९ फागुन, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) सावित्र विजेता ललितपुर सिटी एफसीले मार्की प्लेअरमा अनन्त तामाङलाई नै निरन्तरता दिएको छ ।
दोस्रो सिजनको च्याम्पियन ललितपुरले शुक्रबार अनन्तलाई तेस्रो सिजनको पनि मार्की प्लेअरमा अनुबन्ध गरेको घोषणा गरेको हो ।
अनन्तकै कप्तानीमा ललितपुरले दोस्रो सिजनको फाइनलमा धनगढी एफसीलाई हराउँदै उपाधि जितेको थियो ।
नेपाली राष्ट्रिय टिमा मुख्य डिफेण्डर समेत रहेका अनन्त तामाङ दोस्रो सिजन मोस्ट भ्यालुएबल प्लेअर समेत घोषित भएका थिए ।
हाल ए डिभिजन लिग विजेता चर्च ब्वाइज युथ क्लबबाट अनन्तले घरेलु फुटबल खेलिरहेका छन् । अनन्तमै कप्तानीमा चर्च ब्वाइजले ए डिभिजन लिग जितेको थियो ।
साविक विजेता ललितपुरले यसअघि नै सनिश श्रेष्ठ र आदित्य शाक्यलाई रिटेन गरिसकेको छ ।
एनएसएल खेल्ने सात फ्रेन्चाइज मध्ये ६ टोलीले औपचारिक रुपमा मार्की प्लेअर घोषणा गरिसकेका छन् । यसपटक अधिकांश टिमले युवा र नयाँ मार्की घोषणा गरेको छ ।
एनएसएलको तेस्रो सिजनको लागि अक्सन भोली शनिवार हुँदैछ । यस पटक एनएसएलको मिनी अक्सन हुने आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम)ले जनाएको छ ।
एनएसएलको तेस्रो संस्करण चैत १६ गतेदेखि सुरु हुँदैछ ।
प्रतिक्रिया 4