+
+
Shares

प्युठान दम्पती हत्या प्रकरण : आफ्नै भतिजबाट हत्या, समातिए आरोपी

हत्या आरोपमा पक्राउ परेका पंकज मृतक दम्पतीका दाइको छोरा रहेको डीएसपी बस्यालले बताए ।

नारायण अधिकारी नारायण अधिकारी
२०८१ फागुन ११ गते १७:३८

११ फागुन, काठमाडौं । प्युठानमा दम्पती हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माण्डवी गाउँपालिका–२ रातापानीका ३४ वर्षीय पंकज परियार छन् ।

उनै पंकजले रातापानीकै ६० वर्षीय रामबहादुर परियार र उनकी श्रीमती हुकुमा परियारको हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी दिपेश बस्यालले बताए ।

हत्या आरोपमा पक्राउ परेका पंकज मृतक दम्पतीका दाइको छोरा रहेको डीएसपी बस्यालले बताए । रातापानीमा परियार दम्पती मृत अवस्थामा फेला परेको भन्दै प्रहरीलाई खबर आएको थियो ।

छिमेकीले टेलिफोनमार्फत जानकारी गराएपछि स्थानीय प्रहरी चौकी तिरामबाट प्रहरी खटिएको थियो । पछि जिल्लाबाट डीएसपी बस्यालको टिम अनुसन्धानका लागि खटिएको थियो ।

अनुसन्धानको क्रममा टाउकामा प्रहार गरेर बीभत्स तरिकाले हत्या गरेको देखिएको थियो । अनुसन्धान गर्दै जाँदा प्रहरीले घरबाट करिब ५० मिटर टाढा रगत लतपतिएको घन समेत फेला पारेको थियो ।

अपरेशन माण्डवी नाम दिएर अनुसन्धान गरेको प्रहरीले अन्तत: २४ घण्टा नबित्दै हत्या आरोपमा पंकजलाई पक्राउ गरेको छ ।

मृतक परियार दम्पतीका चार छोराहरू रहेकोमा सबै जना वैदेशिक रोजगारीमा भारतमा रहेका छन् । तीन छोरीहरू पनि विवाह गरेर दाङमा बस्दै आएका छन् । घरमा परियार दम्पती मात्रै बस्दै आएका थिए ।

विवाह गर्न नसकेको भनेपछि हत्या

प्रहरीका अनुसार पंकजले आफ्नै काकाको हत्या गर्नुमा विवाह सम्बन्धी विषय जोडिएको डीएसपी बस्यालले अनलाइनखबरलाई बताए । पक्राउ प्रतिवादीको भनाइ उद्धृत गर्दै डीएसपी बस्यालले भने, ‘करिब एक हप्ता अघि मात्रै पंकजलाई परियार दम्पतीले अहिलेसम्म पनि विवाह गर्न नसकेको ‘थारो’ भनेका रहेछन् । त्यसैको इगोमा हत्या गरेको देखिन्छ ।’

त्यसैगरी यसअघि पनि उनीहरूबीच विभिन्न विषयहरूमा विवाद भइरहने गरेको पनि पाइएको छ । काकाको घरमा पंकज गइरहने तर उक्त कुरा काकालाई मन नपरेपछि गाली गर्ने र उनीहरूबीच विवाद हुने गरेको बस्यालले बताए ।

हत्या आरोपमा पक्राउ परेका पंकजले अत्यधिक रक्सी सेवन गर्ने गरेको पनि खुलेको छ । रक्सी सेवन गरेर ९ गते राति साढे १० बजेतिर काकाको घरमा पुगेका थिए । दोस्रो तलाको झ्यालबाट प्रवेश गरी भर्‍याङबाट भुईंतलामा झरेको उनले बताएका छन् ।

त्यसपछि परियार दम्पती सुत्ने कोठामा गएर ढोकाको छेउमा राखेको घनले दुवै जनाको टाउकामा ३/३ पटक हानेर हत्या गरेको उनले प्रहरी समक्ष बताएका छन् ।

प्रहरीले पंकजको घरबाट हत्या गर्दा लगाएको रगत लतपतिएको कपडा समेत बरामद गरेको छ । हत्यापछि हुकमाको पोटुकामा रहेको २२० रुपैयाँ पनि उनले लगेका थिए ।

उक्त रकममध्ये २०० रुपैयाँ खर्च गरिसकेको अवस्थामा प्रहरीले २० रुपैयाँ पंकजबाट बरामद गरेको छ ।

लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?