
काठमाडौं । अमेरिकी दूतावासले सबै सदस्यलाई भिसा नदिँदा ‘सुजन चापागाईं एण्ड द ब्याण्ड’को सांगीतिक टूर अनिश्चित बनेको छ । गायक चापागाईंले सामाजिक सन्जालबाट जानकारी दिँदै अमेरिका टूर तत्काललाई रोकिएको जनाएका छन् ।
शुक्रबार बिहान दूतावासमा अन्तर्वार्ता भएको र ब्याण्डका एक सदस्यले मात्रै भिसा पाएको उनले लेखेका छन् । उनी लेख्छन्- राजदुतावासमा आज भिसाको लागि भएको अन्तरवार्ताको क्रममा हामी ८ जना ब्याण्डका सदस्य मध्ये १ जनाले मात्र भिसा प्राप्त गर्दा पूर्वनिर्धारित कार्यक्रम प्रभावित बनेका छन् ।’
ब्याण्डले मार्चदेखि विभिन्न अमेरिकी सहरमा टूरको घोषणा गरेको थियो । टूरमार्फत २ वर्षपछि लाइभ म्युजिकमा फर्किने तयारी थियो तर कार्यक्रम हाललाई अनिश्चित भएको ब्याण्डका मुख्य गायक चापागाईंले जनाए ।
उनी लेख्छन्, ‘ लामो समयदेखि नेपाली गीतसंगीत मार्फत नेपाली दर्शक श्रोतालाई कसरी गुणस्तरीय सृजना प्रेषण गर्न सकिन्छ भनेर मिहेनत गरि रहेको कुरा दर्शक श्रोताले बुझी दिनु भएकै छ । लगभग २ बर्षको आन्तरिक तयारी पश्चात अमेरिकाबाट प्रत्यक्ष म्युजिकल लाईभ जर्नी पुनः सुरुवात गर्ने बाचा पुरा गर्न नसक्ने जानकारी गराउँदै गर्दा नमिठो अनुभव पक्कै भएको छ । यो अनिश्चितताको कारण पर्न गएको असर प्रति सम्पूर्ण आयोजक, दर्शक तथा शुभचिन्तक प्रति क्षमा याचना गर्दछु । हामी पुनः भेटने छौं ।’
ब्याण्डले जेठ १८ मा दुबईमा प्रस्तुति दिने कार्यक्रम भने तय छ । सन् २०२३ मा सुजन अस्ट्रेलियामा गुञ्जिएका थिए ।
प्रतिक्रिया 4