+
आईसीसी च्याम्पियन्स ट्रफी :

च्याम्पियन्स ट्रफी क्रिकेटमा आज भारत र पाकिस्तान भिड्दै

२०८१ फागुन  ११ गते ७:१७ २०८१ फागुन ११ गते ७:१७
च्याम्पियन्स ट्रफी क्रिकेटमा आज भारत र पाकिस्तान भिड्दै

११ फागुन, काठमाडौं । पाकिस्तान र यूएईमा जारी नवौं संस्करणको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा आज बहुप्रतिक्षित खेल हुँदैछ । समूह ए अन्तर्गतको खेलमा भारत र पाकिस्तान आमनेसामने हुँदै छन् ।

भारत पाकिस्तान नगएकाले भारतका खेलहरू यूएईको दुबईमा हुने तय छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा दिउँसो पौने ३ बजेदेखि खेल सुरु हुनेछ ।

भारतले आफ्नो पहिलो खेलमा बंगलादेशलाई हराएको थियो भने पाकिस्तान न्युजिल्याण्डसँग पराजित भएको थियो । त्यसकारण पाकिस्तानलाई यो महत्वपूर्ण खेल जित्नैपर्ने दबाब हुनेछ ।

पाकिस्तान यस खेलमा पराजित भए सेमिफाइनल सम्भावना लगभग समाप्त हुनेछ । भारत आज विजयी भएर सोमबारको खेलमा न्युजिल्याण्डले बंगलादेशलाई हराएमा पाकिस्तान र बंगलादेश एक खेलअगावै बाहिरिने छन् ।

पछिल्लोपटक सन् २०१७ को च्याम्पियन्स ट्रफी फाइनलमा भारतलाई हराएर पाकिस्तानले उपाधि जितेको थियो । उक्त फाइनलमा खेलेका दुवै टोलीका केही खेलाडीहरू अहिले पनि टिममा छन् ।

समूह ए अन्तर्गतका खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई ६० रनले हराएको थियो भने भारतले बंगलादेशलाई ६ विकेटले हराएको थियो ।

मार्च ९ सम्म चल्ने प्रतियोगितामा ८ टोलीको सहभागिता छ । ८ टोलीहरूलाई दुई समूहमा विभाजित गरिएको छ ।

समूह ए मा भारत, पाकिस्तान, न्युजिल्याण्ड र बंगलादेश रहेका छन् भने समूह बी मा अस्ट्रेलिया, दक्षिण अफ्रिका, इंग्ल्याण्ड र अफगानिस्तान रहेका छन् ।

हरेक समूहबाट सिंगल राउण्ड रोबिनका खेलपछि शीर्ष दुई टोलीहरू सेमिफाइनलमा प्रवेश गर्ने छन् ।

आईसीसी च्याम्पियन्स ट्रफी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय