
काठमाडौं । अंग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको आरशालामा आयोजना हुँदै आएको सांगीतिक कार्यक्रम ‘पलेंटी’मा यसपटक दार्जिलिङका प्रसिद्ध सांगीतिक परिवार प्रस्तुत हुने भएको छ ।
यस कार्यक्रमका लागि संगीतकार चन्दन लोमजेलले दार्जिलिङका सुप्रसिद्ध गीतकार नोर्देन रुम्बाका गीतमा धुन भरेर ल्याएका छन, जसलाई लोकप्रिय स्वरशिल्पी डेजी बराइली र विमोचना लोमजेलले गाउने छन् । यस कार्यक्रमलाई एउटै परिवारको पुरानो र नयाँ पुस्ताको सांगीतिक संगमको रुपमा पनि हेरिएको छ ।
‘पलेँटी’ २० वर्ष पहिलेदेखि संचालन हुँदै आएको कार्यक्रम हो । गीतकार रुम्बा दार्जिलिङको नेपाली साहित्यिक जगतमा स्थापित नाम हो । सन् १९४९ मा दार्जिलिङमा जन्मिएका रुम्बा ४० वर्षको उमेरसम्म मात्र भौतिक रुपमा यस संसारमा रहे तर उनले छाडेर गएका साहित्यिक रचना र गीतले अझै पनि नेपाली कला जगतलाई गुन लगाइरहेका छन् ।
सङ्गीतकार चन्दन लोमजेलकै धुनमा मूर्धन्य नेपाली गायक नारायणगोपालले स्वर दिएको ‘मेरा सबै रात अब, मातहरू भए’ गीतरुम्बाकै सृजना हो । सङ्गीतकार कर्म योञ्जनको धुनमा अरुणा लामाले गाएको ‘फूललाई सोधेँ, कहाँ गयौ कता गयौ भमरा’, सङ्गीतकार बद्री-दुर्गा खरेलको धुनमा रहेका ‘गाइने दाइलाई सुनकेशरीको केश सोध्नै भुलेँ’ र दावा ग्याल्मोले स्वर दिएको ‘शुभकामना खाली खाली दिनेलाई दानी भनेर जाँदैछु’ रुम्बाकै शब्द हुन् ।
सङ्गीतकार चन्दन लोमजेलकै धुनमा डेजी बराइलीले स्वर दिएका ‘कति बग्यो कति बग्यो, पुलमुनि पानी रेशम’ साथै नेपालको लोकरक व्याण्ड नेपथ्यले गाएको ‘कसैले सोधे कुन हो तिम्रो गाऊँ’ पनि रुम्बाकै सृजना हुन् ।
यस महिनाको पलेँटीमा भने उनले लेखेका तर रेकर्ड नभएका गीत प्रस्तुत हुनेछन् । यसपालीको पलेँटीबारे कार्यक्रम संयोजक आभास भन्छन्- ‘नोर्देनले आफ्नो जीवनको उत्तरकालमा रचेका रचना सङ्गीतकार चन्दन लोमजेलसँग थन्किएका छन् भन्ने जानकारी हामीलाई भयो । त्यसपछि हामीले चन्दनजीलाई अनुरोध गरेर ती रचनालाई नेपाली सङ्गीतप्रेमी माझ ल्याउने जमर्को गरेका हौं ।’
पहिलोपल्ट सन् २००६ मा पलेँटी कसेका चन्दन भन्छन्- ‘पलेँटीले पुराना सर्जकका रचनालाई संरक्षण गर्ने जुन उद्देश्य राखेको छ त्यसबाट प्रभावित भएर नै यसपाली पनि पलेँटीमा आएका छौं । गीतकार दाजु नोरदेन रुम्बाका रचना पलेँटीमा सरक्षण गर्ने उदेश्य सुन्ने बित्तिकै हौसिएको म यहाँ आएर वाद्यवादकहरूसँग अभ्यास गरिरहँदा झन् हौसिएको छु ।’
चन्दन झैँ सन् २००६ मै पहिलो पटक पलेँटीमा आएकी डेजी बराइली भन्छिन्- ‘पहिलोपाली पलेँटीमा आउँदा त यो कार्यक्रमका बारेमा अनविज्ञ थिएँ । त्यसपछि आइरहन मन लाग्थ्यो र बेलाबखत आइ पनि रह्यौ । कोविड महामरीपछि भने आउने चाहना र योजना हुँदा हुँदै पनि आउन पाइएन । अहिले यहाँ आइपुग्दा त सपनै जस्तो लागेको छ ।’ उनी थप्छिन्– ‘त्यतिबेला विमोचना सानै थिइन । अहिले हेर्नु त ! सँगसँगै गाउने गरी आएकी छिन् ।’
जिन्दगीको पहिलो स्टेजको सम्झना गर्दै विमोचना लोमजेल भन्छिन्- ‘त्यो बेला संजोगले मैले पलेँटीको स्टेजमा गाउने मौका पाएकी थिएँ । सायद त्यही दिनले गर्दा होला म पनि गायन क्षेत्रमै रमाइरहेकी छु । आज आफ्नो उही पहिलो स्टेजमा आइपुग्दा साह्रै खुसी लागेको छ । हामी परिवार नै एकसाथ यति लामो कन्सर्टमा उत्रन लागेको यो नै पहिलो मौका हो ।’ उनी थप्छिन् – ’बाबा आमासँग एउटै मञ्चमा उत्रन पाउनु एउटा खुशी, फेरि यस्ता गहकिला शब्द गाउन पाउनु अर्को खुसी ।’
पलेँटी कार्यक्रम फेब्रुअरी महिनाको अन्तिम शुक्रबार २८ तारिख र मार्च १ तारिखमा शनिवारका दिन आयोजना हुनेछ । कालिकास्थानस्थित नेपालयको आरशालामा हुने कार्यक्रमको टिकट पलेटीको वेबसाइटबाट प्राप्त गर्न सकिने भएको छ ।
प्रतिक्रिया 4