
११ फागुन, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले दूधकोशी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बिमल गुरुङलाई हटाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।
यसअघि नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले उनलाई पदबाट हटाउन निर्देशन दिइसकेको अवस्थामा उनलाई नहटाएको भन्दै मन्त्रालयले पत्र लेखी उनलाई हटाउन निर्देशन दिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली, ऊर्जामन्त्री दीपक खड्का र मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूका बारेमा सामाजिक फेसबुकमार्फत गैरजिम्मेवार सन्देश प्रवाह गरेकाले उनलाई सो जिम्मेवारीबाट हटाउन सञ्चालक समितिले नै घिसिङलाई निर्देशन दिएकोमा उनले त्यसको पालना नगरेको मन्त्रालयले उल्लेख गरेको छ ।
सीईओ गुरुङले केही समयअघि फेसबुकमा प्रधानमन्त्री ओली तथा ऊर्जामन्त्री खड्काको फोटो राख्दै उनीहरूलाई कालकोठरीमा पुर्याउनुपर्ने उल्लेख गरेका थिए ।
त्यस्तै, अर्को पोस्टमा मन्त्री खड्कालाई बिचौलिया र मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीलाई कुपात्र भन्दै गाली गलौज गरेका थिए ।
उनले शृंखलाबद्ध रूपमा गरेका पोस्ट त्यसको केही समयपछि डिलिट गर्दै माफी मागे पनि मन्त्रालयले उनीविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा समेत उजुरी गरेको थियो । नेपाल प्रहरीले पनि यसबारे अध्ययन गरिरहेको मन्त्रालय स्रोतले जनाएको छ ।
प्राधिकरणको सञ्चालक समितिमा यस विषयमा छलफल भई उनलाई सो जिम्मेवारीबाट हटाउन निर्देशन दिएको भए पनि हालसम्म नहटाएकाले तत्काल हटाउन ऊर्जा सचिवस्तरीय निर्णय भएको मन्त्रालयले जनाएको छ ।
उनलाई हटाई त्यस सम्बन्धी जानकारी मन्त्रालयमा गराउन पनि घिसिङलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।
६ सय ३५ मेगावाटको दूधकोशी जलाशययुक्त परियोजना एसियाली विकास बैंकको नेतृत्वको ऋण लगानीमा निर्माण हुँदै छ । यो परियोजना नेपाल विद्युत् प्राधिकरणको सब्सिडियरी कम्पनी दूधकोशी जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गर्दै छ । गुरुङ प्राधिकरणका वरिष्ठ कर्मचारीसमेत हुन् ।
हेर्नुहोस् मन्त्रालयको पत्र :
प्रतिक्रिया 4