
११ फागुन, काठमाडौं । स्वास्थ्य सचिव डा. रोशन पोखरेल सोमबार (१२ फागुन)देखि सरकारी सेवाबाट अवकाश हुन लागेपछि नयाँ सचिव नियुक्तिका लागि तीन वरिष्ठ चिकित्सकबीच कडा प्रतिस्पर्धा सुरु भएको छ।
स्वास्थ्य सचिवमा बढुवा हुन वरिष्ठताको आधारमा हेर्दा १२औं तहका अतिरिक्त सचिवकै दाबी रहन्छ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. विकास देवकोटा, डा. टंक बाराकोटी, डा. दिपेन्द्ररमण सिंह र डा. संगीता कौशल मिश्र अतिरक्त सचिव छन् । तर सिंहको पनि सोमबार नै सेवा अवकाश हुने छ । नयाँ स्वास्थ्य सचिवका लागि तीन जना प्रमुख दाबेदार छन्।
सरकारी सेवा प्रवेशको आधारमा हेर्दा डा. देवकोटा सबैभन्दा वरिष्ठ हुन् । तर १२औं तहमा भने डा. संगिता, दुई अतिरिक्त सचिवभन्दा ८ महिनाअगाडि बढुवा भएकी हुन् ।
डा. देवकोटाले स्वास्थ्य मन्त्रालय विभिन्न महाशाखा प्रमुख र मन्त्रालयको प्रवक्ताको भूमिका निर्वाह समेत गरिसकेका छन् । यस्तै लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवको अनुभव पनि उनीसँग छ ।
कोरोना महामारीमा कोशी प्रादेशिक अस्पतालको नेतृत्व गरिसकेकी डा. मिश्रले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको निर्देशक र स्वास्थ्य विभागको महानिर्देशक समेत भइसकेकी छिन् ।
डा. बाराकोटी भने लामो समय उपत्यका बाहिर सेवारत रही हालै १२औँ तहमा बढुवा भएर स्वास्थ्य मन्त्रालय आइपुगेका हुन् ।
नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ अनुसार १२औँ तहका अतिरिक्त सचिव वा ११औँ तहमा ५ वर्ष काम गरेका कर्मचारीमध्येबाट ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनको आधारमा सचिव नियुक्त गरिने व्यवस्था छ ।
लोकसेवा आयोगको अध्यक्षको नेतृत्वमा गठित सिफारिस समितिले नाम सिफारिस गरेपछि सरकारले नियुक्ति गर्नेछ । स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार यस पटक भने योग्य उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
स्वास्थ्य सचिवको राजनीतिक समीकरण
स्वास्थ्य मन्त्रालयको सचिव पदमा नियुक्तिका लागि कानुनी र राजनीतिक दुवै पक्षले महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।
नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ ले सचिव पदका लागि १२औँ तहमा कार्यरत वा ११औँ तहमा पाँच वर्ष सेवा गरेको र उच्चस्तरीय व्यवस्थापन तालिम लिएको हुनुपर्ने व्यवस्था गरेको छ ।
नियुक्तिका लागि लोकसेवा आयोग अध्यक्षको नेतृत्वमा मुख्य सचिव, विषय विज्ञ, सामान्य प्रशासन मन्त्रालयका सचिव सदस्य रहने सिफारिस समिति गठन हुन्छ ।
१२औं तहमा कार्यरत र ११औं तहमा कम्तीमा पाँच वर्ष काम गरेको कर्मचारी जेष्ठता र कार्यसम्पादन मूल्यांकन आधारमा सचिव पदमा नियुक्त हुने व्यवस्था छ ।
वरिष्ठताको मूल्यांकन तीन आधारमा गरिन्छ – हालको पदमा नियुक्ति मिति, एक तह मुनिको पदमा नियुक्ति मिति र लोकसेवा आयोगको सिफारिस क्रम ।
कार्यसम्पादन मूल्याकंन गर्दा बढीमा १०० अंक दिइने ऐनमा व्यवस्था गरिएको छ । कार्यसम्पादन मूल्यांकन बापत ४०, जेष्ठता बापत २०, भौगोलिक क्षेत्रमा काम गरे बापत २५, शैक्षिक र तामिल बापत १५ अंक दिइनेछ ।
तीन अतिरिक्त सचिव अहिले राजनैतिक दौडधुपमा लागिरहेका छन् । मन्त्रालयका उच्च स्रोतका डा. देवकोटा नेपाली कांग्रेस निकट चिकित्सक हुन् । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले नै डा. देवकोटालाई स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी दिएका हुन् ।
मन्त्री पौडेलले देवकोटालाई स्वास्थ्य सचिव बनाउन सकारात्मक रहेको उच्च स्रोत बताउँछ ।
‘यसभन्दा अगाडि महानिर्देशकको जिम्मेवारीबाट डा. मिश्रलाई हटाएर मन्त्री पौडेलले डा. देवकोटलाई नियुक्ति गरेका हुन् । सम्बन्ध सुमधुर र पार्टीगत आस्थाले पनि मन्त्री पौडेलले देवकोटलाई काखी च्यापेका छन्,’ मन्त्रालयको उच्च स्रोत भन्छ ।
स्वास्थ्य मन्त्रालयमा चतुर खेलाडीको रूपमा डा. मिश्र चिनिन्छिन् । मन्त्रालयका उच्च स्रोतका अनुसार स्वास्थ्य सचिवका लागि डा. मिश्रको राम्रै दौडधुप चलिरहेको छ ।
राजनीतिक भेटघाटमा डा. मिश्रले यसपटक स्वास्थ्य मन्त्रालयको नेतृत्व महिलाले नै पाउनुपर्ने बताउँदै आएकी छन् ।
यस्तै डा. बाराकोटी भने गृह जिल्ला झापा हो । डा. बाराकोटी कम्युनिस्ट निकट चिकित्सक हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापा र कम्युनिस्ट निकट हुनुले डा. बाराकोटी पनि बलियो प्रतिस्पर्धामा उत्रिने देखिन्छ ।
अहिलेको राजनीतिक समीकरणको हिसाबले हेर्दा एमाले र कांग्रेसकै भागबन्डामा हुने देखिन्छ ।
‘एमालेको भागमा परेको खण्डमा डा. बराकोटीको सम्भावना बलियो देखिन्छ । कांग्रेसतिर भने दुई धारमा विभाजन हुने देखिन्छ,’ उच्च स्रोत भन्छ, ‘ स्वास्थ्यमन्त्रीले पौडेललाई अगाडि बढाएका छन् । डा. मिश्र भने कांग्रेसको उच्च नेतृत्वसँग दौडधुपमा छिन् ।’
स्वास्थ्य सचिवमा तीन जना उच्च प्रतिस्पर्धामा रहेकाले स्वास्थ्य सचिव केही समय खाली पनि रहनसक्ने अनुमान गरिएको छ ।
‘स्वास्थ्य मन्त्रालयमा दुई जना स्वास्थ्य सचिव हुने व्यवस्था छ । अहिले प्रशासन समूहका सचिव हरि मैनाली हुनुहुन्छ । कडा प्रतिस्पर्धा हुने भएकाले यो विषय पेचिलो बनेको छ । केही समय स्वास्थ्य (प्राविधिक) सचिव पद खाली हुनपनिसक्छ,’ मन्त्रालयका एक उच्च अधिकारी भन्छन् ।
प्रतिक्रिया 4