+
+
Shares

उपेन्द्रको अडानले उल्झनमा ओली

भूमिबाहेक अन्य अध्यादेशमा सघाउन प्रधानमन्त्री ओलीले पटकपटक आग्रह गरे पनि जसपा नेपालका अध्यक्ष यादव भूमि अध्यादेश फिर्ता नलिए बाँकीमा समर्थन नगर्ने अडानमै छन्

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८१ फागुन ९ गते २१:४५

९ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालले अध्यादेश अगाडि बढाउन सरकारले भूमि सम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने सर्त राखेको छ । यो सर्त पूरा नभए बाँकी अध्यादेशमा पनि समर्थन नगर्ने उसको अडान छ ।

भूमि अध्यादेशलाई यथास्थितिमा राखेर बाँकी अध्यादेश अगाडि बढाउँदा आफूहरूको समर्थन नरहने जसपा नेपालका उपाध्यक्ष राजकिशोर यादवको भनाइ छ ।

‘भूमि अध्यादेश रिराइट गर्नुपर्‍यो वा विधेयकको रूपमा आउनुपर्‍यो । अन्यथा, हामी बाँकी अध्यादेशमा समर्थन गर्न असमर्थ हुन्छौं,’ उपाध्यक्ष यादवले अनलाइनखबरसँग भने ।

संसद् अधिवेशन नरहेका बेला सरकारले विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो ।

सरकारले अध्यादेश ल्याएपछि जसपा नेपालले उपाध्यक्ष यादवको नेतृत्वमा कार्यदल बनाएर ६ वटै अध्यादेश अध्ययन गरेको थियो । अध्ययन प्रतिवेदनको आधारमा भूमि अध्यादेशलाई अगाडि बढाउन नहुने निष्कर्षमा आफूहरू पुगेको जसपाका अन्य नेताहरू बताउँछन् ।

नेताहरूका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग यस विषयमा पटक–पटक संवाद गरेका छन् । संवादमा क्रममा ओलीले भूमि अध्यादेश अगाडि नबढाउन सरकार तयार रहेको भन्दै अन्य अध्यादेशमा सघाउन प्रस्ताव राखेका थिए ।

‘भूमि अध्यादेशमा के गर्ने हो गरौं, कार्यदल बनाएर अध्ययन गर्न पनि तयार छौं । तर, बाँकी अध्यादेश अगाडि बढाउँदा सहयोग गर्नुपर्‍यो,’ उपेन्द्रलाई ओलीले गर्दै आएको प्रस्ताव एक नेताले सुनाए । प्रधानमन्त्री ओलीको यस्तो प्रस्ताव उपेन्द्रले अस्वीकार गर्दै आएका छन् ।

अध्यक्ष यादवसँग प्रधानमन्त्री ओली आफैंले कुरा गर्दै आएका छन् भने जसपा नेपालका अन्य नेताहरूसँग प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले संवाद गर्दै आएका छन् ।

तर, भूमि अध्यादेश फिर्ता लिनुपर्ने जसपा नेपालको अडानका कारण सरकार बाँकी अध्यादेश अगाडि बढ्न सकिरहेको छैन ।

प्रतिनिधिसभाको बैठक । (फाइल तस्वीर)

गत २४ माघमा दुवै सदनको कार्यसूचीमा चढेर पनि फिर्ता भएको अध्यादेश अगाडि बढाउनेसम्बन्धी कार्यक्रम पुनः कार्यसूचीमा चढ्न सकेको छैन ।

गत १४ पुसमा सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी भएको थियो । २९ पुसमा थप चारवटा अध्यादेश जारी भएका थिए ।

अध्ययन प्रतिवेदनको आधारमा भूमि अध्यादेशलाई अगाडि बढाउन नहुने निष्कर्षमा आफूहरू पुगेको जसपाका अन्य नेताहरू बताउँछन् ।

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश जारी भएको हो ।

निजीकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी भएको हो ।

२ माघमा भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश जारी भएको थियो । यी ६ वटै अध्यादेश दुवै सदनमा प्रस्तुत भइसकेका छन् । संसद् अधिवेशन नरहेका बेला सरकारले अध्यादेश ल्याउन पाउने संवैधानिक अधिकार छ ।

संसद् अधिवेशन नरहेका बेला जारी भएका अध्यादेश अधिवेशन सुरु भएकै दिन दुवै सदनमा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । यसअनुसार १८ माघमा दुवै सदनमा ६ वटै अध्यादेश प्रस्तुत भइसकेका छन् ।

संसद् अधिवेशन नरहेका बेला सरकारले ल्याएका अध्यादेश सदनमा प्रस्तुत गरेपछि दुवै सदनबाट स्वीकृत गराएर सरकारले प्रतिस्थापन विधेयक ल्याउन सक्छ ।

अध्यादेश अधिवेशन सुरु भएको दिन सदनमा प्रस्तुत गरेर त्यसको ६० दिनभित्र प्रतिस्थापन विधेयक ल्याएर पनि पास गरेर ऐनमा रुपान्तरित गरिसक्नुपर्छ । अन्यथा, अध्यादेशले परिवर्तन गरेका र नयाँ व्यवस्था स्वतः निश्कृय हुन्छन् ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र कतार भ्रमणमा छन् । उनी १६ फागुनमा मात्र नेपाल फर्किने छन् ।

तर, दुवै सदनबाट अध्यादेश स्वीकृत गर्ने प्रक्रिया नै अगाडि बढेको छैन । दुवै सदनबाट अध्यादेश स्वीकृत गरेपछि मात्रै सरकारलाई प्रतिस्थापन विधेयक ल्याउने बाटो खुल्छ ।

संसदीय अंकगणितका कारण सरकार अध्यादेश स्वीकृत गराउने प्रक्रिया नै अगाडि बढाइरहेको छैन ।

