१० फागुन, हेटौंडा । गत असोजमा मकवानपुरको सिस्नेरीस्थित पहिरोमा परी ज्यान गुमाएका एन्फा एकेडेमीका प्रशिक्षार्थी बालक अनुपम घलानको स्मृतिमा भएको अण्डर–१६ फुटबलको उपाधि हेटौंडा उपमहानगरपालिकाको १५ नम्बर वडाले जितेको छ ।
हेटौंडा–१२ घर भएका स्वर्गीय घलानको स्मृतिमा उपमहानगरपालिकाको नगर खेलकुद विकास समितिले पहिलो पटक नगरस्तरीय अण्डर–१६ फुटबल प्रतियोगिता आयोजना गरेको थियो ।
शनिवार भएको फाइनलमा १५ नम्बर वडाले १८ नम्बर वडालाई सडनडेथमा पराजित गर्यो । विजेता १५ नम्बर वडाले नगद एक लाख रुपैयाँसहित ट्रफी हात पारेको छ ।
उपविजेता बनेको १८ नम्बर वडाले ७० हजार रुपैयाँमा चित्त बुझाएको छ । निर्धारित समय र पेनाल्टी सुटआउटमा समेत बराबरी भएपछि सडनडेथमार्फत निर्णय लिइएको थियो । सेमिफाइनलमा १५ नम्बर वडाले ८ नम्बर वडालाई र १८ नम्बर वडाले ९ नम्बर वडालाई हराएर उपाधि होडमा पुगेका थिए ।
फाइनल खेलको म्यान अफ दी म्याच १५ नम्बर वडाका गोलरक्षक विकेश थिङ भए । विकेश नै प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक घोषित भए । उत्कृष्ट डिफेन्डर १५ नम्बर वडाका नविन लो, मिडफिल्डर १८ नम्बर वडाका साजन लोप्चन, फरवार्ड १५ नम्बर वडाका रेहान घलान र उत्कृष्ट प्रशिक्षक १५ नम्बर वडाका उज्वल वाइबा घोषित भए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी १८ नम्बर वडाका अभिराज थापा मगर भए । उनले नगद १० हजार र बाँकी विद्यागत उत्कृष्ट खेलाडीले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी पाएका छन् ।
पिप्ले क्याम्पा रंगशालामा भएको प्रतियोगितामा हेटौंडाका १९ वटा वडामध्ये १० वटा वडाको सहभागिता थियो ।
नगर खेलकुद विकास समितिले अनुपम घलानको स्मृतिमा हरेक वर्ष प्रतियोगिता आयोजना गर्ने समितिका अध्यक्ष रविन्द्र घिमिरेले जानकारी दिए । सिस्नेरीको बत्सलादेवी माविमा राखिएको एन्फा एकेडेमीका ४० जना बाल प्रशिक्षार्थी कुलेखानी जलाशयबाट छोडिएको पानीले सिस्नेरी खोलामा बाढी आएपछि सुरक्षित स्थानतर्फ जाने क्रममा १२ असोज बिहान ६ बजे पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया 4