
९ फागुन, काठमाडौं । मुलुकका २८ भन्सार बिन्दुबाट अन्तर्राष्ट्रिय व्यापार हुने गरेको छ । त्यसमध्ये १० बिन्दुबाट निर्यात शून्य देखिएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को सात महिना (साउन–माघ) अवधिमा कुल १ खर्ब २७ अर्ब २० करोड रुपैयाँ बराबर वस्तु निर्यात भएको छ ।
यसमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि चोभार सुक्खा बन्दरगाहसम्मका भन्सार बिन्दु शून्य निर्यात हुने भन्सारमा रहेका छन् ।
भन्सार विभागका अनुसार चोभारबाट सात महिनामा ६६ करोड १२ लाख रुपैयाँ बराबर वस्तु आयात हुँदा निर्यात शून्य छ ।
त्यस्तै गौतमबुद्ध विमानस्थलबाट ५ करोड ३३ लाख बराबर वस्तु आयात हुँदा निर्यात भएको छैन । जनकपुर भन्सार बिन्दुबाट ९० करोड ७२ लाख रुपैयाँको आयात भएको छ । निर्यात शून्य छ ।
यसैगरी महेशपुर भन्सारबाट २७ करोड बराबर वस्तु आयात हुँदा निर्यात देखिएको छैन । राजविराज भन्सारबाट १२ करोडको वस्तु आयात हुँदा निर्यात शून्य छ । सुनसरी भन्सारबाट १ अर्ब ३१ करोडको आयात हुँदा निर्यात छैन ।
सुथौली भन्सारबाट २ अर्ब ५७ करोडको आयात हुँदा निर्यात शून्य देखिएको छ । यस वर्ष तातोपानी भन्सारबाट पनि निर्यात भएको छैन ।
भन्सार विभागका अनुसार यस वर्ष तातोपानी नाकाबाट २७ अर्ब २५ करोड ९१ लाख रुपैयाँ बराबर आयात हुँदा निर्यात शून्य देखिएको हो । यसबाहेक त्रिवेणी र थाडी भन्सार बिन्दुमा समेत निर्यात शून्य छ ।
नेपालका भन्सार बिन्दुमध्ये सबैभन्दा धेरै वस्तु निर्यात वीरगञ्जबाट भएको छ । यो भन्सारबाट ४० अर्ब ३४ करोड बराबर वस्तु निर्यात भएको छ । जुन कुल निर्यातको ३१.७२ प्रतिशत हुन आउँछ ।
दोस्रो नम्बरमा विराटनगर भन्सार छ । यस बिन्दुबाट ३० अर्ब ८३ करोड रुपैयाँ बराबर वस्तु निर्यात भएको छ । जुन २४.२४ प्रतिशत हिस्सा हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २० अर्ब ३४ करोड बराबर वस्तु निर्यात भएको छ । जुन १६ प्रतिशत हाराहारी हो । भैरहवा भन्सारबाट ९ अर्ब ६५ करोड बराबर वस्तु निर्यात भएको समेत विभागले जनाएको छ । पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भने यस वर्ष आयात/निर्यात दुवै भएको छैन ।
प्रतिक्रिया 4