
धेरैपछि
एकचोटि फेरि
मुटुमा देश दुखेको छ
सगरमाथाको स्वाभिमानमा बाँचेको म
धेरैपछि
एकचोटि फेरि
देशसँगै मेरो स्वाभिमान दुखेको छ !
म निरन्तर मगमगाइरहेको
यो एक मुठी लाम्चो धर्ती
सबथोक हो मेरो
म एकनास जगमगाइरहेको
यो शान्त, स्निग्ध आकाश
सबलोक हो मेरो ।
बरु सेरिन तयार छु म
बरु मेटिन तयार छु म
मेरो यो धर्ती र आकाश
मेरो यो सबथोक र सबलोक
लुटिएको सहन्छु म कहाँ
न रहे यी रहन्छु म कहाँ ?
धेरैपछि
एकचोटि फेरि
यो मन कुँडिएको छ
यो तन चुँडिएको छ ।
ओदानमाथिको ताप्केझैँ
मनमा प्रश्न उम्लिरहन्छ
म दास भएर नाच्दै पो थिएँ कि ?
म लास भएर बाँच्दै पो थिएँ कि ?
बेचेर पराइसँग
आमाको कोख र वात्सल्य
ललिपप चुस्दै हाँस्दै पो थिएँ कि ?
एकाएक कसैले आज
स्वाभिमानको निधारमा
वर्षाएपछि घृणाको खकार
अस्मिताको पीठमा
एकाएक कसैले आज
कोर्रा लगाएपछि अपमानको
म भित्र म चलमलाएको छ
म भित्रको संसार डगमगाएको छ ।
धेरैपछि
आज फेरि
मेरो संसार धस्सिएको छ
मसँग म कस्सिएको छ ।
हरेक प्रहर
हरेकतिर
तातो वायु चलिरहेको यो कालखण्डमा
कसरी यति चिसो भएँ म ?
कसरी यति बोधो भयो मेरो चेतना ?
एकदम विचलित छु म
एकदम हदप्रभ छु म
डुबेर कुन लोभको गुह्री नालीमा
स्वार्थको सीमापारिको
त्यो नक्कली हाट बजारमा
आफैँलाई बेच्न कसरी तयार भएँ म ?
मान्छेको स्वरुपमा अमान्छेहरुसँग
मानवता साट्न कसरी राजी भएँ म ?
धेरैपछि
एकचोटि फेरि
धड्कन अवरुद्ध छ मेरो
आफ्नै विरुद्ध एउटा युद्ध छ मेरो
र, यो
क्रम र उपक्रमले
यो हार र प्रहारले
यो उपेक्षा र अपमानले
स्वार्थ र अचेतनाको घोर निद्राबाट
ब्युँझिएको छ म भित्रको कुम्भकर्ण
“देश दुख्न दिन्न अब
देश ठुङ्न दिन्न अब
शीर स्वाभिमानको
यो सगरमाथा झुक्न दिन्न अब
अब देश भएर बाँच्नेछु।
अब देश हेरेर हाँस्नेछु । “
प्रतिक्रिया 4