१० फागुन, काठमाडौं । मछिन्द्र एफसीको लागि शनिवारको दिन खुशीको दिन बन्यो । ए डिभिजन क्लब मछिन्द्रले दुई टिम बनाएर पूर्वमा इटहरी गोल्डकप र बागमती गोल्डकपमा एक साथ प्रतिस्पर्धा गरिरहेको थियो । त्यसमा पनि शनिवार दुवैतिर महत्वपूर्ण खेल थियो । मछिन्द्रले दुवैतिर जित्यो अर्थात दुवैतिर लड्डु भयो ।
१५औं इटलरी गोल्डकपमा फाइनल जित्दै च्याम्पियन बनेको मछिन्द्र बागमती गोल्डकपमा सेमिफाइनल जित्दै फाइनल प्रवेश गरेको छ ।
गोलकिपर विशाल श्रेष्ठको कप्तानीमा रहेको मछिन्द्रले सगरमाथा युथ क्लबलाई २-० ले पराजित गर्दै इटहरी गोल्डकपमा उपाधि जितेको हो । अर्कोतिर डिफेण्डर देवेन्द्र तामाङको कप्तानीमा मछिन्द्रले थ्री स्टार क्लबलाई हराएर बागमती गोल्डकपको फाइनल पुगेको हो ।
मछिन्द्रले कप्तान विशाल सहित पहिलो रोजाईँका सनिश श्रेष्ठ, विशाल घलानसहित केही खेलाडी इटहरीमा खेलाएको थियो । विदेशी खेलाडीहरु मलिक युसुफ, ओमालाजा करिम पनि इटहरीमा खेलेका थिए ।
मछिन्द्रलाई इटलरीमा च्याम्पियन बनाउन विदेशी खेलाडी मलिक युसुफ र ओमुलाजा नुरैन करिमले गोल गरे । युसुफले खेलको चौथो मिनेटमै अग्रता दिलाएका थिए भने ओमालाजाले खेल सकिन पाँच मिनेटअघि गोल गरेका थिए ।

यस सिजन मछिन्द्रको यो पहिलो उपाधि हो । मछिन्द्रले इटहरीमा पहिलो पटक खेल्दा नै उपाधि जितेको हो ।
यसअघि मछिन्द्र पाँचथरमा भएको फाल्गुनन्द गोल्डकपमा चर्च ब्वाइजसँग फाइनलमा पराजित भएको थियो । इटहरी गोल्डकप च्याम्पियन बनेको मछिन्द्रले ट्रफीसहित नगद १० लाख पुरस्कार हात पार्यो भने उपविजेता सगरमाथाले ५ लाख पायो ।
फाइनल खेलको प्लेअर अफ द म्याच सगरमाथाका कप्तान अशोक खवास चुनिए । उनले १० हजार पाए ।
सगरमाथाका कुलदीप कार्की सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले १ लाख प्राप्त गरे । अन्य विधागतर्फ मछिन्द्रकै खेलाडीको वर्चस्व रह्यो । मछिन्द्रका विशाल श्रेष्ठ उत्कृष्ट गोलकिपर, सनिश श्रेष्ठ उत्कृष्ट डिफेन्डर, विशाल घलान उत्कृष्ट मिडफिल्डर, मलिक युसुफ उत्कृष्ट फरवार्ड घोषित भए । मछिन्द्रकै सन्तोष न्यौपाने उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्टहरूले २०-२० हजार पुरस्कार प्राप्त गरे । प्रतियोगिताभर ४ गोल गरेका मछिन्द्रकै मलिक युसुफले सर्वाधिक गोलकर्ता बन्दै नगद २५ हजार प्राप्त गरे ।
आयोजक राष्ट्रिय जागृति क्लबका सविन घिमिरे उदीयमान खेलाडी घोषित भए । उनले ३२ इन्चको एलईडी टिभी प्राप्त गरे ।
यसैगरी बागमती गोल्डकपको सेमिफाइनलमा मछिन्द्रका लागि शिशिर लेखी, समिराज थोकर र स्टेफेनले एक-एक गोल गरे । थ्री स्टारका लागि एलेक्सले एक गोल गरे । थ्री स्टारले सुरुवाती अग्रता लिएपनि मछिन्द्रले पुनरागमन गर्दै जित हात पारेको हो ।
बागमती गोल्डकपमा मछिन्द्रले देवेन्द्रसहित छिरिङ गुरुङ, प्रदिप भण्डारी, समिराज थोकर लगायत केही विदेशी खेलाडीलाई बागमती गोल्डकपमा उतारेको थियो । यस्तै शिशिर लेखी, रोशन राना मगर, रनदिप पौडेल जस्ता खेलाडीलाई बागमती गोल्डककपा लागि भित्र्याएको थियो । बागमती गोल्डकपमा मछिन्द्रले विदेशी खेलाडीमा फ्लोरेन्ट कोरा, सोला एडेकुनले र स्टेफेन जालोइलाई खेलाएको थियो ।

प्रतिक्रिया 4