
९ फागुन, पोखरा। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अब राजाको अभिभावकत्वमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्थामा जानुपर्ने बेला आइसकेको बताएका छन् ।
पोखरामा राप्रपाले आयोजना गरेको विरोधसभामा बोल्दै लिङदेनले राजनीतिक दलहरुलाई पनि आह्वान गरेका बताएका हुन् । यदि दलहरूले यस्तो यो आह्वानलाई अनदेखा गरे राप्रपाले काठमाडौं केन्द्रित आन्दोलन गर्ने चेतावनी दिए ।
‘राजाको सन्देश आएको छ । जनताले राजाको यो आह्वानलाई साथ दिएर अगाडि आउनुपर्ने समय आयो । म राजनीतिक दलहरुलाई पनि आह्वान गर्न चाहन्छु, ‘उनले भने, ‘एउटा-एउटा कुरा होइन, अब व्यवस्था नै परिवर्तन गरौं। अभिभावकीय संस्थाको रुपमा राजालाई राख्ने र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री बनाउने । यो तपाईंहरुले स्वीकार गर्नुभएन भने राप्रपाले काठमाडौं केन्द्रित आन्दोलन गर्छ।’
उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्मल निवासबाट डोहोर्याएर नारायणहिटी पुर्याउने दाबी गरे। ‘निर्मल निवास र नारायणहिटीको दूरी कति छ ? जसरी तपाईंहरूले राजालाई जबरजस्ती विस्थापित गर्नुभयो, हामी निर्मल निवासबाट डोहोर्याएर नारायणहिटीबाट पुर्याउन तयार छौं, ‘ उनले चेतावनी दिँदै भने, ‘त्यसबेला कुनै शक्तिले रोक्न सक्दैन । यसलाई सामान्य कुरा नसम्झिनुहोला ।’
उनले दुई दशकको अभ्यासपछि गणतान्त्रिक व्यवस्था फेल भइसकेको दाबी गर्दै दलहरूलाई आत्मआलोचना गर्न पनि सुझाव दिए । ‘दुई दशकको अभ्यासपछि गणतान्त्रिक व्यवस्था फेल भइसक्यो। त्यसैले अब तपाईहरू एमाले, कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरूले आत्मालोचना गर्नुस्।’
उनले अब देशले थप द्वन्द्व थेग्न नसक्ने भन्दै शान्ति र सम्झौताबाट समस्याको समाधानमा लाग्नुपर्ने बताए । उनले भने, ‘देशले थप द्वन्द्व थेग्न सक्दैन । राप्रपाले द्वन्द्व र रक्तपात चाहँदैन । त्यसैले शान्तिपूर्ण बाटोबाट सम्झौताबाट देशको समस्या समाधान गरौं । आउनुस नवीन समझदारी गरौं।’
आफूहरूले पछाडि फर्किने कुरा नगरेको उनको भनाइ छ । उनले हिजो र आजका राम्रा कुराहरू समेटेर सबै पक्ष अटाउने व्यवस्थामा जानुपर्नेमा जोड दिए ।
‘हामी पछाडि फर्किने होइन । राजाको चाहना पनि पछाडि फर्किने होइन । हामी सबैको निष्कर्ष देश यही स्थितिमा रहिरहन सक्दैन भन्ने हो,’ उनले भने, ‘अब हिजोका पनि राम्रा कुराहरु र आजका पनि राम्रा कुराहरु समेटेर नयाँ समझदारी गरौं। राजादेखि माओवादीसम्म अटाउने मौलिक व्यवस्था निर्माण गर्न सकिन्छ ।’
प्रतिक्रिया 4