
११ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोल प्रसाद (डिपी) अर्यालले आफू र आफ्नो दलका नेतामाथि लागेका आरोपहरूबारे छानबिन गराउन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् ।
आइतबार प्रतिनिधिसभामा विशेष समयमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।
‘माननीय सदस्य र सरकारको ध्यानाकर्षण गराउँदछु– पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलको नेताले आफ्नो नाम जोडिएका कुनै पनि काण्ड भए छानबिन गर्न रोष्ट्रमबाटै मार्गप्रशस्त गर्नुभएको कुरा हामीलाई अवगत नै छ,’ अर्यालले भने ।
प्रचण्डले जस्तै वर्तमान प्रधानमन्त्रीले पनि यस्तै मार्गप्रशस्त गर्नुपर्ने उनको आग्रह छ । ‘त्यसैगरी वर्तमान प्रधानमन्त्रीले आफ्नो र सत्तारुढ दलका नेताहरूमाथि लाग्दै आएका आरोपबारे छानबिनका लागि मार्गप्रशस्त गर्ने हिम्मत देखाउन म अनुरोध गर्दछु,’ उनले भने ।
राज्यको उच्च निकायमा पुगेका पूर्व र वर्तमान सबै नेता र पदाधिकारीहरूको सम्पति छानबिनका लागि उच्चस्तरीय शक्तिशाली छानबिन आयोग बनाउन पनि उनले माग गरे ।
‘भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्ने प्रधानमन्त्रीज्यूबाट उच्चस्तरीय शक्तिशाली छानबिन आयोग बनाउन म आग्रह पनि गर्दछु,’ उनले भने ।
प्रतिक्रिया 4