
हामी जग्गा भाडामा लिएर यहाँ बसोबास गरिरहेका छौँ । म धेरैजसो काममा जान्छु । श्रीमान विदेशमा हुनुहुन्छ । केही दिनअघि म घरमा थिइन। यहाँका मान्छेहरूले कुकुरलाई लखेट्दै–लखेट्दै मेरो घरको दैलोमा ल्याएर जालीले थुनेछन् अनि कुटीकुटी मारेछन् ।
त्यो कुकुर यहीँ जन्मिएको, हुर्किएको हो। पानी पर्दा हाम्रै घरको पिँढीमा आएर ओत लाग्थ्यो । राति पनि त्यहीँ सुत्थ्यो । मेरा साना नानीहरू छन्, उनीहरूले चलाउँदा र खेलाउँदा पनि केही गर्दैनथ्यो । सुभानी थियो।
केही दिनअघि त्यो कुकुरलाई मोटरसाइकलले कुल्चिएछ । उसको पुच्छर नै चुढाइदियो । पुच्छरको घाउ लिएर हाम्रो पिँढीमा आउथ्यो । त्यहाँ उसको रगत लत्पतिएको थियो । औषधि लगाइदिन पाए निको हुन्थ्यो जस्तो लाग्थ्यो ।
पुच्छरमा घाउ भएदेखि राम्ररी बस्न सक्दैनथ्यो । छटपटाउँदै घरी यता घरी उता गरिरहन्थ्यो । घाउ भएपछि उसले मान्छेलाई पनि नजिक आउन दिँदैनथ्यो, सायद घाउ दुखेको पीडाले होला । तर, त्यो कुकुरले कहिले पनि मान्छेलाई टोकेको थाहा छैन ।
कुकुर घाउको कारण अलि आक्रमक भएको हुनसक्छ । त्यसैलाई मान्छेहरूले बहुलाएको भने । उनीहरू भेला भएर कुकुर खोज्दै हिँडेछन् । घाइते कुकुर, त्यसमाथि कति भोको थियो होला । मान्छेहरूले दिनभरि लखेटेछन् । बिचरा कुकुर भाग्दै हाम्रो घरमा आएछ ।
हामीले खाना दिने भएकाले बचाउँछ भन्ने लागेको थियो होला । घरमा छोरी मात्र थिइन् । मान्छेहरूले कुकुरलाई जालीले छोपेर तमासा गर्दै हिर्काउन थालेपछि छोरी रुन थालिन् । त्यो भन्दा अरु उनी के नै पो गर्न सक्थिन् र ?
कुकुरलाई मारेर मेरै घर अगाडि फ्यालेर गएछन् । मैले किन यसरी मारेको ? किन मेरो घरको अगाडि फ्यालेको भन्दा उनीहरूले केही जवाफ दिएनन् । मेरो घरमा छोरा मान्छे छैन । त्यही भएर पनि हेपेको होला ।
कुकुरको घाउ थियो । दुख्थ्यो होला । छटपटी हुन्थ्यो होला । त्यसैले मान्छेसँग डराएर उ झम्टन खोज्थ्यो होला । उसले आफूलाई के समस्या भएको छ भनेर त भन्न सक्दैन नि । उसले भन्न नसके पनि मान्छेहरूले उसलाई बुझ्नुपर्ने होइन र ?
त्यो कुकुरको अवस्था हेरेर उसलाई स्यहानुपर्ने, उपचार गरिदिनुपर्ने हो । भोकाएको थियो होला, तिर्खाएको थियो होला । दुखाइले गर्दा सुत्न र बस्न सकेको थिएन होला । त्यस्तो अवस्थामा उसको पीडा बुझेर उपचार गर्नुपर्थ्यो ।
तर, मान्छेहरूले जालीले छोपेर उसलाई एकदमै दुःख दिएर मारेछन् । कुकुरबाट असुरक्षित नै भएको भए सम्बन्धित ठाउँमा खबर गर्नुपर्थ्यो होला । नियन्त्रणमा लिएर राख्न सकिन्थ्यो होला । उसको बोल्ने कोही छैन भनेर त्यति डरलाग्दो गरी मार्नु हुँदैनथ्यो ।
कुकुर त मारेको हो नि, भनेर मान्छेहरू यसलाई सामान्य रूपमा लिन्छन् । कुकुरको जिन्दगी होइन ? उसलाई दुख्दैन ? उसले बाँच्न पाउँदैन ?
मान्छेहरू त भन्छन्, कुकुर त हो के मार्दा के हुन्छ ? कुकुरलाई जे गरेपनि हुन्छ भनेर बुझ्छन् । यसरी मान्छेलाई मारेको भए के हुन्थ्यो ? हत्या त हत्या नै हो नि, मान्छेलाई होस् वा कुकुरलाई । कुकुरका लागि बोलिदिने आफन्त नहोला, उसका लागि लड्ने कानुन नहोला ।
कानुन नै छैन, आफन्त नै छैन भनेर यति धेरै यातना दिनु त हुँदैन नि । यति धेरै हेप्नु त हुँदैन नि । एउटा पशुलाई त्यत्रो तमासा गरेर कुट्दै, कुट्दै मार्नु सामन्य हो ?
(सुमित्रा लुइटेलसँगको कुराकानीमा आधारित)
प्रतिक्रिया 4