+
+
Shares

धनगढीमा सिप तथा रोजगार मेला सुरु, उद्योगमन्त्रीले गरे उद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ८ गते १७:०२

८ फागुन, धनगढी । धनगढीमा सिप तथा रोजगार मेला सुरु भएको छ । धनगढी उपमहानगरपालिकाको आयोजनामा बिहीबारदेखि सुरु भएको मेलाको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गरेका छन् ।

मेलाको उद्घाटन गर्दै मन्त्री भण्डारीले एउटा मात्र स्थानीय तहले तालिम मात्रै सञ्चालन गरेर देशमै रोजगार र स्वरोजगारी सिर्जना गर्न नसकिने बताए ।

संघीय सरकारले एकीकृत सिपमूलक तालिम एकीकृत रूपमा प्रदान गर्न छुट्टै मन्त्रालय खडा गर्न आवश्यक रहेको बताए ।

‘अबको युग भनेको दक्ष जनशक्ति उत्पादनको युग हो । कुनै एउटा स्थानीय तहले मात्र तालिम लिएर पुग्दैन,’ भण्डारीले भने, ‘अब संघीय सरकारले यस्ता तालिमहरू एकीकृत रूपमा मन्त्रालय नै खडा गरेर गर्नुपर्छ, यसमा मेरो मन्त्रालयले पहल गर्छ ।’

देशको समृद्धिका लागि बाधक देखिएका ऐन कानुनहरू परिवर्तन गर्न सरकारले ल्याएका अध्यादेशको विरोध गर्नुको कुनै तुक नरहेको उनको भनाइ थियो ।

‘विकास निर्माणका लागि पुराना ऐनहरू छन् । ती ऐनहरूले गर्दा काम गर्न चाहने निकायले समयमा काम गर्न पाएको छैन । काम नै गर्न नपाएका कारण समयमा बजेट कायान्वयन हुँदैन । यही कारणले जनताले विकासको अनभूति गर्न पाएका छैनन्,’ उनले भने, ‘छिटो छरितो काम गर्न, भ्रष्टाचार नियन्त्रण गरेर शुसासन कायम गर्नका लागि अध्यादेशहरू ल्याइएका छन्, हामीले कुनै दल फुटाउन अध्यादेश ल्याएका छैनौं, तर पनि समृद्धिका लागि गरिएका प्रयासको पनि विरोध किन ? ’

सिप तथा रोजगार मेलामा झन्डै ११ सय जना युवाले विभिन्न २९ विधाको एक महिने तालिम लिनेछन् । तालिम पश्चात उनीहरूको सिप परीक्षण गरी रोजगारदाताकै उपस्थितिमा रोजगारीको ग्यारेन्टी गरिने उपमहानगरले जनाएको छ ।

नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ सुदूरपश्चिमको प्राविधिक सहयोगमा सञ्चालित मेलामा प्रदेशका ९ वटै जिल्लाका ३९ स्थानीय तहबाट एक हजार ४० जनालाई विभिन्न विधामा तालिम प्रदान गरिनेछ ।

३० दिन विभिन्न विधामा सिपमूलक तालिम, ५ दिनसम्म जीवन उपयोगी र उद्यमशीलता विकास सम्बन्धी तालिम दिइनेछ भने २ दिन रोजगारदाता र तालिमप्राप्त युवाबीच अन्तक्रिया गरिने उपमहानगरले जनाएको छ ।

आयोजकका अनुसार मेलामा अटोमोबाइल, निर्माण, आथित्य/सत्कार, इलेक्ट्रिकल र मेकानिकल, सूचना प्रविधि, शैक्षिक, स्वास्थ तथा सौन्दर्य, आर्ट एन्ड क्राफ्ट डिजाइनिङ विधामा सिप सिकाइनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?