+
+
Shares

केयूमा आवासीय चिकित्सकको आत्महत्या प्रयासबारे छानबिन सुरु

काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स (धुलिखेल अस्पताल) को एमडी पहिलो वर्षमा अध्ययनरत एक विद्यार्थीले आत्महत्याको प्रयास गरे पछि छानबिन सुरु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ८ गते २२:०३

८ फागुन, काठमाडौं । काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स (धुलिखेल अस्पताल) को एमडी पहिलो वर्षमा अध्ययनरत एक विद्यार्थीले आत्महत्याको प्रयास गरेको विषयमा छानबिन सुरु भएको छ ।

स्कुल अफ मेडिकल साइन्सका डिन डा. मनोज हुमागाईंका अनुसार आवासीय चिकित्सक समेत रहेकी उनले गत ४ फागुन (आइतबार) मा आत्महत्याको प्रयास गरेकी थिइन् । ‘औषधिको ओभरडोज रहेछ । धुलिखेलमै उपचार भयो । अवस्था सामान्य बनेपछि आईसीयूबाट वार्डमा सारेर पनि आज (बिहीबार) डिस्चार्ज भयो,’ डा. हुमागाईंले भने ।

सामाजिक सञ्जालमा मनोचिकित्सा विभागका प्राध्यापकबाट यातना दिएको विषय उठिरहेको छ । तर, के कारणले उनी यो स्थितिमा पुगिन् भन्नेबारे पहिचान भएको छैन ।

‘उहाँ मनोचिकित्सा नै पढिरहनुभएको छ । प्राध्यापकबाट केही भएको हो वा होइन उहाँसँग कुरा गरेका छैनौं । स्वास्थ्य ठीक भएपछि जे भएको हो त्यो म सँग राख्न भनेको छु,’ डिन हुमागाईंले भने, ‘सामाजिक सञ्जालमा आएकै आधारमा कसैलाई कारबाही गर्ने भन्ने हुँदैन । लिखित रूपमा कुनै उजुरी पनि आएको छैन ।’

डिन हुमागाईंका अनुसार आत्महत्याको प्रयास गरेकी आवासीय चिकित्सकले आफू ठीक रहेको र कसैलाई आरोप लगाउनु आफ्नो उद्देश्य नरहेको बताएकी छन् ।

मनोचिकित्सा विभागका विषयमा प्रश्न उठेपछि विभागका प्राध्यापकलाई पनि विद्यार्थीको भावना बुझेर पढाउन निर्देशन दिइएको डिन हुमगाइँले बताए ।

‘साइकोलोजीको विभाग हो । हामीले भन्दा उहाँहरूले बढी बुझ्नुहुन्छ । विभागका सबैलाई राखेर अहिलेको पुस्ताको भावना बुझेर पढाउन निर्देशन दिएका छौं,’ उनले भने ।

डिन हुमागाईंका अनुसार आत्महत्याको प्रयास गरेकी आवासीय चिकित्सकले पनि आफू ठीक रहेको र कसैलाई आरोप लगाउनु आफ्नो उद्देश्य नरहेको बताएकी छिन् । ‘दुईपटक भेटेर कुरा गरेको छु । केही दिन आराम गरेर फर्किने भन्नुभएको छ,’ उनले भने ।

घटनाको अध्ययन सुरु

काठमाडौं विश्वविद्यालय स्कूल अफ मेडिकल साइन्स फ्याकल्टी काउन्सिलले पनि घटनाबारे अध्ययन सुरु गरेको छ । ‘उहाँहरूले किन त्यस्तो गर्नुभयो अध्ययन गरिरहेका छौं । मेडिकलमा कुनै समस्या भए राख्न भनेका छौं । एउटा कमिटी बनाएर अनुसन्धान गर्नुपर्छ,’ काउन्सिलका अध्यक्ष प्राडा सुवीन्द्र कार्कीले भने ।

विभागका प्राध्यापकहरूले भने आफूहरूबाट उनीलाई कुनै प्रकारको यातना नदिएको बताएका छन् । ‘कसैले अलि गाली गरेर सिकाउने हुन्छ । कसैले माया गरेर सिकाउने हुन्छ,’ डिन हुमागाईंले भने, ‘विद्यार्थीहरूलाई पनि समस्या भए आफूलाई भन्ने अनुरोध गरेको छु ।’

तर, आवासीय चिकित्सकहरूले घटनाबारे आंशका जनाउँदै सत्यतथ्य छानबिन गर्न माग गरेका छन् । प्राध्यापकका कारण हो वा अन्य कारणले हो अनुसन्धान हुनुपर्ने आवासीय चिकित्सकहरूको माग छ ।

‘त्यहाँ काम गर्ने, पढ्ने वातवरण के छ त्यसको अनुसन्धान हुनुपर्छ । रेजिडेन्ट डाक्टरहरूको एकपछि अर्को घटना आइरहेको छ । समिति बनाएर सत्य तथ्य छानबिन गर्न माग गरेका हौं,’ त्रिवि रेजिडेन्ट डाक्टर एसोसियसनका अध्यक्ष डा. उत्तम चौलागाईंले भने ।

काउन्सिलले थाल्यो अनुसन्धान

नेपाल मेडिकल काउन्सिलले पनि घटनाबारे अनुसन्धान थालेको छ । स्थलगत अध्ययनको लागि काउन्सिलको टोली धुलिखेल पुगेको छ ।

‘हामीले धुलिखेल गएर बुझेको छौं । आत्महत्याको प्रयास गरेको देखिन्छ । त्यसबाहेक अरु अहिले नै भन्ने अवस्था छैन । अनुसन्धान गरिरहेका छौं,’ काउन्सिलका सदस्य डा. कालुराम सिंह खत्रीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?