+
+
Shares

लुम्बिनी प्रदेशमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु

टोपराज शर्मा टोपराज शर्मा
२०८१ फागुन १० गते ७:४७

१० फागुन, बुटवल । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यसहित लुम्बिनी प्रदेशमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु भएको छ ।

प्रदेश भित्रका १७ वटा विद्यालयबाट अभियानको एकसाथ शुभारम्भ गरिएको हो ।

गत वर्ष एसईईको नतिजा कमजोर आएपछि सुधारका लागि अभियान थालिएको प्रदेश सरकारको भनाई छ । यो अभियानमा सरकारले वजेट विनियोजन गरेको छैन । तर, सामुदायिक विद्यालयमा अध्ययन गरेका पूर्वविद्यार्थी, जनप्रतिनिधि, शिक्षाप्रेमीलाई विद्यालयको शैक्षिक गुणस्तर सुधारमा स्वयंसेवी ढंगले योगदान गर्न उत्प्रेरित गरिने प्रदेश सरकारका प्रवक्ता कृषि मन्त्री दिनेश पन्थीले बताए ।

अभियान अन्तर्गत विद्यालय व्यवस्थापन, सामाजिक जागरुकता, आर्थिक स्रोत परिचालन, भौतिक सुधार तथा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न विभिन्न गतिविधि सञ्चालन गरिने प्रदेश सरकारका प्रवक्ता कृषिमन्त्री दिनेश पन्थीले बताए ।

यस अभियानअन्तर्गत शिक्षाबाट बञ्चित वर्गलाई मूलधारमा ल्याउन आर्थिक तथा भौतिक सहयोग जुटाइने,विविध शैक्षिक प्रतियोगिता आयोजना, छात्रवृत्ति कोष स्थापना, सूचना प्रविधि सामग्री हस्तान्तरण तथा व्यावसायिक मार्गदर्शन कार्यक्रमहरू सञ्चालन गरिने प्रवक्ता पन्थीले बताए ।

प्रदेशमा ६ हजार तीन सय ४० विद्यालय छन् । जसमध्ये चार हजार पाँचसय ३१ सामुदायिक विद्यालय छन् । यी विद्यालयमा अध्ययनरत १२ लाख ८८ हजार दुई सय ९८ विद्यार्थीमध्ये नौ लाख २५ हजार छ सय २९ जना विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययनरत छन् ।

माध्यमिक शिक्षा परीक्षाको नतिजाले लुम्बिनी प्रदेशमा सुधारको आवश्यकता देखाए अनुसार अभियान थालिएको हो ।

२०८० को एसईई परीक्षामा सहभागी ८० हजार दुई सय २७ विद्यार्थीमध्ये ३१ हजार एक सय तीनजना मात्र ग्रेडेड हुन सफल भएका थिए, जसअनुसार नतिजा ३८.७२ प्रतिशत मात्र रहेको छ ।

राष्ट्रिय औसत ४७.८७ प्रतिशत हुँदा लुम्बिनी प्रदेशको नतिजा कमजोर देखिएको छ । सामुदायिक विद्यालयमा झनै कमजोर अवस्था रहेको छ । प्रदेशमा चार हजार पाँच सय ३१ सामुदायिक विद्यालयमध्ये दुई हजार ६५ विद्यालयमा विद्यार्थी संख्या १०० भन्दा कम छ । यी विद्यालयको संख्या कुल विद्यालय संख्याको ४५.५७ प्रतिशत हो । विगतमा समुदायले अपनत्व लिई सञ्चालित विद्यालयमा आज त्यही समुदायको संलग्नता कमजोर बन्दै गएको छ ।

मुख्यमन्त्रीले कोषमा जम्मा गरे ५५ हजार ५सय ५५ रुपैयाँ

मुख्यमन्त्री चेतनारायण आचार्यले ‘मेरो विद्यालय, मेरो दायित्व अभियान’ कोषमा आफ्नो तर्फबाट ५५ हजार ५५५ रुपैयाँ जम्मा गर्दै अभियानको शुभारम्भ गरेका हुन् ।

मुख्यमन्त्री आचार्यले अर्घाखाँचीको अर्घा रजस्थल माध्यमिक विद्यालयमा अभियानको शुभारम्भ गर्दै पूर्व विद्यार्थिको तर्फबाट बुवा-आमाको स्मृतिमा एक लाख ११ हजार एक सय ११ रुपैयाँको टिकाराम-तारादेवी अक्षयकोष समेत स्थापना गरेका छन् । यो अक्षयकोषको ब्याजबाट प्राप्त हुने रकमबाट दलित जेहन्दार विद्यार्थीलाई बार्षिक रुपमा पुरस्कृत गरिने छ ।

‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन यो अभियानलाई प्रदेश सरकारले गौरवकै आयोजनाको रुपमा निरन्तरता दिने सोंचमा छ’, मुख्यमन्त्री आचार्यले भने, ‘सामुदायिय विद्यालयलाई शैक्षिक गुणस्तरमा अब्बल बनाउन यो अभियान कोशेढुंगा सावित हुने छ ।’

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?