+
+
Shares
वार्ता : मोहनविक्रम सिंह :

‘मसाल मात्रै होइन, कम्युनिष्ट आन्दोलन नै पतनोन्मुख अवस्थामा छ’

मसाल मात्र होइन, संसारकै कम्युनिष्ट आन्दोलन पतनोन्मुख अवस्थामा छ । अवसरवाद व्यक्तिवादले खाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ११ गते २१:३७

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह यतिबेला ९० वर्षको उमेरमा लेखिसकिएको १३२० पृष्ठ मोटो उपन्यास ‘का. जलजला’ का कारण चर्चामा छन् । उनले आफ्नो किताबलाई साहित्यसँगै इतिहास, दर्शन समेत मानेका छन् ।

कुनै बेला प्रचण्ड, बाबुराम भट्टराई, मोहन वैद्य, नारायणकाजी श्रेष्ठ आदि समेतका वैचारिक गुरु मानिने सिंह आकारमा निकै सानो कम्युनिष्ट पार्टी हाँकिरहेका छन् ।

अझै महामन्त्री पदमा कायम छन् । उनीसँग किताबका साथसाथै समसामयिक राजनीतिबारे बसन्त बस्नेतसइन्द्र राईले गरेको कुराकानी :

तपाईंले २३ वर्षको मिहिनेतपछि का. जलजला उपन्यास लेखिसक्नुभएछ । यो कस्तो खालको किताब हो ?

यो प्रेमको कथा त हो नै, त्योभन्दा बढी विश्वको दर्शन हो । पुस्तकभित्र दुई वटा विषयमा जोड छ । पहिलो, कुनै देशभन्दा पनि विश्वबन्धुत्व र अन्तर्राष्ट्रवादबाट मानव जगत हेरिएको छ । दोस्रो, मानवका रूपमा हाम्रो सोचाइ व्यक्तिवादी हुन्छ । हामीले व्यक्ति स्वार्थप्रधान भन्दा समस्त समाजको हितलाई ध्यानमा राखेर काम गर्नुपर्छ भन्ने मनोविज्ञान यसमा छ ।

सारा संसारलाई आमामय बनाउनुपर्छ भन्ने मेरो किताबमा विशेष जोड छ । संसारमा आमाको माया सर्वश्रेष्ठ मानवीय गुण हो । कुनै स्वार्थको भावना नराखी अरूलाई सुख दिने सोच आमामा हुन्छ । समाजमा यही सोच फैलाउन सके विषाक्त प्रकारको दृष्टिकोण हटाउन सकिन्छ । मेरो किताबमा यही कुरा छ ।

तपाईंले किताब लेख्दा बेलामा नेपालमा कत्रा परिवर्तन भए । पात्र र अनुहार नै फेरिए । तपाईं किताबमै दत्तचित्त ?

होइन, पार्टीका महाधिवेशन, भेला, बैठकबाट समय निकाल्दै किताब लेखेको । सरासर लेखेको भए छिटै सकिन्थ्यो ।

यो साहित्य हो कि राजनीतिक किताब ?

साहित्य नै हो, तर त्यससँगै विश्वको इतिहास, राजनीति, दर्शन छ । राजनीति सबैतिर हाबी हुन्छ । मैले साहित्यकै रूपमा बढ्ता होस् भन्ने चाहना छ । रामायण साहित्यिक कृति हो, तर यसमा राजनीति लगायत पनि छन् । महाभारत पनि साहित्य सँगै दर्शन, नीति, राजनीति हो । जीवनका धेरै पक्ष त्यसमा समेटिएका छन् । मूलभूत रूपमा साहित्यिक प्रस्तुति नै त्यसमा छ ।

पार्टी संगठनमा अरूभन्दा सानो भएकाले आफ्ना विचार बुझाउन साहित्यको सहारा लिनुभएको हो ?

मसाल मात्र होइन, संसारकै कम्युनिष्ट आन्दोलन पतनोन्मुख अवस्थामा छ । अवसरवाद व्यक्तिवादले खाएको छ ।

त्यो पनि होला, तर राजनीतिको क्षेत्रभन्दा साहित्यको क्षेत्र धेरै हुन्छ । राजनीति क्षेत्रको इतिहास भूगोलमा होला । साहित्यले युरोपदेखि, भारतसम्म अन्य क्षेत्रको समेत भावना समेट्छ ।

युरोपको गौरवमय इतिहास, हिटलरसँग्को संघर्ष, सोभियत रूसको समाजवादको यात्रा, राजतन्त्रसँगको लडाइँ देख्न सक्छौं । लेनिनग्राद स्टालिनग्रादका पनि विषय आउँछन् । मेरो जीवनले राजनीतिको क्षेत्र जति समेटेको छ, साहित्यले त्यो भन्दा बिल्कुल बढी क्षेत्र समेटेको छ ।

राजनीतिलाई मानिसले तात्कालिक व्यावसायिकताको क्षेत्र भन्छन् । तपाईंको पार्टीमा चाहिं अहिले तत्काललाई के चलिरहेको छ ?

