+
+
Shares
अभिनेत्री आशा मगरातीसँग ‘राजागञ्ज’ संवाद :

‘मलाई क्यान्सर हुँदा पनि राजागञ्जको काम पूरा गरेरै छाड्यौं’

कुरा सुरु भयो फिल्म छायांकनअघि पहिचान भएको थाइराइड र ब्रेस्टको क्यान्सरबाट । ८ वर्षदेखिको स्वप्न प्रोजेक्ट ‘राजागञ्ज’ छायांकनअघि जब उनमा क्यान्सर डायग्नोस भयो, छायांकन तयारी सबै रोकियो । अनिश्चितताबीच आशाको आत्मबल र इच्छाशक्तिले छायांकनलाई रोक्न सकेन ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ८ गते १८:०३

काठमाडौं । संख्यामा थोरै तर अर्थपूर्ण र बलिया दृश्यभाषाका फिल्ममार्फत अभिनेत्री आशा मगराती दर्शकमाझ परिचित छिन् । ‘हाइवे’, ‘सेतो सूर्य’, ‘फोर नाइट्स’ हुँदै ‘राजागञ्ज’सम्म आइपुग्दा आशालाई पछ्याउनको संख्या ठूलो छ ।

‘राजागञ्ज’ किनपनि खास छ भने यसमा उनी पहिलोपटक शीर्ष भूमिकामा देखिँदैछिन् । यत्ति मात्र होइन, फिल्मलाई पूर्णता दिन उनले लड्नुपरेको क्यान्सरसँगको लडाइको कथा निकै मार्मिक छ । क्यान्सरलाई जितेर एउटा अब्बल फिल्म सिर्जना गर्ने कार्यमा आशाको संघर्ष धेरैका लागि प्रेरणादायी अवश्य हो ।

फिल्म प्रबर्द्धनलाई आशा यतिबेला नेपाली राजधानीमा छिन् । अमेरिकादेखि नेपाल आएकी उनी विभिन्न सहर घुमेर फिल्म प्रचार गरिरहेकी छिन् । गतसाता अनलाइनखबरसँगको स्टुडियोमा आउँदा उनी सँधैझैं आशावादी सुनिइन् ।

कुरा सुरु भयो फिल्म छायांकनअघि पहिचान भएको थाइराइड र ब्रेस्टको क्यान्सरबाट । ८ वर्षदेखिको स्वप्न प्रोजेक्ट ‘राजागञ्ज’ छायांकनअघि जब उनमा क्यान्सर डायग्नोस भयो, छायांकन तयारी सबै रोकियो । अनिश्चितताबीच आशाको आत्मबल र इच्छाशक्तिले छायांकनलाई रोक्न सकेन ।

यसबारे उनले भनिन्, ‘सुटिङलाई सबै तयारी भैसकेको थियो । उपकरण लिन अमेरिका गएका थियौं । एक सातामा फर्किएर छायांकन सुरु गर्नुपर्ने मान्छे चाहिँ डायग्नोसको कारण पूर्णतः रोकिएकैजस्तो भयो । अब कति समय लाग्छ भन्ने कुरामा हामी निश्चित थिएनौं ।’

उपचारपछि आफूमा धेरै परिवर्तन नआएको, आफूले हार पनि नखाएको र निर्देशक दीपक रौनियारले आँट दिएपछि आफू अघि बढेको आशाले सुनाइन् । ‘मैले हार पनि खाएको थिइँन । स्ट्रङ नै थिएँ । मलाई बलियो देखेर होला, निर्देशक दीपक रौनियारले छायांकनमा जाऔं भन्नुभयो । किनभने ८ वर्षदेखिको सपना थियो । त्यसमाथि पनि पहिलोपटक मेरो मुख्य क्यारेक्टर । छाड्ने कुरै भएन । जसरी भएपनि गर्छु भनेर आँट दिएपछि सुरु भयो ।’

औषधि र उपचारले शरिरमा पहिलेजस्तो एकनास नहुने उनको अनुभव छ । ‘शरिरमा पहिलेजस्तो नहुने रहेछ । कोही बेला पर्फेक्ट इनर्जी हुन्छ भने कोही बेला डाउन भैराखेको हुन्छ । अझै ५, १० वर्ष औषधि लिनुपर्ने हुन्छ । प्रत्येक ६ महिना स्क्यान गर्नुपर्ने हुन्छ । अरु बाँकी ठीक छु म ।’ अहिलेको सबै समय फिल्मलाई दिएको उनले बताइन् ।

‘यो सोसाइटीको कथा हो । मधेश आन्दोलनको कारणले पहाड र मधेशबीच मनमुटाव भएको थियो । गलत बुझाइको कारण गर्दाखेरी । पहाड र मधेशलाई पुलको रुपमा जोड्ने प्रयास गरेका छौं यो फिल्मद्वारा’ उनले भनिन् ।

