
१० फागुन, जनकपुरधाम । भारतको उत्तर प्रदेशको प्रयागराजस्थित कुम्भ स्नान गरेर फर्किएका चार नेपालीको गाडी दुर्घटनामा मृत्यु भएको छ । शुक्रबार राति भएको दुर्घटनमा परेर ६ नेपाली गम्भीर घाइते भएका छन् ।
उत्तर प्रदेशको बाँसगाउँ थाना क्षेत्र अन्तर्गत गोरखपुर लिंक रोडमा ट्रयाक्टरको ट्रलीमा ठोक्किएर दुर्घटना भएको हो ।
मृत्यु भएकामध्ये तीनजना सप्तरी र एकजना सुनसरीका हुन् । मृत्यु हुनेमा सप्तरीको कञ्चनरुप नगरपालिका–७ की लिलादेवी चौधरी, कञ्चनरुप–७ कै पर्शुराम चौधरी र कञ्चनरुप–५, पिपरा पूर्वकी हरिहरदेवी यादव छन् ।
दुर्घटनामा परेर सुनसरीको कुशाहा गाउँपालिका–१ की समतोलिया देवी यादवको पनि ज्यान गएको छ ।
सप्तरीका प्रहरी प्रवक्ता डीएसपी जीतेन्द्र बस्नेतले कञ्चनरुपका तीन जनाको मृत्यु भएको तथा अन्य तीन जना घाइते भएको भारतीय प्रहरीबाट जानकारी प्राप्त भएको बताए ।
उनका अनुसार दुर्घटनामा शिक्षक उपेन्द्र चौधरी, जितु यादवलगायत छन् । घाइतेमध्ये दुईजना उदयपुरका पनि छन् । सबैको अवस्था गम्भीर रहेको भारतीय प्रहरीले बताएको डीएसपी बस्नेतले जानकारी दिए ।
घाइतेहरूको गोरखपुरस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
यसअघि पनि भारतको महाकुम्भ मेला स्नान गर्न गएका रुपन्देहीको देवदहका तीन जनाको दुर्घटनामा मृत्यु भएको थियाे । पाँच जना घाइते भएका थिए । तीर्थालु सवार गाडी दुर्घटनामा देवदह नगरपालिका-९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दीपा खनाल र ४० वर्षीया गीता शर्माको ज्यान गएको थियो ।
प्रतिक्रिया 4