मसाल मात्र होइन, संसारकै कम्युनिष्ट आन्दोलन पतनोन्मुख अवस्थामा छ । अवसरवाद व्यक्तिवादले खाएको छ । यहाँ पनि तुक्रा टुक्रामा कम्युनिष्ट पार्टी भए । यसको असर मसालमा पनि परेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टीको आदर्श कमजोर भएको छ । तर मार्क्सवाद र लेनिनवादको क्रान्तिकारिता पतनोन्मुख हुन सक्दैन । त्यो आदर्शको महत्व अझै बढी छ ।

कम्युनिष्ट पतन हुँदै जानुमा कम्युनिष्टको गल्ती के हो ?

मुसलमानको आदर्श मुस्लिम धर्मका आदर्श पालना गर्नु हो । बुद्ध धर्मको पालना गर्नेले पनि आफ्नो मान्यतामा अडिग हुनुपर्छ । तर रामबहादुर बम्जन जस्ता पनि हुन्छन् नि ! गलत मुस्लिम पनि हुन्छन् । हरेक धर्ममा गलत व्यक्ति हुन सक्छन् । तर केही व्यक्तिले गलत गरे भन्दैमा आफ्नो आदर्शमा काम गर्नेहरूलाई गलत भन्न सकिंदैन ।

मेरो जलजला उपन्यासमा युवाहरूको पतनोन्मुख अवस्थाबारे पनि चित्रण गरेको छ । एकेडेमीले दर्शनावली भन्ने किताब निकालेको थियो, त्यसमा मैले विभिन्न धर्मको पनि चर्चा गरेको छु ।

पार्टीमा काम गर्नु भनेको व्यक्तिगत फाइदा, भ्रष्टाचार, चोरी गर्न होइन । यसो गर्नलाई हो भने किन कम्युनिष्ट बन्ने ? बुर्जुवामा पनि धेरै आदर्श नेता छन्, जसले जनताको लागि सर्वस्व त्याग, बलिदानी गरेका छन् ।

असर तपाईंको पार्टीमा पनि छ ? पतन नै भइरहेको छ ?

हो ।

नेपालमा तपाईंले भनेको जस्तो पार्टी बन्न सम्भव नै छैन भन्छन् नि ? मोहनविक्रम बन्लास् भनेर चेतावनी दिन्छन् !

त्यसो भन्छन्, तर हामी निराश छैनौं । मान्छे व्यक्तिवादी हुँदै गए भनेर मैले आम मानिसको कुरा गर्न छाड्दिनँ । आफ्नो जीवनको बलिदान गर्ने कम्युनिष्ट मात्रै छैनन्, विभिन्न राजनीतिक विचार मात्रै होइन, धार्मिक समूहले पनि राम्रा काम गर्छन् । कतिपय क्रिश्चियनहरूलाई हेर्नोस् । क्रिश्चियनहरूले आफ्नो सम्पूर्ण जीवन समर्पण गरेर काम गरेका हुन्छन् । त्यसैले लेनिनले समाजको सेवा गर्ने कुरा हामीले क्रिश्चियनहरूसँग सिक्नुपर्छ भनेका छन् । मदर टेरेसाहरूको कुरा गरौं, उनीहरू आफ्नो जीवन समर्पण गरेर काम गरेका हुन्छन् ।

मैले यो उपन्यासमा सरला बाहुनको चर्चा गरेको छु । उनी एउटा क्रिश्चियन हुन्, इण्डियामा आएर काम गरिन् । सारा जीवन त्यहाँका केटाकेटी र बच्चाका निम्ति समर्पण गरिन् । त्यसैले यो दृष्टिकोण समाजमा अभाव छैन । त्यसलाई मार्क्सवादी दर्शनले उत्तम ढंगले प्रस्तुत गरेको छ ।

जसरी मर्यादा पुरुषोत्तमको कल्पना रामायणमा मात्रै रह्यो, त्यसैगरी तपाईंको आदर्श कम्युनिष्ट चाहिं कतै जलजला उपन्यासमा मात्रै रहने त होइन ?

