
काठमाडौं । हरिवंश आचार्यको शीर्ष भूमिका रहेको फिल्म ‘भूठान’को मर्मस्पर्शी टिजर सार्वजनिक भएको छ । अंग्रेजीमा ‘वर्ल्ड्स ह्याप्पिएस्ट म्यान’ राखिएको फिल्मले ‘खुसी मुलुक’ भनिने भुटानको भाष्यलाई कटाक्ष गर्छ ।
२ मिनेट रनटाइमको टिजरले कथावस्तु र चरित्र चित्रणबारे प्रकाश पार्छ । निर्देशक विनोद पौडेलले कथावाचन र चरित्र चित्रणका धेरै तहमा काम गरेका छन् । मुख्य पात्र जो देशबाट लखेटिएर तेस्रो मुलुकमा बसोबास गरिरहेको छ, ऊ एकपटक जन्मथलो पुग्न चाहन्छ ।
टिजर अन्त्यमा पुनर्जन्मको प्रसंग देखाइएको छ । तेस्रो मुलुकमा हुर्किएको र जन्मिएको नयाँपुस्ताको सांस्कृतिक द्वन्द्वदेखि जन्ममृत्यु संस्कारको कठिनाइमा हुने अन्तरविरोध पनि दर्शाइएको छ । नेपालबाट पुनर्वासमा अमेरिका पुगेको भुटानी परिवारको परिवेशमा भनिएको कथाले मुख्यपात्रको मनोवैज्ञानिक र भौतिक यात्रालाई पछ्याएको छ ।
‘बुलुबल’बाट दर्शकको मन जितेका निर्देशक पौडेलले यस फिल्ममार्फत भुटानबाट लखेटिएर विभिन्न मुलुकमा पुनर्वासमा पुगेका नेपालीभाषी भुटानीको कथा पेश गर्छ । अभिनेता दयाहाङ राई अमेरिकी वायुसेनाको भूमिकामा छन् । हलिउड अभिनेता ब्रुस डर्नको संक्षिप्त झलक पनि छ ।
फिल्ममा अनुराधा मजुमदार, पूजा चन्द, ऋचा घिमिरे, जोएस पाण्डे, अदिती प्याकुरेल, टम क्रेन, विमल सुवेदी लगायतको अभिनय छ । निर्मातामा अविरल थापा, राजेन्द्र ठकुराठी, अमिताभ जोशी, सशांक मैनाली र किर्तना बाँसकोटा छन् ।
ठकुराठी ब्रोज, भ्याकेन्ट लाईट, एभरेष्ट ईन्टरटेनमेन्ट अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गरेका हुन् । ‘भूठान’ बैशाख १२, २०८२ मा प्रदर्शन तयारीमा छ ।
प्रतिक्रिया 4