+
+
Shares
प्रदेशसभामा सवालजवाफ :

कोशीको संसदीय अभिलेखबाट हटाइयो ‘राजा’ शब्द

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद सविना बजगाईंले पूर्वराजाको अभिव्यक्तिलाई बचाउ गरिन् । तर, नेकपा माओवादी केन्द्रका गोम्बु शेर्पाले आपत्ति जनाए ।

हरि अधिकारी हरि अधिकारी
२०८१ फागुन ११ गते २०:३७
एमाले प्रमुख सचेतक बिदुरकुमार लिङ्थेप, राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सविना बजगाईं र नेकपा माओवादी केन्द्रका गोम्बु शेर्पा

११ फागुन, विराटनगर । कोशी प्रदेशसभा सचिवालयको अभिलेखमा ‘राजा’ भन्ने शब्द नरहने भएको छ ।

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिलाई लिएर आइतबार प्रदेशसभामा सांसदहरूबीच सवालजवाफ भएको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद सविना बजगाईंले पूर्वराजाको अभिव्यक्तिलाई लिएर ‘केही नेताहरूले राजालाई थुन्ने’ अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएकी थिइन् ।

‘जनतालाई शुभकामना दिएको विषयलाई लिएर गणतन्त्रका मसिया ठान्ने केही नेताहरूले राजालाई थुन्ने अभिव्यक्ति सञ्चार माध्यममा आएको देखिएको छ, यसको म घोर निन्दा र भर्त्सना गर्छु,’ उनले भनिन् ।

तर, नेकपा माओवादी केन्द्रका गोम्बु शेर्पाले आपत्ति जनाए । सो क्रममा माओवादी सांसद शेर्पाले संविधानले ‘राजा’ शब्द नचिन्ने भन्दै अभिलेख (रेकर्ड) बाट हटाउन माग गरे ।

‘नेपालको संविधानले र प्रदेशसभा नियमावलीले राजा चिन्दैन,’ उनले भने, ‘अहिलेको संविधानमा नेपालमा कोही राजा छैन, त्यसकारण यो राजा भन्ने शब्द तुरुन्त रेकर्डबाट हटाइयोस् ।’

केहीसमय सवालजवाफपछि सभामुख अम्बरबहादुर विष्टले ‘राजा’ भन्ने शब्द हटाउन सचिवालयलाई निर्देशन दिए । ‘एउटा राजा शब्दलाई हटाइयोस् भन्ने छ, त्यसलाई रेकर्डबाट हटाइयोस् मैले रुलिङ गरेँ,’ सभामुख विष्टले भने ।

साथै, कोशी प्रदेशसभा सचिवालयबाट ‘डलर खाएको’ शब्द पनि अभिलेखबाट हटाइएको छ । राप्रपा सांसद बजगाईंले नै राजाकै विषयमा बोल्दा ‘यो सबै अभिव्यक्ति विदेशबाट आउने डलरको भरमा आएका हुन्,’ भनेकी थिइन् ।

बजगाईंको उक्त अभिव्यक्तिमा एमाले प्रमुख सचेतक बिदुरकुमार लिङ्थेपले नियमापत्ति जनाए ।

‘माननीयज्यूले डलर खानेहरू भनेर सदनमा अप्रमाणित कुरा सम्मानित सदनमा उठाउनु भएको छ,’ उनले भने, ‘उहाँसँग प्रमाण भए पेस गर्न अनुरोध गर्छु, यदी नभइ फिर्ता गराउन सभामुखज्यूलाई अनुरोध गर्छु ।’

त्यसपछि सभामुख विष्टले थप विषय भए पुष्टि गर्न बजगाईंलाई समय दिए । त्यसपछि बजगाईंले प्रमाण दिन सकिनन् तर संघीयता धर्मनिरपेक्षता र गणतन्त्र लाद्नका लागि विदेशबाट विभिन्न माध्यमबाट डलर भित्रिएको कुरा अमेरिकाका राष्ट्रपतिबाट सार्वजनिक भएको दाबी गरिन् ।

उनले सोही विषयलाई टेकेर ‘डलरवादी’ भएको दाबी गरिन् र भनिन्, ‘धर्मनिरपेक्षता र गणतन्त्र लाद्नका लागि विदेशबाट परिचालित छ, यो गणतन्त्र यहीँ सदनबाट खारेज गर्न माग गर्न चाहन्छु ।’

लगत्तै लिङथेपले सभामुखलाई सोधे, ‘यही व्यवस्थामा बसेर यहीँ सदनभित्र खारेज हुनुपर्छ भनेर माग पाइने कि नपाइने ?’

उनले खारेजको विषयलाई आपत्ति जनाउँदै संविधानविरोधी विषय भएको जिकिर गरे । ‘संविधानमा भएको व्यवस्थाभित्र बसेर यो नै खारेज गर्नुपर्छ भन्नु घोर आपत्तिजनक छ,’ उनले भने ।

‘डलर खाने’ भन्ने शब्द पनि संसद्को अभिलेखबाट हटाउनुपर्ने उनको माग थियो

उनको मागपछि सभामुख विष्टले सचिवालयलाई निर्देश गरे, ‘डलर खाने भन्ने कुरा छ, यसको स्पष्ट प्रमाण नभएको हुनाले यो पनि रेकर्डबाट हटाइनेछ ।’

त्यसपछि संसदमा बोलेका राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटोलाले जनताले राजालाई चिनेको दाबी गरे ।

‘राजा ज्ञानेन्द्रदेखि पछाडि अरु राजा नभएकाले पूर्वराजा नभनौं होला,’ उनले भने, ‘राजा भन्ने शब्दलाई संविधानले चिन्दैन भन्ने अभिव्यक्ति आयो, नेपाली जनताको मनमनमा राजा भएपछि त्यसलाई संविधानले चिनेकै भन्नुपर्छ ।’

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?