‘राजागञ्ज’को वर्ल्ड प्रिमियर इटालीको भेनिस फिल्म फेस्टिभलमा भएको थियो, जहाँ यसले १० मिनेटको स्ट्यान्डिङ ओभेसन प्राप्त गर्‍यो । ‘भेनिसमा कस्तो प्रतिक्रिया आउने हो भनेर निकै उत्सुक थिएँ । १० मिनेटको स्ट्यान्डिङ ओभेसन पाउँदा खुसीको सीमा भएन । खुसीलाई नाप्नै सकिँदैन’ उनले भनिन्, ‘दुःख गरेर आएको फिल्मले दर्शकबाट त्यस्तो राम्रो रेस्पोन्स पाउँदाखेरी उत्साहित भयौं । दर्शक र समीक्षकले मेरो एक्टिङको प्रशंसा एकदमै गर्नुभएको थियो । त्यसले मलाई झनै खुसी बनायो ।’

कतिपय अन्तर्राष्ट्रिय क्रिटिकले अहिले अस्करको दाबेदार फिल्म ‘एमिलिया पेरेज’सँग यसलाई तुलना गरिरहेका छन् । कतिपयले हलिउडको थ्रीलर भनेका छन् । कतिपयले ‘प्यारासाइट’ निर्देशक दक्षिण कोरियाली निर्देशक बोङ-जुन होका फिल्मसँग तुलना गरिरहेका छन् । ‘थाहा छैन अस्करमा गइन्छ वा गइँदैन । तर, अस्करमा नोमिनेट भएको फिल्मसँग तुलना हुन पाउँदा त आफैले पाएजस्तो लाग्यो । आफैले अचिभमेन्ट पाएजस्तो भयो’ उनले भने ।

‘राजागञ्ज’ के हो त ? आशाको दृष्टिकोणमा ‘राजागञ्ज’ एउटा काल्पनिक सहर हो । ‘यो विभिन्न सहरको कथा हो । यसकारण छुट्टै नाम राखेको हो । जब दर्शकले फिल्म हेर्नुहुनछ अझ राम्रोसँग बुझ्नुहुन्छ’ उनले भनिन् ।

फिल्ममा मधेश आन्दोलन र अपहरणको कथाको पृष्ठभूमि समेटिएको आशाले बताइन् । ‘यो सोसाइटीको कथा हो । मधेश आन्दोलनको कारणले पहाड र मधेशबीच मनमुटाव भएको थियो । गलत बुझाइको कारण गर्दाखेरी । पहाड र मधेशलाई पुलको रुपमा जोड्ने प्रयास गरेका छौं यो फिल्मद्वारा’ उनले भनिन् ।

‘यसमा मेरो पनि कथा छ, तपाईं र सबैको कथा छ । बाउछोरी, आमाछोरा, समाजको कथा छ’ उनले भनिन् । फिल्ममा उनले पूजा नामक प्रहरी इन्सपेक्टरको भूमिका निर्वाह गरेकी छन् । ‘राम्रो काम गर्छु भनेर हिँडेको पात्र हो यो । किनभने सबै पुलिस एउटै हुँदैनन्’ उनले भनिन् ।

वास्तविक प्रहरी महिला अफिसरर र समाजका अन्य महिलासँगको अध्ययनको आधारमा पात्रहरू निर्माण गरेको उनले बताइन् । ‘समाजमा हामीले देखिरहेको कथा र महिला यसमा छन् । प्रायः हामीले बलिया महिलालाई अनदेखा गरिरहेका हुन्छौं । दीपक र मैले मिलेर लेखेका हौं । हाम्रा सबै फिल्ममा महिलाको बलियो क्यारेक्टर छ’ उनले भनिन् ।

‘हामीलाई जरुरी भएर यी पात्र राखेका हौं । पूजा भन्ने पात्रलाई कल्पना गरेर राखिएको भन्दा पनि अनुसन्धानको क्रममा बाहिर निकालेका हौं । यसका लागि हामीले प्रहरी अफिसरसँग समय बितायौं । थुप्रै महिला पुलिससँग कुरा गर्दा निकालिएको एउटा पूजा हो’ उनले चरित्र निर्माणबारे खुलाइन् ।

समाजका भएका महिला प्रहरी अफिसरको सम्मानको लागि पूजा पात्रलाई लिइएको आशाको भनाई छ । घरेलु फिल्मको ६ दशकको यात्रामा महिलाको चरित्र चित्रणप्रति सन्तुष्ट नभएको र अझै काम गर्न जरुरी रहेको आशाको भनाइ छ । ‘निश्चय नै, हामीले अझै धेरै काम गर्नुपर्नेछ । महिलालाई अभिमुख गरेर बनाइएका थोरै मात्र फिल्म छन् । महिलाको बारेमा कथा भनिएको र बलियो क्यारेक्टर बनाइएको फिल्म धेरै छैन । हामीले अझै काम गर्नुपर्छ, देखाउनुपर्छ’ उनले भनिन् ।

फोटो भिडियो : आर्यन धिमाल
दृश्य सम्पादन : नवराज महरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?