+
+
Shares

दुई सचिव बिदा गर्दै स्वास्थ्यमन्त्रीले भने : म रहुन्जेल तपाईंहरू सल्लाहकार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल र अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहको बिदाइ गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ११ गते १८:५८

११ फागुन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल र अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहको बिदाइ गरिएको छ ।

मन्त्रालयले आइतबार एक कार्यक्रमकाबीच विशिष्ठ श्रेणीको पाँच वर्षे कार्यकाल पूरा गरेका डा. पोखरेल र डा. सिंहलाई बिदाइ गरेको हो ।

४ साउन २०७८ मा भने डा. पोखरेल स्वास्थ्य सचिवमा नियुक्त भएका थिए ।

कार्यक्रममा स्वास्थ्यमन्त्री प्रदीप पौडेल तथा सचिव हरिप्रसाद मैनालीले आगामी दिनको शुभकामना दिए ।

सचिवद्वयको बिदाई कार्यक्रममा सम्वोधन गर्दै स्वास्थ्य मन्त्री पौडेलले मन्त्रालयको यो जिम्मेवारी औपचारिक रुपमा बिदा भएपनि निरन्तर सहयोगको आशा गरेको बताए ।

‘परिवारका दुई जना सदस्यहरू बिदा हुनुहुँदैछ । अनुभव, दक्षता र क्षमताका आधारमा स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउनुभएको छ । औपचारिक पदबाट बिदा हुनुभएको छ,’ मन्त्री पौडेलले भने, ‘ तर मन्त्री भइन्जेल सल्लाहकारको रूपमा हुनुहुनेछ । अनुभव र दक्षता आवश्यक परिरहन्छ ।’

सेवाबाट बिदाइ हुँदै गर्दा डा. सिंहले स्वास्थ्यमन्त्री पौडेललाई एक प्रतिवेदन बुझाएका थिए ।

‘प्रतिवेदन बुझाउदा पाँच बज्न एक मिनेट मात्र बाँकी थियो । स्वास्थ्य सेवा सुधारलाई रातदिन खटिने कर्मचारी हनुहुन्छ,’ मन्त्री पौडेलले भने, ‘मन्त्रालयमा दुई होनोहार व्यक्तिलाई बिदा गर्दैछौं । सायद उहाँहरूजस्ता व्यक्ति मन्त्रालयले अब नपाउनसक्छ ।’

डा. पोखरेलले साढे तीन वर्षको अवधि छिट्टै बितेको भन्दै यसबीचमा ८ जना मन्त्रीसँग काम गर्दाको अनुभव सुनाए । मन्त्री पौडेलसँग केही समय थप काम गर्ने रहर भएपनि समयका कारण नपाएको उनको भनाइ थियो ।

‘म सरकारी सेवामा प्रवेश गरेपछि हुम्ला जाने अवसर प्राप्त गरको थिएँ । त्यसबेला त्यहाँ कुनै डाक्टर थिएनन्,’ ती दिनको स्मरण गर्दै डा. पोखरेलले भने, ‘आज ६ जना चिकित्सक हुम्लामा कार्यरत छन् । केही न केही स्वास्थ्य सेवामा सुधार भने भएको छ ।’

दुर्गम हुम्लादेखि सचिवको जिम्मेवारीसम्म पुग्दा सकेसम्म राम्रो गर्ने कोशिस गरेको उनले सुनाए ।

अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहले आफू हेल्थ असिस्टेन्ट पढाइ सकिनुअघि नै साढे १७ वर्षको उमेरदेखि स्वास्थ्य सेवामा रहेको स्मरण गरे ।

‘मैले स्वास्थ्य सेवामा ३७ वर्ष बिताएँ । हामीले स्वास्थ्य सेवामा आउँदा २०/२५ वटा जिल्ला अस्पतालमा मात्रै आकस्मिक सर्जरी हुन्थ्यो । अहिले प्रायः जसोमा हुन्छ । तर स्वास्थ्य उपचार मात्रै होइन, स्वास्थ्य शिक्षाको आवश्यकता छ ।’

हेल्थ लिट्रेसीलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउँदै विद्यालय स्तरमै स्वास्थ्य शिक्षा दिनु पर्नेमा उनले जोड दिए ।

डा. पोखरेल र डा. श्रेष्ठ १२ फागुन २०७६ मा विशिष्ठ श्रेणीको प्रमुख विशेषज्ञ पदमा बढुवा भएका थिए । डा. पोखरेल ४ साउन २०७८ मा सचिवमा नियुक्त भएका थिए ।

दुवै सचिवको बिदाइ भएसँगै सचिव र अतिरिक्त सचिवको पद रिक्त भएको छ ।

स्वास्थ्य सचिवका अतिरिक्त स्वास्थ्य डा. विकास देवकोटा, डा. संगीता कौशल मिश्र, डा टंक बाराकोटीबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?