११ फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा चेल्सी र आर्सनलले हार व्यहोरेका छन् । चेल्सीलाई एस्टन भिल्लाले तथा आर्सनललाई वेस्ट ह्यामले हराएका हुन् ।
एस्टन भिल्लाले घरेलु मैदानमा भएको खेलमा पुनरागमन जित निकालेको हो । चेल्सीले सुरुमा अग्रता लिएपनि एस्टन भिल्लाले पुनरागमन गर्दै २-१ को जित निकालेको हो ।
नवौं मिनेटमा एन्जो फर्नान्डेजको गोलमार्फत चेल्सीले खेलमा अग्रता लिएको थियो । दोस्रो हाफको ५७औं र ८९औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै भिल्लालाई जित दिलाए ।
जितपछि भिल्ला २७ खेलमा ४२ अंकसहित सातौं स्थानमा छ भने चेल्सी ४३ अंकका साथ छैटौं स्थानमा छ ।
गएराति नै भएको खेलमा आर्सनल घरेलु मैदानमै वेस्ट ह्यामसँग पराजित भयो । ४४औं मिनेटमा जेरार्ड बोवेनले गरेको गोल नै वेस्ट ह्यामको जितमा निर्णायक बन्यो ।
वेस्ट ह्याम १६ खेलमा ३० अंकसहित १६औं स्थानमा छ । पराजित आर्सनल ५३ अंकसहित दोस्रो स्थानमा छ ।
गएराति नै भएका अन्य खेलमा टोटनहामले इप्सविच टाउनलाई ४-१ ले हराउँदा ब्राइटनले साउथह्याम्पटनलाई ४-० तथा वल्भ्सले बर्नमाउथलाई १-० र क्रिस्टल प्यालेसले फुलहामलाई २-० ले हरायो ।
प्रतिक्रिया 4