेहमा रक्तदान गर्दा हुने जोखिम

यदि मधुमेह अनियन्त्रित भइरहेको अवस्थामा रक्तदान गरेमा व्यक्तिलाई हाइपोग्लाइसेमियामा जानसक्छ । यो भनेको रगतमा ग्लुकोजको अवस्था न्यून भई बेहोस वा अवचेतन हुने अवस्था हो।

मधुमेह र उच्च रक्तचाप भएका व्यक्तिले रक्तदान गर्नुअघि र गरेपछि केही सावधानीहरू अपनाउन आवश्यक छ।

नेपालको रक्तदान सम्बन्धी मापदण्ड परिमार्जन जरुरी

रक्तचाप नभएको व्यक्ति आजभोलि भेटिन मुस्किल पर्ने भइसकेको छ । व्यस्त जीवनशैली, बिलासी जीवन र अस्वस्थकर खानपानको प्रतिफल आजकाल ३५ उमेर पार गरेपछि उच्चरक्तचापको समस्या प्रायलाई देखिन्छ । यस्तोमा उच्चरक्तचाप भएकालाई रक्तदान गर्न प्रतिबन्ध लगाउने हो भने रक्तदाता नै नभेटिने अवस्था हुनसक्छ । वा, भएकाले दिएको रगतले आवश्यक परेकालाई पुर्‍याउन कठिन हुनसक्छ।

त्यसैले, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), युरोपियन र भारतीय मापदण्डमा समेत उच्च रक्तचाप नियन्त्रण भएको र औषधि खाएको अवस्थामा रक्तदान गर्न कुनै समस्या छैन। उनीहरुले रक्तदान गर्न मिल्ने व्यवस्था छ । जुन नेपालले पनि पछ्याउन पर्ने देखिन्छ।

त्यस्तै, मधुमेह भएको हकमा भने क्याम्पहरूमा उनीहरुले रक्तदान गर्दा कुनै समस्या भइहाले उपचार गर्ने जनशक्ति वा अस्पताल तत्काल नपाउने हुँदा प्रतिबन्ध लगाउन उचित हुन्छ । तर, चिकित्सकको निगरानीमा अस्पताल वा ब्लड बैंकमै गएर मधुमेह नियन्त्रणमा रहेको परीक्षणले पुष्टी गरेको खण्डमा रक्तदान दिन मिल्ने व्यवस्था मापदण्डमा राख्नुपर्ने देखिन्छ।

रक्तदान गर्नुअघि अपनाउनु पर्ने सावधानी

-रक्तदान गर्नु अघि रक्तचाप र रक्तमा ग्लुकोजको स्तर जाँच गर्नुपर्छ । यो परीक्षणको प्राय रक्तदान गर्ने क्षेत्रमा व्यवस्था गरिएको हुन्छ ।

-कहिलेकाहीँ भीडभाडमा स्वास्थ्यकर्मीले औषधि लिएको÷नलिएको सोध्न बिर्सिन पनि सक्छन् । यस्तोमा सोध्न र्बिसिए पनि मधुमेह र उच्च रक्तचापका बिरामीले प्रयोग गरिरहेको औषधिबारे जानकारी गराउनुपर्छ।

-रक्तदानअघि र पछि शरीरमा पानीको मात्रा सन्तुलित राख्न पर्याप्त पानी पिउनु आवश्यक छ।

-रक्तदानपछि १५ देखि ३० मिनेटसम्म आराम गर्नुपर्छ।

उच्च रक्तचाप रक्तदान
डा. विपिन नेपाल
लेखक
डा. विपिन नेपाल
ट्रान्सफ्युजन मेडिसिन विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ९५२० एमबीबीएस, एमएस इशरत उल इबाद खान संस्थानमा मेडिकल अफिसर तथा सिफ्ट इन्चार्ज डाउ सेफ ब्लड ट्रान्सफ्युजन परियोजनामा सहसंयोजक, ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको ट्रान्सफ्युजन मेडिसिन विभाग प्रमुख, त्रिवि लायन्स ट्रान्सफ्युजन सेवा तथा अनुसन्धान केन्द्रका निर्देशक तथा विराट मेडिकल कलेजका प्राध्यापक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

वास्तवमै कुकुरले बालबालिकाको प्रतिरक्षा प्रणालीमा सहयोग गर्छ ?

वास्तवमै कुकुरले बालबालिकाको प्रतिरक्षा प्रणालीमा सहयोग गर्छ ?

के उच्च रक्तचाप र मधुमेह भएका व्यक्तिले रक्तदान गर्न सक्छन् ?

के उच्च रक्तचाप र मधुमेह भएका व्यक्तिले रक्तदान गर्न सक्छन् ?

प्रशामक हेरचाह सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

प्रशामक हेरचाह सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

स्वास्थ्य मन्त्रालयले हरेक शुक्रबार भिडियो ब्रिफिङ गर्ने

स्वास्थ्य मन्त्रालयले हरेक शुक्रबार भिडियो ब्रिफिङ गर्ने

६ गल्ती, जसले बढाउँछ मुटुरोगको जोखिम

६ गल्ती, जसले बढाउँछ मुटुरोगको जोखिम

शल्यक्रियापछि एक महिनादेखि बेहोस बबिता, श्रीमान् भन्छन्– अब उपचार गर्ने पैसा छैन

शल्यक्रियापछि एक महिनादेखि बेहोस बबिता, श्रीमान् भन्छन्– अब उपचार गर्ने पैसा छैन