त्यस्तो होइन । अहिले पनि संसारमा ठूलो संख्यामा मानिस त्यसै बिग्रिएर गएका छन् भन्ने होइन । समाजमा पतनको प्रवृत्ति त सधैं रहने भए । पतनका सोचाइहरू पनि रहने गरेका छन्, त्यसका विरुद्ध संघर्षका सोचाइहरू रहने गरेका छन्, त्यसका प्रतिरोधका विचारहरू राख्ने गरेका छन् । समाजमा यस्ता धेरै छन्, जसले कम्युनिष्ट नभए पनि त्याग बलिदानद्वारा समाजको सेवा गरिरहेका छन् ।

म आमाकै उदाहरण दिन्छु, आमा कम्युनिष्ट हुँदैनन् सबै । तर मानव जातिमा हुनुपर्ने उच्च प्रकारको गुण हो, त्यो उनीमा (आमासँग) विद्यमान छ । शायद उनले आफ्ना सन्तानहरूप्रति मात्र त्यस्तो प्रकारको दृष्टिकोण प्रकट गरेका छन् । तर छ नि, बलिदानको भावना, त्यागको भावना, निस्वार्थ काम गर्ने भावना । त्यस्ता लाखौं करोडौं महिला छन् । त्यसैले मानव समाजमा यस्तो खाले प्रवृत्ति हराएको छैन, विद्यमान छ ।

र, त्यो सम्पूर्ण समाजमा आउन सक्छ । त्यसकारण हामीले जस्तो दृष्टिकोणको कुरा गरेका छौं त्यो विद्यमान सम्पूर्ण महिलामा छ । मानव जातिमा पनि छ । जसरी समाजमा सबै चोर हुँदैनन्, डाँकू र भ्रष्टाचारी हुँदैनन् । जस्तो– म लखनऊ गएको थिएँ । त्यहाँ जुत्ता सिलाउन दिएको थिएँ । उनले सिलाइको अढाइ रुपैयाँ भनेका रहेछन्, मैले चार रुपैयाँ सुनेछु । उनी रिसाए । ‘हाम हरामको नही खाते हें, हाम परिश्रमको खाते हें’ भन्दै बाँकी पैसा फिर्ता दिए । यस्ता पनि मानिस छन् । फेरि कोही जुत्ताभर काँटी मात्र ठोकेर ठग्ने प्रवृत्ति पनि छ ।

यो भनेको कम्युनिष्टमा पनि त्यस्तो प्रवृत्ति छ । तर सबै त्यस्तो छ भनेको होइन । समाजका मानिसमा आदर्शवादी प्रवृत्तिहरू जन्मजात छन् । आमा विम्बका रूपमा देखाएको हो । संसारभर त्यस्ता प्रवृत्ति छन् ।

त्यसकारण कम्युनिष्टमा अहिले रूस, चीन र हाम्रै पार्टीमा पनि केशरजंग रायमाझीहरू पनि देखिए । उनी हाम्रो पार्टीमा महामन्त्री थिए । तर सम्पत्तिका लागि राजासँग मिल्न पुगे । कांग्रेसमा पनि त्यस्तो प्रवृत्ति छ । अरू पार्टीमा पनि छ । हाम्रो पार्टीबाट पनि कैयौं मानिस राजासँग मिल्न गए । समाजमा यस्ता प्रवृत्तिहरू छन् ।

तपाईंसँगै रहेका प्रचण्ड, बाबुराम, नारायणकाजीहरूले छुट्टै बाटो रोजे । अहिले उनीहरूसँगै धेरै मानिस छन्, तपाईंतिर कम मान्छे छन् । कतै आफ्नै कमजोरीले यस्तो भइरहेको त छैन भन्ने आत्मसमीक्षा गर्नुभएको छ ?

मार्क्सवाद, लेनिनवाद, द्वन्द्ववादले के भन्छ भने समाजमा सकारात्मक र नकारात्मक  प्रवृत्तिहरू आइराख्छन् । कुनै बेला सकारात्मक प्रवृत्ति हाबी हुन्छन्, कुनै बेला नकारात्मक प्रवृत्ति हाबी हुन्छन् । तर मूल रूपमा समाजको विकासको यात्रा उच्च आदर्शतिरै हुन्छ । जहाँसम्म पार्टी सानो र ठूलो हुने कुरा हो, त्यो पनि स्थितिमाथि निर्भर हुन्छ । कुनै एउटा स्थितिमा एउटा पार्टी ठूलो भएर जान्छ, अर्को स्थितिमा कमजोर भएर जान्छ ।

जस्तो– पञ्चायती व्यवस्थाको विरुद्ध हामीले संघर्ष गर्‍यौं, कुनै बेला त्यो कमजोर भयो र कुनै बेला शक्तिशाली भयो । राजतन्त्र–पञ्चायती व्यवस्थालाई फाल्यौं । ठीक यसै गरेर प्रवृत्तिहरू कुनै बेला कमजोर हुन्छन् भने त्यो सधैं कमजोर हुँदैन र शक्तिशाली हुन्छ भने त्यो सधैं शक्तिशाली हुँदैन । यो द्वन्द्ववादको नियम हो ।

तर द्वन्द्ववादकै कुरा गरिरहँदा कतै म आफैं पो एकांकी भएँ कि भन्ने सोच आउँदैन ?

त्यो होइन । किनभने द्वन्द्ववादले सकारात्मक र नकारात्मक प्रवृत्तिहरू हुन्छन् भन्छ । तर समाजको मूल विकासक्रम के हो भने निम्नस्तरबाट माथि जान्छ ।

यदि सबै मानिसले आफ्नो व्यक्तिगत स्वार्थका निम्ति मात्र काम गरेको भए समाजमा दासयुग कायम हुन्थ्यो । सामन्तवाद कायमै हुन्थ्यो, सबै देशमा राजतन्त्र कायमै हुन्थ्यो । तर मानिसले आफ्नो व्यक्तिगत हितका निम्ति मात्रै काम गर्दैनन् । समाजका निम्ति पनि काम गर्छन् । त्यसले समाजको विकास भइरहेको छ ।

मूल प्रवृत्ति समाज निम्नस्तरबाट उच्च स्तरतिर लैजान सक्छौं भन्ने मलाई विश्वास छ । यो उपन्यासले पनि त्यही प्रकारणको आशा र विश्वासमा जोड दिएको छ ।

अर्थात् मोहनविक्रम सिंह देशको प्रधानमन्त्री नभए पनि समाजलाई उच्च स्तरतिर लैजाने काममा योगदान/भूमिका छ भनेर बुझौं ?

को प्रधानमन्त्री बन्छ, को राष्ट्रपति बन्छ वा बन्दैन त्यो मुख्य कुरा होइन । रूसमा भनौं करोडौं मानिस कम्युनिष्ट भएर काम गरे, सबै लेनिन बन्न सकेनन् । सबै प्रधानमन्त्री र राष्ट्रपति बन्न सकेनन् । प्रधानमन्त्री र राष्ट्रपति बन्नलाई मात्रै काम गर्ने हो भने विशुद्ध व्यक्तिवादी दृष्टिकोण हो ।

मैले महामन्त्री बनेर मात्र काम गर्ने भन्ने त होइन । प्रधानमन्त्रीको कुरा पनि त्यही हो, राष्ट्रपतिको कुरा पनि त्यही हो ।

कम्युनिष्टले के कुरामा जोड दिन्छ भने कति फाइदा हुन्छ भन्ने आधारमा होइन, हामीले समाजलाई कति सहयोग गर्‍यौं भन्ने ध्यान दिएर कुरा गर्नुपर्छ । जस्तो– यो उपन्यासमा मैले भगवतगीताको उदाहरण दिएको छु । गीताको निष्काम सेवाभाव कम्युनिष्टको आदर्शसँग मेल खान्छ । निष्काम सेवाले के भन्छ भने हामीले प्राप्तिको आशा नगरिकन आफ्नो कर्तव्य पूरा गर्नुपर्छ ।

गीताले फलको आशा सबै भगवानलाई दिनुपर्छ भनेको छ, हामी त्यो भन्दैनौं । तर हामीले जे परिश्रम गर्छौं, त्यो परिणाम जनता, देश, समाज, पार्टी र क्रान्तिका लागि समर्पण गर्ने हो ।

तर कैयौं कम्युनिष्ट त्यो सिद्धान्तबाट विचलित भएका हुन्छन् । उसले के सोच्छ भने मैले काम गरेको छु । त्याग गरेको छु । बलिदान गरेको छु । जेल गएको छु । यी सबैबाट मलाई कति फाइदा हुन्छ भनेर सोच्छ । जुन दिन मलाई कति फाइदा हुन्छ भन्ने विन्दुबाट सोच्न थाल्दछ, त्यही दिनबाट उसको पतन शुरु हुन्छ ।

