+
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता :

नेपाल एक खेलअगावै फाइनलमा, उपाधिका लागि म्यानमारसँग खेल्‍ने

२०८१ फागुन  ८ गते २१:३२ २०८१ फागुन ८ गते २१:३२

बिहीबार भएको खेलमा नेपालले लेबनानमाथि १-० को जित निकालेपछि दुवै टोलीले फाइनलमा स्थान पक्का गरेका हुन् । नेपालको जितमा पहिलो हाफमा गरेको एकमात्र गोल नै निर्णायक बन्यो ।

नेपाल एक खेलअगावै फाइनलमा, उपाधिका लागि म्यानमारसँग खेल्‍ने

८ फागुन, काठमाडौं । नेपाल र म्यानमार एक खेल खेल्नुअगावै अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बिहीबार साँझ भएको आफ्नो दोस्रो खेलमा नेपालले लेबनानाई १-० ले पराजित गरेपछि दुवै टोलीले फाइनलमा स्थान पक्का गरेका हुन् । चार राष्ट्र सहभागि प्रतियोगितामा नेपाल र म्यानमारले लगातार दुई जितबाट समान ६ अंक जोडेका छन् । गोल अन्तरमा म्यानमार नेपाल भन्दा अघि छ । बिहीबारै पहिलो खेलमा म्यानमारले कीर्गिस्तानलाई ५-० ले हराएको थियो ।

लगातार दुई हारपछि लेबनान र कीर्गिस्तान भने फाइनल होडबाट बाहिरिएका छन् ।

नेपालको जितमा पहिलो हाफमा गरेको एकमात्र गोल नै निर्णायक बन्यो । खेलको ४२औं मिनेटमा नेपालले अग्रता लिएको थियो । सावित्रा भण्डारी प्रहार लेबनानी खेलाडी फराहलाई डिफ्लेक्ट भएर गोल भएको थियो । यीबाहेक दुवै टोलीले गोल गर्ने थुप्रै अवसरहरू सदुपयोग गर्न सकेनन् ।

लेबनानकी क्रिस्टी मालोफले १०औं मिनेटमा प्रहार एन्जिलाले बचाइन् । बिमलाले ११औं मिनेटमा गरेको गरेको प्रहार पोस्टमाथिबाट बाहिरियो । १३औं मिनेटमा लैला इस्कन्दरले दुईपटक गोलरक्षक बिट गरिसकेको अवस्थामा गोल गर्न चुकिन् । १५औं मिनेटमा प्रीति राईको प्रहार पोस्टको केही माथिबाट बाहिरियो ।

१७औं मिनेटमा रेखा पौडेलले सबिता रानामगरको क्रसमा हेडर मिस गरेकी थिइन् । २३औं मिनेटमा साम्बाको प्रहार पोस्टको वाइड गयो । २६औं मिनेटमा बिमला चौधरीको हेडर फितलो रहँदा लगत्तै ओपन चान्समा रेखाले बल भेटाउन सकिनन् । त्यसलगत्तै फेरि साम्बाको प्रहारले पोस्टको दिशा लिन सकेन ।

समूह चरणको अन्तिम खेलमा पनि नेपाल र म्यानमार नै खेल्ने छन् भने फाइनल पनि यिनै दुई टोलीको बिचमा हुनेछ ।

३१औं मिनेटमा लेबनानले पनि अर्को मौका गुमायो । थ्रु मार्फत आएको उत्कृष्ट पासलाई लेला इस्कन्दरले सदुपयोग गर्न सकिनन् । ३७औं मिनेटमा क्रिस्टी मालुफको प्रहार साइड नेटिङ हुन पुग्यो ।

दोस्रो हाफको ५९औं मिनेटमा साम्बाको पासमा सबिताले प्रहार गरेको बल पोस्टमाथिबाट बाहिरियो । ८६औं मिनेटमा सावित्राको प्रहारले पोस्टको दिशा लिन सकेन ।

इन्जुरी समयको पहिलो मिनेटमा जहवा अराबीको प्रहार बारमा लागेर फर्कँदा लेबनान बराबरी गर्नबाट चुकेको थियो ।

अब लिग चरणको अन्तिम दुई खेल औपचारिकता मात्र हुनेछ । आइतबार लिग चरणको अन्तिम खेलमा नेपाल र म्यानमार तथा लेबनान र कीर्गिस्तान खेल्ने छन् । फाइनल खेल नेपाल र म्यानमारबीच आउने बुधबार हुनेछ ।

 

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता नेपाल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय