
१० फागुन, काठमाडौं । बालबालिकाको पोषणयुक्त खाजामा लगानी बढाउन सरोकारवालाहरूले सुझाव दिएका छन् । यसले बालबालिकाको विद्यालयमा पहुँच विस्तार र सिकाइस्तर वृद्धिमा सहयोग गर्ने भन्दै सरोकारवालाले लगानी बढाउन सुझाव दिएका हुन् ।
स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा प्रारुप, २०८१ कार्यान्वयनको सन्दर्भमा नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको राष्ट्रिय परामर्श कार्यक्रमsf सहभागीले यस्तो सुझाव दिएका हुन् ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापहरूले दिवा खाजाको रकम निकासा मासिकरुपमा गरिनुपर्ने, असल अभ्यास अनुभवको आदानप्रदान गर्नुपर्ने, विद्यार्थीलाई प्रदान गरिने खाजाको रकम प्रयाप्त नभएको र सबै कक्षालाई नै नहुँदा विभेद देखिएको बताएका थिए ।
उनीहरुले विद्यालय खाजा कार्यक्रमलाई प्रभावकारी बनाउन अभिभावक शिक्षा प्रवर्द्धन, हालको अवस्थाबारे अध्ययन अनुसन्धान गर्नुपर्ने, स्थानीय सरकारले आफ्नो स्रोत परिचालन गर्न सक्नुपर्ने, खरिद प्रणालीमा सहज बनाउनुपर्ने, लगायतका विषय पनि उठाएका थिए ।
कार्यक्रममा बाल क्लबका प्रतिनिधिहरूले दिवा खाजा कार्यक्रमको अनुगमन गर्नुपर्ने, बालबालिकासँगको कार्यक्रम भएको हुँदा बालबालिका केन्द्रित विषयमा उनीहरूसँग नै सोधेर अध्ययन गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा गाउँपालिका महासंघका सदस्य भुपाल पोखरेल र जिल्ला समन्वय समिति महासंघका उपमहासचिव दिपक गौतम, नगरपालिका संघकी प्रतिनिधि सुनिता सुवेदी, राष्ट्रिय बाल अधिकार परिषद्की सदस्य-सचिव इन्द्रादेवी ढकाल लगायतले दिवा खाजा प्रवर्द्धन गर्ने कार्यमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
मन्त्रालयका सचिव डा. दिपक काफ्लेले विद्यालय दिवा खाजा प्रारुप, २०८१ लाई कार्यान्वयन सन्दर्भमा प्राप्त सुझावलाई ग्रहण गर्ने बताउँदै गुणस्तरीय शिक्षा, प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
बालबालिकाको दिवा खाजा प्रवर्द्धनमा सबै सरोकारवालाको भूमिका रहने भन्दै उनले अन्तर मन्त्रालय, निकाय परिवार, अभिभावक संघसंस्था सबैको दायित्वसहित बालबालिकामा लगानी बढाउनेतर्फ प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया 4