प्रत्येक मानिसले प्रधानमन्त्री हुनुपर्छ, राष्ट्रपति हुनुपर्छ भन्ने होइन । हामी प्रधानमन्त्री वा राष्ट्रपति बनौं या नबनौं, निष्काम भावले काम गर्नुपर्छ ।

मानौं– तपाईंलाई चाहिं प्रधानमन्त्री वा राष्ट्रपति प्रस्ताव आयो भने …

त्यो त स्थिति कस्तो हुन्छ भनेर सोच्नुपर्छ । म अहिले पार्टीको महामन्त्री छु । यदि मेरो पार्टीमा अर्को महामन्त्री बन्यो भने पनि मैले काम गर्नुपर्छ । मैले महामन्त्री बनेर मात्र काम गर्ने भन्ने त होइन । प्रधानमन्त्रीको कुरा पनि त्यही हो, राष्ट्रपतिको कुरा पनि त्यही हो ।

तपाईंले सोचे जसरी फ्याट्ट प्रस्ताव आयो भने हुन पनि सकिन्छ ?

सत्ताबाट बाहिर हुन्छौं भन्ने कुरा होइन । तर सत्तामा म नै हुनुपर्छ, म नै राष्ट्रपति हुनुपर्छ भन्ने सोच्न थाल्यो भने त्यो पतन हुन्छ । त्यो अवस्थामा सिद्धान्त र नीतिको केही अर्थ हुँदैन । जुन सिद्धान्त भए पनि सौदाबाजी गर्ने र भ्रष्ट बाटोमा लैजाने हुन्छ । उसको पार्टीलाई पनि भ्रष्ट बनाएर लैजान्छ । त्यसपछि त आन्दोलन नै समाप्त भएर जान्छ ।

अरू कम्युनिष्ट अलिक संक्षेपमा आफूलाई प्रस्तुत गर्ने गरेको पाइन्छ । तर तपाईंले त किताब नै यति ठूलो लेख्नुभएको छ, तपाईंको आदर्श पनि अलिक कडै छ । कतै शैलीगत समस्या मसँग छ भन्ने लाग्दैन ?

किताब ठूलो वा सानो भन्ने कुरा त्यसको अन्तरवस्तुमा भर पर्छ । रामायण सानो महाकाव्य भयो, त्योभन्दा महाभारत लामो महाकाव्य भयो । कतिपय हाम्रा दस्तावेज साना पनि हुन्छन्, कहीं दुई चार सय पेजका पनि हुन्छन् । कुनै बेला मार्क्सले लेखेका दस्तावेज साना पनि छन्, कुनै क्यापिटल जस्ता अत्यन्तै ठूला पनि छन् । जसलाई मार्क्स आफैंले पूरा गर्न सकेनन् र एेंगेल्सले पूरा गर्नुपर्‍यो । क्यापिटलको चौथो भाग उनले पनि पूरा गर्न सकेनन् । त्यसकारणले आकार ठूलो र सानो होइन, त्यसका विषय मुख्य कुरा हो । पानी कहिले खोल्सा हुन्छ, कहिले सागर ।

मोहनविक्रम सागर भएर बस्ने हो भने त्यो बुझ्न नसक्नेहरू पानीमा छिर्दै नछिर्ने भए नि ?

प्रत्येक व्यक्ति सागर हुन् मेरो विचारमा । लेख्ने कुरामा मात्र फरक पर्छ । हरेकले आफ्नो विचार प्रकट गरिरहेका हुन्छन् । जसले लेख्न सक्दैनन्, घरव्यवहार गरेर बसिरहेका हुन्छन्, उनीहरूकै कुरा सुन्नुस् । प्रत्येक व्यक्ति महासागर नै हुन्छन् । प्रत्येक मानिसको विषयमा उपन्यास लेख्न सकिन्छ ।

तर समाजमा धेरै मानिस अध्ययन गर्दैनन् । धेरै मानिस नाच्दैनन् । धेरै मानिसले गीत गाउँदैनन् । म नाच्न सक्दिनँ, तर एउटा मानिस जीवनभर नाचिरहेका हुन्छन् । उनीहरू लेख्न सक्दैनन् । लेख्न सक्दैनन् भन्नुको अर्थ उनीहरूको महत्व छैन भन्ने हुँदैन । ठीक छ, उनीहरूले लेख्न सकेनन् । तर नाच्न त सके नि ! गीत त गाउन सके नि !

