
काठमाडौं । केन्द्रीय चलचित्र जाँच समितिले शुक्रबार फिल्म ‘लाज शरणम’को जाँच गरेको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयमा भएको जाँचमा मन्त्रालयका कानून विभाग हेर्ने अधिकारी पनि उपस्थित थिए ।
फिल्म हेरिसकेपनि सेन्सर पास चाहिँ भैसकेको छैन । बोर्ड सदस्य ऋषिराज आचार्यले केही प्राविधिक कुराहरू मिलाउनुपर्ने भएकाले पुनः आइतबार बोलाइएको बताए ।
‘४/५ वटा प्राविधिक कुरा मिलाएर ल्याउन भनेका छौं । त्यसपछि बल्ल कुन सर्टिफिकेट दिने भन्ने टुंगो लाग्छ’ सेन्सर बोर्ड सदस्य आचार्यले अनलाइनखबरसँग भने, ‘त्यसपछि फेरि हेरेर अघि बढ्ने तयारी छ ।’ उनका अनुसार आइतबार फिल्मले सेन्सर पासको प्रमाणपत्र पाउन सक्ने बताए ।
सबैको चासो रहेको पूर्वमन्त्री अफताव आलमको विषयमा भने फिल्ममा त्यस्तो कुनै इस्यु नरहेको सदस्य आचार्यको भनाइ छ । ‘त्यसमा कुनै इस्यु छैन । हुलिया हो कि हो किजस्तो देखिन्छ । कुनै व्यक्तिलाई तोकिएको पनि छैन । संवाद आलमको जस्तो पनि छैन । यस विषयमा धेरै सोच्नुपर्ने देखिएन । कुनै गम्भीर विषय देखिएन’ उनले भने ।
उनले फिल्ममा प्रयुक्त धुर्मुसको पात्र कुनै व्यक्ति लक्षित नरहेको देखिएको बताए । फिल्मको जाँचअघि संचार मन्त्रालयमा बोर्ड पदाधिकारीहरूको बैठक बसेको थियो । जहाँ, सबै सदस्यले फिल्मको स्क्रिप्ट अध्ययन गरेका थिए । स्क्रिप्ट अध्ययनको क्रममा पनि सामान्य नै पाइएको उनले जनाए ।
मुद्दामामिलाको कारण सेन्सर बोर्डले यो फिल्मको सेन्सरलाई गम्भीरताको साथ लिएको थियो । जसको कारण सेन्सरपूर्व बैठक बोलाइएको थियो ।
मंगलबार पूर्वमन्त्री आलमले आफूजस्तो देखिने चरित्र चित्रण गरेको भन्दै फिल्मविरुद्ध पाटन उच्च अदालतमा निषेधाज्ञाको रिट दायर गरेका थिए । उनको रिटमा सुनुवाइ गर्दै अदालतले सेन्सरअघि फिल्मको प्रचारप्रसार नगर्न र नगराउन आदेश दिएको थियो ।
प्रतिक्रिया 4