+
+
Shares

२२ दिनपछि अवकाशमा जाने डीआईजी एआईजीमा बढुवा सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ११ गते १२:०४

११ फागुन, काठमाडौं । २२ दिनपछि अवकाशमा जान लागेका प्रहरी नायब महानिरीक्षक (डीआईजी) जनक भट्टराईलाई गृह मन्त्रालयले बढुवा सिफारिस गरेको छ ।

मन्त्रालयमा आइतबार बसेको बढुवा समितिको बैठकले भट्टराईलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको हो । समितिको सिफारिसमाथि मन्त्रिपरिषद्ले एक साताभित्र निर्णय गर्नेछ ।

भट्टराई हाल कर्णाली प्रदेश प्रहरी कार्यालयमा प्रमुख छन् । वर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरका ब्याचमेट उनी आगामी ४ चैत राति १२ बजेदेखि अवकाशमा जानेछन् ।

सेवा अवधि बाँकी छँदै २७ माघमा एआईजी रवीन्द्र केसीले राजीनामा दिएपछि एउटा दरबन्दी खाली भएको थियो । तर, अवकाशको एक महिनाअघि केसीको राजीनामा आउँदा त्यसबेलै अर्का डीआईजीलाई बढुवा गर्न राजीनामा गराइएको भन्दै आलोचना भएको थियो ।

केसी पनि एक महिना अघि मात्र बढुवा सिफारिस भएका थिए । अधिकृतहरूका अनुसार, त्यसबेलै उनलाई अवकाश अगावै राजीनामा दिने सर्तमा बढुवा गराइएको कतिपयको दाबी छ । यसअघि निजामती सेवामा निश्चित व्यक्तिलाई बढुवा गर्न राजीनामा दिन लगाएर अन्यत्रको आकर्षक प्रस्ताव दिने चलन देखिँदै आएको थियो ।

तर, प्रहरीमा कसैलाई बढुवा गर्न राजीनामा गराइएको यो पहिलो घटना भएको अधिकृतहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?