दोहोरी गाउनेहरूले लेख्न सक्दैनन् । तर दोहोरी त जुराई–जुराई गाइरहेका हुन्छन् नि ! त्यहाँ छ, उसको प्रतिभा । मान्छेका जीवनका धेरै पक्षहरू हुन्छन् । लेख्ने एउटा पक्ष हो । लेख्न नसक्ने मानिलाई महत्वहीन भन्न हुँदैन ।

तर दर्शन नबुझिकन केवल दर्शनको कुरा गर्दा समाजको दिशा अर्कैतिर जाने खतरा पनि होला नि ?

दर्शनले गलत दिशामा लगेको छ । अध्यात्मवादी दर्शनलाई भनौं, प्लेटलाई भनौं, उसले भन्छ– यो संसार वास्तविक होइन । यो भन्दा माथि अर्को दिव्य लोक छ । दिव्य मूर्तिहरू छन् । यहाँका मानिसहरू सबै त्यसैका नक्कल हुन् । कतिपय दर्शनले यो संसारको अस्तित्वलाई नै अस्वीकार गर्छन् ।

त्यसकारण दर्शनले सही कुरा मात्र सिकाउँछ भन्ने होइन । गलत कुरा पनि सिकाउँछ । एउटा दर्शनले ईश्वर छ भन्छ, अर्को दर्शनले ईश्वर छैन भन्छ । अब हिन्दू धर्मले हिंसालाई ठूलो महत्व दिन्छ । बुद्ध दर्शनले हिंसालाई अस्वीकार गर्छ । दर्शनले बेग्लाबेग्लै दिशामा लगिरहेको छ । राजनीति नेतृत्वको सवालमा पनि यो कुरा लागू हुन्छ ।

माओवादीले  हिंसाको बाटो समाते । युद्ध गलत नै हो । तर, अन्याय अत्याचारबाट बचाउनलाई युद्ध गरिन्छ भने त्यो न्यायपूर्ण युद्ध हो । हिंसा पनि सही गलत दुवै प्रकारका हुन्छन् ।

अहिले नेतृत्व गरिरहेकाले सही तरिकाले नेतृत्व गरिरहेका छैनन् भन्ने तपाईंको भनाइ हो ?

कैयौं राजनीति गर्नेहरूले मानिसलाई गलत दिशातिर लगिरहेका छन । हिटलरको राजनीति भन्नु न । उसले जातीयवादको राजनीति ल्यायो । जर्मनीको जुन जाति हो, संसारको श्रेष्ठ जाति हो । यहुदीलाई त उसले नष्ट नै गर्‍यो । ६० लाख यहुदीलाई हत्या गर्‍यो ।

राजा हुने शासन प्रणाली राम्रो हो, त्यसलाई कायम राख्नुपर्दछ, त्यसलाई पूजा गर्नुपर्छ भन्ने पनि छन् । अर्कोले भन्छ, राजा गलत हो । प्रणाली गलत हो भन्छ । यो त दर्शन, राजनीति, सिद्धान्त के हो ? व्यवहारको कुरा हो । कसैले चोरी गर्नुलाई राम्रो बताउँछन् । जेलमा म चोर, डाँकाहरूसँग बसें । उनीहरूसँग बहस धेरै हुन्थे ।

तपाईं आफैं सशस्त्र युद्धमा नगए पनि तपाईंले माओवाद पढाएकाहरूले जे गरे त्यसले नेपाल धेरै पछि परेको एक पक्षले व्याख्या गर्दछन् । अर्को पक्षले युद्धले धेरै ठूलो छलाङ मारेको व्याख्या गर्दछन् । तपाईंको दृष्टिकोणमा यो दर्शन ठीक थियो कि थिएन ?

