
काठमाडौं । शनिबारदेखि छायांकन तयारीमा रहेको फिल्म ‘कल्ली’को लागि अभिनेता उत्तम प्रधान काठमाडौं आइपुगेका छन् । गृहथलो भारतको सिक्किममा बस्दै आएका उनको यो कथानक फिल्ममा पुनरागमन समेत हुनेछ ।
पछिल्लोपटक उनी सन् २०१७ मा रिलिज भएको फिल्म ‘दर्पण छायाँ २’मा विशेष भूमिकामा देखिएका थिए । ‘कल्ली’ उनको ७ वर्षको पुनरागमन फिल्म हुनेछ । उनको डेब्यु फिल्म ‘दर्पण छायाँ’ २५ वर्ष पहिले रिलिज भएको थियो ।
‘कल्ली’मा उनको शीर्षमध्येको भूमिका हुने निर्माताद्वारा प्रेषित विवरणमा उल्लेख छ । छायांकन अवधि ३५ दिन तय छ । सोही अवधिसम्म प्रधानको नेपाल बसाइ हुनेछ ।
लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो फिल्मको छायांकन शनिबारदेखि काठमाडौंमा हुने जनाइएको छ । यसमा लक्ष्मण सुनारको कथा तथा निर्देशन हुनेछ ।
हिमाल कडरीया र अमलादेवी राई निर्माता हुन् । महेश दवाडीको लेखन रहेको फिल्ममा सरोज नेपाली कार्यकारी निर्माताको रुपमा हुनेछन् । सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदिप अधिकारी, बेगम नेपालीको पनि अभिनय हुनेछ ।
केही महिना पहिले अभिनेता प्रधान म्युजिक भिडियो छायांकनलाई काठमाडौं आएका थिए । त्यतिबेला उनले अभिनेत्री निरुता सिंहसँग भिडियोमा काम गरे ।
प्रतिक्रिया 4