८ फागुन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक शुक्रबार नियमित भिडियो ब्रिफिङ गर्ने भएको छ । मन्त्रालयले फागुन ९ गतेबाट स्वास्थ्य सम्बन्धी गतिविधिबारे भिडियो ब्रिफिङ सुरु गर्न लागेको हो ।
हरेक शुक्रबार दिउँसो १:३० बजे भिडयो ब्रिफिङ हुने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।
डा.बुढाथोकीका अनुसार साताभर मन्त्रालयबाट भएका नीतिगत परिवर्तनका निर्णय, गतिविधि तथा स्वास्थ्य क्षेत्रका जानकारी समेटेर साप्ताहिक ब्रिफिङ गरिनेछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालय तथा स्वास्थ्य सम्बन्धी गतिविधि र सूचना नागरिकले बढी भन्दा बढी थाहा पाउने व्यवस्था मिलाउन भनेका थिए।
मन्त्रालयले सञ्चारमाध्यमका अलावा सामाजिक सञ्जालबाटसमेत यस्ता गतिविधि नियमित प्रसार गर्ने तयारी गरेको छ। कोभिडको समयमा मन्त्रालयले प्रत्यक्ष प्रसारण गरी कोभिड-१९ बारे दैनिक विवरण तथा जानकारी दिने गरेको थियो । दैनिकबाट सातामा एक पटक हुँदै उक्त कार्यक्रम बन्द गरिएको थियो।
स्वास्थ्य क्षेत्रमा भइरहेका काम, स्वास्थ्य सम्बन्धमा आवश्यक सूचना आदि नागरिकलाई नियमित रुपमा जानकारी गराउन भिडियो ब्रिफिङ शुरुवात गर्न लागिएको मन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ।
यसअघि मन्त्री पौडेलले नागरिकका गुनासा सम्बोधन गर्न हेल्लो स्वास्थ्य सञ्चालन गर्न गरेको निर्णय कार्यान्वयनमा आइसकेको छ । हेल्लो स्वास्थ्यले निःशुल्क हटलाइन नम्बर १११५, सामाजिक सञ्जाल तथा इमेलबाटसमेत नागरिकका गुनासा लिएर सम्बोधन गर्दै आइरहेको छ।
प्रतिक्रिया 4