नेकपा माओवादीले आफू मार्क्सवादी, लेनिनवादी दर्शनको आधारमा नै सशस्त्र संघर्ष सुरु भएको बताउँछ । हामीले त सुरुदेखि नै भन्दै आएका थियौं । उनीहरूले गरेको सशस्त्र संघर्ष मार्क्सवादी, लेनिनवादी दर्शनमा आधारित थिएन । त्यो गलत थियो । माओवादीले  हिंसाको बाटो समाते । युद्ध गलत नै हो । तर, अन्याय अत्याचारबाट बचाउनलाई युद्ध गरिन्छ भने त्यो न्यायपूर्ण युद्ध हो । हिंसा पनि सही गलत दुवै प्रकारका हुन्छन् ।

मार्क्सवादले त्यो कुरालाई स्पष्ट गरेको छ । मार्क्सवादले माओवादीको जस्तो सशस्त्र संघर्षलाई भड्काउ भनेको छ । त्यसकारण त्यो गलत थियो, त्यसकारण हामीले विरोध गरेका छौं । त्यसले त आतंकवादी रूप नै लिएको थियो । कैयौं ठाउँमा निरपराध मानिसको हत्या गरेका छन् । किरियापुत्रीको हत्या गरेका छन् । क्रान्तिको बाटो छोडेर आउनुपर्‍यो । निर्दोष मान्छेहरू मारिए । एमालेको बाटोलाई गलत भनेका थियौं । त्यसलाई गलत स्वीकार गरे ।

पानी, दूध, घिउ हाम्रो स्वास्थ्यको लागि उपयोगी हो । तर, जुनसुकै तरिका, अवस्था, परिणामले खानुभयो भने त पानीले नि फाइदा गर्दैन नि !

तपाईंबाट शिक्षा पाएकाहरूले गरेको कार्यले गर्दा गलत शिक्षा प्रदान भएछ भनी तपाईंलाई पश्चात्ताप पनि हुन्छ कि ? वैचारिक शिक्षा त तपार्इंले दिनुभएको हो नि ?

सशस्त्र संघर्ष गर्नुपर्छ हामीले भनेनौं । प्रचण्डहरूले त्यो बाटो समाते । हामीले देखाएको बाटोलाई छोडेर उनीहरू गलत बाटोमा गए ।

जुन नीति र सिद्धान्त सिकाएका थियौं, छाडेर उनीहरू गए । क्रान्तिकारी सिद्धान्तले भन्दा पनि जनवादी व्यवस्था ल्याउने महत्वाकांक्षाले काम गर्‍यो । व्यक्तिगत पद, प्रतिष्ठा प्राप्त गर्ने, प्रधानमन्त्री, राष्ट्रपति बन्ने महत्वाकांक्षाले बढी काम गर्‍यो । सिद्धान्त र जनवादी क्रान्तिका लागि होइन, आफ्नो व्यक्तिगत महत्वाकांक्षा पूरा गर्नका लागि उनीहरू बढी लागे ।

प्रधानमन्त्री नै बनाउन नसके पनि सांसद त तपाईंहरूले पनि बनाइराख्नुभएको छ नि ? यो संरचनाको तपाईंहरू पनि कहीं न कहीं हिस्सा त हो नि ? आधारभूत अन्तर के रह्यो र?

हामीले सांसद बन्नु नै गलत भन्यौं । यो संसदीय प्रणालीलाई गलत भनेका छौं । यो संसदीय प्रणालीले जनताका समस्याको समाधान हुँदैन । बारम्बार भनेका छौं । त्यसको अर्थ यसलाई उपयोग नै गर्नुहुँदैन भन्ने होइन । यो प्रणाली गलत छ भनेर सिद्ध गर्न उपयोग गरेका छौं । जनतालाई चेतना दिनका लागि प्रयोग गरेका छौं ।

कुनै कुरा गलत छ भने त्यसलाई किन उपयोग गर्ने ?

तरबारको प्रयोग गलत हो तर दुवै प्रकारले प्रयोग हुन्छ त्यो । निर्दोष मान्छेको हत्या गर्न पनि प्रयोग हुन्छ । डाँकालाई खत्तम गर्न पनि तरबारको प्रयोग हुन्छ । कुन रूपमा प्रयोग गर्ने त्यो महत्वपूर्ण कुरा हो । यो संसदीय प्रणाली गलत छ, यसलाई समाप्त गर्नुपर्दछ ।

तपाईंले लिइरहेको विचार नै परिवर्तन गर्नुपर्ने बेला आएको होइन र ? उपयोगको नीति भन्नेहरू नै त्यागेर नयाँ बाटो हिंडिसके ?