गत १८ माघयता प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक पटक–पटक बसेको छ । २४ माघमा दुवै सदनमा अध्यादेश स्वीकृत गराउने कार्यसूची तय भएर पनि रोकिएको थियो ।

त्यसयता २५, २७, २८ र २९ माघमा प्रतिनिधिसभाको बैठक बसेको थियो । यही महिनाको ४, ५ र ६ फागुनमा पनि प्रतिनिधिसभाको बैठक बस्यो तर, अध्यादेश अगाडि बढ्न सकेन । प्रतिनिधिसभाको अर्को बैठक ११ का लागि बोलाइएको छ । १२ र १३ फागुनमा बैठक बस्नेछ । तर, १५ फागुनसम्मको प्रतिनिधिसभा संसदीय क्यालेन्डरमा अध्यादेश अगाडि बढाउने विषय समावेश छैन ।

यस्तै, २४, २७ र २८ माघमा राष्ट्रिय सभाको बैठक बस्यो । फागुन लागेपछि २, ४ र ६ गते पनि बैठक बसेको थियो । अब १२, १३ र १५ फागुनमा बैठक बस्ने तालिका छ । १५ फागुनसम्मको राष्ट्रिय सभाको संसदीय क्यालेन्डरमा समेत अध्यादेश अगाडि बढाउने विषय समावेश छैन ।

राष्ट्रिय सभाकौ बैठक । (फाइल तस्वीर)

संसद् सचिवालयका अनुसार १६ फागुनदेखि ३० फागुनसम्म दुवै सदनका संसदीय क्यालेन्डरको तयारी अगाडि बढेको छ । तयारी अनुसार १८ फागुनमा प्रतिनिधिसभाको बैठक बस्नेछ ।

अहिलेसम्म सहमति नजुटेकाले १८ फागुनयता अध्यादेश अगाडि बढ्ने अवस्था नरहेको नेताहरू बताउँछन् । किनभने, जसपा नेपालका अध्यक्ष उपेन्द्र कतार भ्रमणमा छन् । उनी १६ फागुनमा मात्र नेपाल फर्किने कार्यक्रम छ ।

त्यसयता अध्यादेश अगाडि बढ्ने सम्भावना नरहेको नेताहरू बताउँछन् । किनभने, राष्ट्रिय सभामा यादव नेतृत्वको पार्टीका सांसद अध्यादेश स्वीकृत गराउने वा नगराउने भन्नेमा निर्णायक छन् ।

५९ सदस्यीय राष्ट्रिय सभामा अध्यादेश बहुमतले स्वीकृत गर्न ३० सांसदको समर्थन आवश्यक पर्छ । तर सरकारको पक्षमा प्रष्ट बहुमत पुग्न सकिरहेको छैन ।

राष्ट्रिय सभामा माओवादी केन्द्रका १७, नेपाली कांग्रेसका १६, नेकपा एमालेका १०, नेकपा एकीकृत समाजवादीका ८, जसपा नेपालका ३, लोसपाको १, राष्ट्रिय जनमोर्चाको १ र मनोनीत ३ जना सांसद छन् । मनोनीत ३ मध्ये अन्जान शाक्य एमाले समर्थित हुन् ।

अर्का मनोनीत सांसद बामदेव गौतमले अध्यादेशमा आफ्नो मत मतदानको दिन मात्र सार्वजनिक गर्ने बताउँदै आएका छन् । अर्का मनोनीत सांसद नारायण दाहाल राष्ट्रिय सभामा अध्यक्ष छन् । अध्यक्षले मत बराबर भएको अवस्थामा मात्रै मतदान गर्न पाउँछन् ।

जसपा नेपाल सरकारलाई समर्थन गरेर संसद्मा सत्तापक्षमा बस्दै आएको दल हो । तर, भूमि अध्यादेशमा उसको चासो सम्बोधन नहुँदा सरकारले अन्य विधेयक अघि बढाउन सकिरहेकाे छैन ।

यो संसदीय अंकगणितमा सरकारलाई अध्यादेश अगाडि बढाउन सकस परिरहेको छ । कांग्रेस (१६), एमाले (१०) र मनोनीत सांसद शाक्य अध्यादेशको पक्षमा उभिँदा २७ मत पुग्छ । बहुमतका लागि ३० मत चाहिछ ।

सरकारमा सहभागी लोसपाले पनि भूमि अध्यादेशमा समर्थन नगर्ने निर्णय गरिसकेको छ । यसकारण सरकारलाई अध्यादेश अगाडि बढाउन राष्ट्रिय सभामा तीन मत पुग्दैन । यस्तोमा राष्ट्रिय सभामा तीन सिट रहेको जसपा नेपालको साथ लिने प्रयास सरकारले गरिरहेको छ ।

जसपा नेपाल सरकारलाई समर्थन गरेर संसद्मा सत्तापक्षमा बस्दै आएको दल हो । तर, भूमि अध्यादेशमा उसको चासो सम्बोधन नहुँदा सरकारले अन्य विधेयक अघि बढाउन सकिरहेकाे छैन ।

यसबीच, सत्तारुढ दलहरू अध्यादेश अगाडि बढाउने वातावरण बनाउन नियमित जसो बैठकमा बसिरहेका छन् । ४ फागुनमा अध्यादेशहरू संसदीय प्रक्रियामा अगाडि बढाउने विषयमा छलफल गर्न सत्तारुढ दलका प्रमुख सचेतकहरूको औपचारिक बैठक बसेको थियो ।

एमाले संसदीय दलको कार्यलय सिंहदरवारमा बसेको सत्तापक्षका प्रमुख सचेतकहरूको बैठकमा जसपा नेपालले सहभागिता नै जनाएन ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?