
८ फागुन, काठमाडौं । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइया टोलकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदायको मृत्यु प्रकरणमा पूरक जाहेरी परेको छ ।
यसअघि स्थानीय एक युवक रुपेश मण्डलविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिएको परिवारले अहिले थप व्यक्तिलाई प्रतिवादी बनाउँदै बलात्कारको कसुरमा अनुसन्धान गर्नुपर्ने माग राखेर पूरक जाहेरी दिएको सिरहा प्रहरीले जनाएको छ ।
मधेश प्रदेशका डीआईजी लालमणि आचार्यले पनि पूरक जाहेरी आएको पुष्टि गरे । ‘आज पूरक जाहेरी आएको छ । हामीले अनुसन्धान अघि बढाएका छौं,’ डीआईजी आचार्यले अनलाइखबरसँग भने ।
प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धानको प्रक्रियालाई अघि बढाएको छ । उनका अनुसार बलात्कार आत्महत्या दुरुत्साहन गरी दुई कसुरमा जाहेरी आएको छ । जसमा यसअघि बलात्कारको आरोप लागेको भनिएका युवकदेखि छलफलमा सहभागीहरूलाई प्रतिवादी बनाइएको छ । अहिलेसम्म ७ जनाविरुद्ध जाहेरी आएको र उक्त जाहेरी दर्ता भएको डीआईजी आचार्यले अनलाइनखबरसँग भने ।
रिंकुकुमारी ३० माघ राति ७ बजेतिर आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । त्यो भन्दा अघिका घटनाक्रमले भने उनको मृत्यु शंकास्पद रहेको देखाएको थियो ।
आमा सीतादेवी र भाइ भुलासँग बस्दै आएकी रिंकुकुमारी २६ माघ राति करिब ९ बजेतिर शौच गर्न भनेर बाहिर निस्केकी थिइन् । तर ६ घण्टासम्म घर फर्किनन् । उनी २७ माघ बिहानीपख ३ बजेतिर रोइरहेको अवस्थामा घरबाहिर फेला परेकी थिइन् ।
६ घण्टा बेपत्ता भएर घर फर्केपछि उनले परिवारलाई आफूमाथि सामूहिक बलात्कार भएको बताएकी थिइन् । परिवारका सदस्यका अनुसार रिंकुले आफूलाई स्थानीय रुपेश मण्डल, टिंकु मण्डल र चन्दन साहेलाले बलात्कार गरेको दाबी गरेकी थिइन् ।
‘शौच गर्न गएका बेला तीन जनाले उठाएर बाँसघारीमा लगेर सामूहिक बलात्कार गरे,’ रिंकुले त्यसबेला भनेको उनका परिवारका सदस्य बताउँछन् ।
आफूमाथि बलात्कार भएको बताएकी दलित समुदायकी रिंकु टिनले छाएको आफ्नै ‘भुईं घर’ मा झुन्डिएको अवस्थामा ३० माघ राति ७:२० बजे मृत भेटिएकी थिइन् । सलले घाँटीमा पासो लगाएको अवस्थामा उनको शव फेला परेको थियो ।
मृत्यु हुनुअघि रिंकुले आफूमाथि सामूहिक बलात्कार भएको बताएपछि घटना सामसुम पार्न गाउँमै पञ्चायती सभा समेत बसेको थियो । घटना दबाउन २९ माघमा गाउँमा पञ्चायती बसेको थियो । पञ्चायती बसेको विषय पुष्टि भएको प्रहरीले जनाइसकेको छ ।
बलात्कारको विषय बाहिर आएपछि मधेश प्रदेशका एसएसपी शान्तिराज कोइरालाको नेतृत्वमा छानबिन समिति नै गठन गरिएको थियो । अहिले उक्त समिति पीडित किशोरीको गाउँमा गएर अनुसन्धान गरिहरेको छ । समितिले पनि मध्यराति भएको घटना दबाउन पञ्चायती बसेको र रकममा बार्गेनिङ भएको विषयलाई पुष्टि गरेको छ । यद्यपी रकमको लेनदेन भने भइनसकेको समितिको भनाइ छ ।
घटना दबाउनका लागि पञ्चायती बस्नेहरू अधिकांशजसो फरार भएका छन् । यता आरोपित भनिएका युवकहरू पनि फरार छन् ।
पञ्चायती बसेको विषय प्रहरीले पुष्टि गरे पनि कति जना छलफलमा बसेका थिए भन्नेबारे यकिन गर्न सकेको छैन । पीडित परिवारले धेरै व्यक्ति बसेको मात्रै बताउने गरेकाले यकिन कति जना छलफलमा सहभागी थिए भन्ने यकिन हुन बाँकी रहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया 4