उपयोग गर्ने नीतिलाई आवश्यक परे त्याग्छौं पनि । उपयोग गर्छौं पनि । मुख्य कुरा त यसलाई उपयोग गरेर जनताकहाँ राजनीति लैजाने हो । जनतामा चेतना नभइकन यो व्यवस्था फाल्न सक्दैनौं ।

उपयोगको बीचमा पनि हजारौं लाखौं जनताकहाँ पुग्छौं । प्रचार गर्छौं । यो संसदीय प्रणाली गलत छ भनेर यसको दोषहरू देखाउँछौं । जनतालाई सचेत गर्ने प्रयत्न गर्छौं ।

संविधान त कम्युनिष्टहरूले पनि लेखेको हो नि ?

संविधान त कांग्रेस, कम्युनिष्ट, अरू सबै पार्टीहरूले लेखेका हुन् । संविधानमा हाम्रो कैयौं विरोधहरू थिए । कैयौं कुराहरूको आलोचना गर्‍यौं । संघीयताकै कुरा गर्नुस् । संघीयतामा जातीय राज्य गठन गर्ने कुराहरू थिए । विरोध गर्‍यौं । जातीय राज्यको गठन पनि भएन ।

जुन रूपमा प्रदेशहरू बने त्यसको विरोध गरेका थियौं । तराई, पहाड, मधेश मिलेर बन्नुपर्छ भन्यौं । यो संविधान बनाउने क्रममा ठूलो संघर्ष चलेको थियो । हाम्रो धेरै प्रस्तावहरू स्वीकृत भएको छैन । संघीयताका विरुद्ध अहिले पनि संघर्ष गरिरहेका छौं ।

पुष्पलालदेखि अहिलेका विप्लवसम्मलाई तपाईंले नजिकबाट बुझ्नुभएको छ । यिनीहरू लगायत नेपालका समग्र कम्युनिष्ट पार्टी र नेताको प्रवृत्तिबारे भनिदिनुस् न ?

कम्युनिष्ट आन्दोलन के कस्तो हुन्छ भन्ने कुरा उनीहरूको दृष्टिकोणमा भर पर्दछ । कम्युनिष्ट भनेकाहरू सबै कम्युनिष्ट जस्ता देखिंदैनन् । महत्वाकांक्षा पूरा गर्नका लागि कम्युनिष्ट बन्ने प्रयत्न गर्छन् ।

प्रचण्डहरूले शुरुमा जुन वक्तव्य दिए, त्यो दिंदा के भनेका थिए भने सत्तामा पुग्ने अवसर आयो भने नेतृत्वमा हुने कोही पनि सरकारमा जाँदैनौं । पछि त्यस्तो गरे ? सत्तामा जानु नै गलत हो भन्ने होइन । तर, सत्तामा जाँदा त्यसलाई प्राथमिकता दिएर जानुहुन्छ या आफ्ना सिद्धान्त, जनताको हितलाई प्राथमिकता दिएर जानुहुन्छ त्यो मुख्य चिज हो ।

सत्ता प्राप्त गर्नका लागि आज एउटा पार्टीमा हुने भोलि अर्कोमा जान्छ, पर्सि अर्कोमा जान्छ । या, सांसद बन्नको लागि अर्कोमा जान्छ । गाउँपालिकाको अध्यक्ष, वडा सदस्य बन्न पनि बदलिराखेका छन् । सत्ताका कारणले राजनीति बिर्सने हुन्छ । सिद्धान्तलाई तिलाञ्जली दिनुहुन्छ । त्यसलाई हामीले गलत बताएका छौं ।

भनेपछि हिजोको केशरजंग रायमाझीदेखि आजको माओवादीसँग एउटै प्रवृत्ति हो ? एउटा कुरा भन्ने र पछि सत्तामै गएर टुंगिने हो ?

सबैलाई समान त हामीले भन्दैनौं । रायमाझी जस्तै प्रचण्ड र विप्लव हो भनेर हामी त भन्दैनौं । उनीहरूमा कैयौं परिवर्तन भएको छ । राम्रो काम पनि गरेका छन् ।

राजतन्त्र विरुद्ध संघर्ष गरे । पञ्चायती व्यवस्था विरुद्ध संघर्ष गरे । त्यस्तो अवस्थामा यी सबैलाई एकै भन्न सही हुँदैन । आफूलाई केन्द्र बनाएर सत्ता सोच्ने जुन प्रवृत्ति हो, जहाँ पनि भएको छ । एउटा पार्टीबाट उम्मेदवार हुन पाएन भने अर्को ठाउँ जान्छ । कांग्रेसमा पाएन भने भोलि एमालेमा जान्छ । राप्रपामा जान्छ । यस प्रकारको प्रवृत्ति मूलभूत रूपमा एकै हो ।

तस्बिर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?